साढे १० करोडको लगानीमा सञ्चालनमा आयो २० वटा विद्युतीय माइक्रोबस

काठमाडौं । सामाखुसी यातायात प्राइभेट लिमिटेडले १० करोड ३० लाख रुपैयाँ लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० वटा माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने । सामाखुसी यातायातले हाल ८० वटा माइक्रोबस तथा ५० वटा ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले बताए । प्रालिले हाल ३५० जना चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

मुस्ताङको ९ हजार फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन

काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका- ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरे । उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छ । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधन आयात गरी बिक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ । एसआरएमका भ्यानहरू स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले जोलङको ईए फोर,  ईए फाइभ र ईए सिक्स नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए फाइभ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए सिक्स २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर कुद्छ ।  

जीएसई ईभी नेपालमा सार्वजनिक, मूल्य ५४ लाख

  काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई सार्वजनिक गरेको हो । शौर्यले प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ईभी सार्वजनिक गरेको हो । जेएमईभी जीएसईको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ । यो गाडी एकपटक चार्ज गरेपछि ४२० किमीसम्म गुड्न सक्छ । यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ । गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् अद्वितीय बनाउने विश्वास कम्पनीको छ । यसमा ३६०° एभीएम भिजुअल सिस्टम रहेको छ । जेएमईभी जीएसई अहिले ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् । सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (आईएमईभी) द्वारा निर्मित जीएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो । सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनल्ट समूहले आईएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको शौर्य अटोमोबाइल्सले जनाएको छ ।