बससेवाको शतप्रतिशत क्यासब्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निशुल्क
काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासब्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ । मंसिर ९ गते सुरु भएको अफर अन्तर्गत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालकाअनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् । ‘मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने । सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाई छ । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासव्याकको सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ । बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासव्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौंका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।
सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसनले संयुक्त रुपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलबार आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायात अधिकारीहरुको उपस्थिति थियो । म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृज को उद्घाटन गरियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।
सञ्चालन नहुँदै जीर्ण भयो बसपार्क, शौचालयमा परिणत
पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क ६ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका-६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख ३ हजार २५० रुपैयाँ मात्र खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल भवनका झ्यालढोका र सिसा फुटिसकेका छन् । साथै यो स्थान शौचालयमा परिणत भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले कुश्मा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरिसकेको भए पनि त्यसलाई सञ्चालन गर्ने नीतिको अभावमा यो उपयोगविहीन भएको हो । कुश्मा नगरपालिका-६ का अध्यक्ष शिव गिरीले शीघ्र नीति तर्जुमा गरी बसपार्क सञ्चालन गर्न माग गरेको बताए । १२ रोपनीमा फैलिएको बसपार्कमा यात्रीकक्ष र पसल कबल, टिकट बिक्रीकक्ष, चमेनागृह, हलुका तथा भारी सवारीसाधन राख्ने संरचना छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले कुश्मा बजारबाट हरेक दिन काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायत गन्तव्यका निम्ति सार्वजनिक यातायातका सवारीसाधन प्रस्थान गर्ने गरेका तथा तिनले सडकमै पार्किङ गर्दा सवारी व्यवस्थापनमा समस्या भएको बताए । यसैबीच, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठकबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर यथाशीघ्र सञ्चालन गरिने बताए ।