ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव
काठमाडौं । युरोपका धेरै अटो कम्पनीहरू अमेरिकी शुल्कको खतराबाट दबाबमा छन् । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो कार्यकालको सुरुवातमै चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने वाचा गरे, जसले अटो उद्योगका आपूर्ति श्रृंखलामा खलल पुर्याउने र लगानीकर्ताहरूलाई उच्च लागतबारे चिन्ता जगाउने सम्भावना छ । ट्रम्पले प्रस्ताव गरेका उपायहरूमा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत थप शुल्क र क्यानडा तथा मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क समावेश छ । ट्रम्पले ट्यारिफ लगाउने कुरा गरेसँगै अटो सेयरहरू घटे । यसले अमेरिका र युरोपका निर्माताहरूका लागि गम्भीर परिणामहरू निम्त्याउन सक्छ । तीमध्ये धेरैले मेक्सिकोमा कारखाना बनाएका छन् र अटो पार्ट्स आपूर्तिकर्ताहरूमा निर्भर छन् । ट्रम्पको पहिलो शुल्क घोषणामा युरोपको उल्लेख नभएको कुरा युरोपेली संघका नीति निर्माताहरूका लागि सुखद समाचार मानिनेछ । तर २७ राष्ट्रको यो समूहले ट्रम्पले चाँडै नै युरोपको अटो क्षेत्रमा ध्यान दिने सम्भावनाबारे चिन्ता गरेको छ । यता फरारी भने अधिकांश असरबाट सुरक्षित रहने अपेक्षा गरिएको छ । ‘चाहे शुल्क जुनसुकै होस्, उनीहरूले फरारी अमेरिकामा उत्पादन सुरु गर्ने छैनन् । सबै कुरा इटालीको मारानेल्लोमै हुन्छ,’ मर्निङस्टारकी इक्विटी विश्लेषक रेल्ला सस्किनले सीएनबीसीलाई बताइन् । ‘फरारीको कुरा गर्दा चाहे १० प्रतिशत, २० प्रतिशत वा ३० प्रतिशत शुल्क भए पनि उनीहरूले सजिलै उपभोक्ताहरूमा मूल्य हस्तान्तरण गर्न सक्छन् । किनभने गाडीको मूल्य पहिलै नै महँगो भए पनि उनीहरूका लक्षित ग्राहकहरू छन्,’ उनले थपिन् । मर्निङस्टारकी सस्किनका अनुसार युरोपबाट आउने सबै सामानमाथि ३० प्रतिशत जति उच्च अमेरिकी शुल्कले पनि सम्भावित ग्राहकहरूलाई फरारी किन्नबाट रोक्न सक्दैन । ‘यो हास्यास्पद छ, तर यस्तै हो,’ उनले भनिन् । आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल अटो विश्लेषक टम नारायणले यस विचारलाई दोहोर्याउँदै फरारीले मूल्य वृद्धिलाई सजिलै ग्राहकमाझ हस्तान्तरण गर्न सक्ने देखिने बताए । ‘यो समयले मात्र बताउने कुरा हो, तर यो सहीजस्तो देखिन्छ,’ केप्लर चुभ्रेक्सका थमस बेसनले बताए । फरारी यस वर्ष युरोपमा आफ्ना प्रतिस्पर्धी कार निर्माताहरूलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मिलान-सूचीबद्ध कम्पनीको सेयर मूल्य यस वर्ष ३४ प्रतिशतभन्दा बढीले बढेको छ, जुन फ्रान्सको रेनल्ट वा जर्मनीको मर्सिडिज-बेन्ज ग्रुपजस्तै अन्य कम्पनीहरूसँगको तुलनामा निकै बढी हो । ‘हामी फरारीले अमेरिकामा उत्पादन सुरु गर्ने अपेक्षा गर्दैनौं,’ ओड्डो बीएचएफका अटो विश्लेषक एन्थोनी डिकले बताए । पोर्शे केही फरक जर्मनीको पोर्शेका लागि भने थप अमेरिकी शुल्क ‘धेरै ठूलो चुनौती’ हुने सम्भावना रहेको बेसन बताउँछन् । फरारीजस्तै, पोर्शे पनि केवल इटालीमा उत्पादन हुन्छ, फक्सवागन स्वामित्वमा रहेको पोर्शेले परम्परागत रूपमा जर्मनीमा आफ्नो लक्जरी मोडलहरू उत्पादन गर्दै आइरहेकाे छ । ‘पोर्शे केही फरक छ,’ मर्निङस्टारकी सस्किनले भनिन् । ‘उनीहरूले १० प्रतिशत शुल्क हस्तान्तरण गर्न सक्नेछन् । तर ३० प्रतिशतजस्तो ठूलो शुल्क ग्राहकमा हस्तान्तरण गर्न केही कठिन हुन सक्छ,’ उनले भनिन् । पोर्शेको सेयर मूल्य यस वर्ष झण्डै २६ प्रतिशतले घटेको छ ।
नामी ईभीको मूल्य १ लाख रुपैयाँसम्म बढ्यो
काठमाडौं । नेपाली बजारमा नामी ब्रान्डका विद्युतीय गाडी (ईभी) को मूल्य एक लाख रुपैयाँसम्म वृद्धि भएको छ । नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी ईभीको मूल्य २५ हजारेदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको हो । एमएडब्लू वृद्धिले नामी ई१ को मूल्य २५ हजार रुपैयाँ बढाएर ३० लाख २४ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी नामी नामी ई२ को मूल्य ५० हजार रुपैयाँ बढाएर ३२ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ भने नामी ई३ को मूल्य १ लाख रुपैयाँ वृद्धि गरेर ३५ हजार ९९ हजार रुपैयाँ तोकेको छ । डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ५० हजार रुपैयाँ अतिरिक्त शुल्क लागु हुने एमएडब्लू वृद्धिले जनाएको छ ।
बजारमा आयो रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य कति ?
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने अल्फा अटोमोटिभले जनाएकाे छ । ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने जनाइएकाे छ । यसको फराकिलो सिट प्रोफाइल र नरम फम कुशन प्याडिङले लामो यात्रामा आराम दिने कम्पनीको दावी छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी, नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकको अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग ट्वीन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिङ्गल पिस्टन फ्लोटिङ क्यलिपरले ब्रेकिङ पद्धतिलाई झन् सशक्त बनाउनेछ। यसको मूल्य ५ लाख ५५ हजार ६०० रहेको छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा बिक्री खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।