गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा, मूल्य ५७ लाख रुपैयाँ
काठमाडौं । अक्र्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको छ । चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माण कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीका विद्युतीय भ्यानको १४ वटा सिट क्षमता रहेका छन् । जसको बिक्री मूल्य ५७ लाख रुपैयाँ तोकिएका कम्पनीले जनाएको छ । गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक गरिएका छन् । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्न सक्ने यस भ्यानमा ८० किलोवाट पिक पावरको मोटर समेत जडान गरिएको कम्पनीको भनाइ छ । हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित यी भ्यानहरु उपलब्ध गराउने भएको हो । यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपको दाबी छ । यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ । साथै विद्युतबाट सञ्चालन हुने भएकाले यी भ्यानहरू पर्यावरणमैत्री र सञ्चालन खर्चमा पनि कमी आउने कम्पनीको दाबी छ ।
दिगोले नेपाली बजारमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने, बुकिङ खुला
काठमाडौं । विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ । यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ । विश्वकै सबैभन्दा ठुलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ । दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरू भन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुने गरी यी गाडीहरू भित्राउन लागेको जनाएको छ । बजारको माग हेर्दै दसैँलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।
२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने
काठमाडौं । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ । यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागी ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । इलेक्ट्रिक कारको वर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो । सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसंग जोडिएको छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारको टप स्पिड १४० किलोमिटर छ । यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै, सी३ को ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, एविएस, ईबीडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ । यूरो एनक्यापमा यसले सुरक्षाका लागी फोर स्टार रेटिङ पाएको छ ।