नेपालमा दैनिक ७ जनाले दुर्घटनामा ज्यान गुमाउँछन्, सुरक्षामा ध्यान दिनूस् : कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् । 

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सडक सुरक्षा र सवारी अनुशासनलाई प्राथमिकता दिन सबै सरोकारवालालाई आग्रह गरे ।

दुर्घटनाको डरलाग्दो चित्र महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘एक वर्षमा नेपालभर २९ हजार ९८८ सवारी दुर्घटना भए, जुन अघिल्लो वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो ।’

उनका अनुसार नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुन्छन्, जसमा दैनिक ७ जनाले ज्यान गुमाउँछन् र १३० जना घाइते हुन्छन् ।

गत आर्थिक वर्षमा मात्रै २ हजार ७०७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको र ४७ हजार ५५३ जना घाइते भएको विवरण उनले सार्वजनिक गरे ।

मोटरसाइकल सबैभन्दा बढी जोखिममा कुल दुर्घटनामा मोटरसाइकलको हिस्सा ५९ प्रतिशत र कार र जीपको हिस्सा १४ प्रतिशत रहेको जानकारी दिँदै उनले भने, ‘यी दुई क्षेत्र मात्रै ८० प्रतिशत दुर्घटनाका लागि जिम्मेवार छन् । त्यसैले मोटरसाइकल लगायतका सवारी साधनमा उच्च सुरक्षा मापदण्ड र सेफ्टी फिचर्स हुनु अनिवार्य छ ।’

उनले सवारी साधन आयात गर्दा एन्टी–लक ब्रेकिङ सिस्टम एयरब्याग र क्र्यास सेफ्टी फिचर्स जस्ता अत्याधुनिक प्रविधिमा सम्झौता नगर्न व्यवसायीहरूलाई सचेत गराएको समेत स्मरण गराए ।

सडक सुरक्षाका लागि इन्जिनियरिङ, शिक्षा, वातावरण  र कार्यान्वयनको तालमेल हुनुपर्ने उनको धारणा थियो । 

‘सवारी साधन र सडक दुवैको इन्जिनियरिङ चुस्त हुनुपर्छ । चालकको लापरवाही मात्र भनेर पुग्दैन, सडकको अवस्था र सवारीको गुणस्तरले पनि उत्तिकै भूमिका खेल्छ,’ कार्कीले भने ।

विद्युतीय सवारी र सेवाको गुणस्तर पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकोमा खुसी व्यक्त गर्दै महानिरीक्षक कार्कीले वातावरण संरक्षणमा यसले ठूलो टेवा पुर्याउने बताए । 

साथै उनले आफ्टर सेल्स सर्भिस र स्पेयर पाट्र्सको उपलब्धतामा ग्राहकको गुनासो नआउने गरी काम गर्न व्यवसायीहरूलाई सुझावसमेत दिए ।

महानिरीक्षक कार्कीले सुरक्षित सवारीसाधनको प्रवर्द्धन नै दुर्घटना न्यूनीकरणको सबैभन्दा प्रभावकारी लगानी भएको बताउँदै नेपाल प्रहरी सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सधैं तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।

Share News