एथर स्कूटरको टेस्ट राइड जोन सुरु, २० हजार रुपैयाँसम्म क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर
काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो । वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उद्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । सुरुका ५० ग्राहकलाई मात्र यो अफर प्राप्त हुनेछ । एथर ४५० सिरिजका स्कूटरहरूको टेस्ट राइड गर्न पाउने वैद्य इनर्जी प्रालिले जनाएकाे छ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।
होन्डा र सुजुकीले टेस्लाको सीओटू उत्सर्जन पूलमा सहभागी हुने
काठमाडौं । होन्डा र सुजुकीले २०२५ मा अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लासँग सीओटू उत्सर्जन पूल (कार्बन उत्सर्जन सञ्चय) साझा गर्ने भएका छन् । यसले उनीहरूको कुल उत्सर्जनलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । यसले युरोपेली संघका नियमहरूको पालना गर्ने सजिलो बनाउँछ । यसमा स्टेलान्टिस, टोयोटा, फोर्ड, माज्दा र सुबारु पनि सामेल छन् । यदि युरोपेली संघका २०२५ का मध्यकालीन कार्बन कटौती लक्ष्यहरू वा तथाकथित सीएएफई मापदण्डहरू पूरा नगरेमा अटोमोटिभ निर्माताहरूलाई मिलियन युरोको जरिवाना तिर्नु पर्न सक्छ । कुनै एक कम्पनीले व्यक्तिगत रूपमा आफ्ना उत्सर्जन कटौती लक्ष्यलाई पुरा गर्न नसकेको खण्डमा पूलमा सामेल अन्य कम्पनीहरूको उत्सर्जनसँग मिलाएर कुल उत्सर्जन लक्ष पुरा गर्न सकिन्छ । पूलमा सामेल भएका कम्पनीहरूले आफ्नो उत्सर्जनका डेटा साझा गर्छन् । यसले तिनीहरूलाई कूल उत्सर्जन स्तरमा सन्तुलन बनाउन अनुमति दिन्छ । युरोपेली संघले कार्बन उत्सर्जनको स्तर घटाउनका लागि कडा मापदण्डहरू बनाएको छ । यदि कम्पनीहरूले आफ्नो उत्सर्जन स्तर घटाउन सक्दैनन् भने तिनीहरूले यो पूल प्रयोग गरेर नियमको पालना गर्न सक्छन् । यदि कुनै कम्पनीले निर्धारित उत्सर्जन कटौती लक्ष्य पूरा गर्न सकेन भने यो पूल प्रणाली प्रयोग गरेर यसले आफ्नो उत्सर्जन कटौती लक्ष्य पूरा गर्ने प्रयास गर्न सक्छ, अन्यथा ठूलो रकमको दण्ड लाग्न सक्छ ।
बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा
काठमाडौं । बीवाईडीले सोमबार विद्युतीय सवारीसाधन (ईभी) हरूका लागि नयाँ प्लेटफर्म अनावरण गरेको छ । यसले ईभीलाई पेट्रोल/डिजेल भर्न लाग्नेजत्तिकै छिटो चार्ज गर्न सकिने बताइएको छ । साथै कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क निर्माण गर्ने घोषणा पनि गर्यो । कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, ‘सुपर ई–प्लेटफर्म’ भनिने नयाँ प्रणालीमा एक हजार किलोवाटको अधिकतम चार्जिङ गति हुनेछ । यस प्रणाली प्रयोग गर्ने कारहरूले मात्र ५ मिनेटको चार्जमा ४०० किलोमिटर (२४९ माइल्स) यात्रा गर्न सक्नेछन् । एक हजार किलोवाटको चार्जिङ गति टेस्लाका सुपरचार्जरहरूको भन्दा दोब्बर छ, जसको पछिल्लो संस्करणमा अधिकतम ५०० किलोवाट चार्जिङ क्षमता छ । छिटो चार्ज हुने प्रविधि ईभी अपनाउने दर बढाउनका लागि महत्त्वपूर्ण मानिन्छ । वाङले भने, ‘हाम्रा प्रयोगकर्ताहरूको चार्जिङसम्बन्धी चिन्ता पूर्ण रूपमा समाधान गर्नका लागि हामीले विद्युतीय सवारीसाधनहरूको चार्जिङ समय पेट्रोल सवारीसाधनहरूको इन्धन भर्ने समय जत्तिकै छोटो बनाउने लक्ष्य राखेका छौं ।’ नयाँ चार्जिङ संरचना सुरुमा दुई नयाँ ईभीमा उपलब्ध हुनेछ- हान एल सेडान टाङ एल एसयूभी जसको मूल्य २ लाख ७० हजार युआन (३७ हजार ३२८.९१ डलर) बाट सुरु हुनेछ । साथै बीवाईडीले नयाँ प्लेटफर्मसँग मेल खाने गरी चीनभर ४ हजारभन्दा बढी अल्ट्रा-फास्ट चार्जिङ पाइलहरू (चार्जिङ युनिटहरू) निर्माण गर्ने बताएको छ । तर कम्पनीले यस्ता सुविधाहरू निर्माण गर्न कति लगानी गर्ने र कहिलेसम्म पूरा गर्ने भन्ने बारे कुनै ठोस समयसीमा उल्लेख गरेको छैन । हालसम्म बीवाईडी चलाउनेहरूले अन्य कार निर्माताहरूका चार्जिङ सुविधाहरू वा तेस्रो पक्षको सार्वजनिक चार्जिङ पोलहरूमा भर परेर गाडी चार्ज गर्दै आएका छन् । टेस्लाले सन् २०१४ देखि चीनमा आफ्ना सुपरचार्जरहरू उपलब्ध गराएको छ । साथै बीवाईडीका साना चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- नीओ, ली अटो, एक्सपेङ्ग र जिक्रले पनि वर्षौंदेखि चार्जिङ सुविधाहरूमा व्यापक लगानी गर्दै निर्माण गरिरहेका छन् । बीवाईडी मुख्य रूपमा प्लग–इन हाइब्रिडमा भर पर्छ, जसको बिक्री गत वर्ष ४.२ मिलियन युनिट पुगेको थियो । यस वर्ष कम्पनीले ५/६ मिलियन युनिट बिक्री गर्ने लक्ष्य राखेको छ । चार्जिङ सिस्टममा परिवर्तन ? वातावरणीय रक्षा कोषकाका अनुसार अमेरिकामा औसत ईभी दायरा ३०० माइल (४८३ किलोमिटर) जति छ, तर ब्याट्री पावर भएका ईभी चार्ज गर्न कारको मोडेल र चार्जिङ पोइन्टको गतिको आधारमा २० मिनेटदेखि केही घण्टासम्म लाग्न सक्छ । डुने इनसाइजट्सका संस्थापक तथा सीईओ माइकल डनले भने, ‘छिटो चार्जिङ पक्कै फाइदाजनक हो तर ईभी मालिकहरूका लागि प्राथमिकतामा यो ब्याट्रीको कुल दायरा र चार्जिङ पोर्टहरूको सुविधा भन्दा पछि आउँछ ।’ ‘बीवाईडी अब आफ्ना प्रविधिसम्बन्धी उपलब्धिहरू सुनाउने मामिलामा धेरै निपुण बन्दै गएको छ । एउटा परम्परागत इन्जिनियरिङ कम्पनीले आफ्नो प्रतिस्पर्धात्मक हतियारमा एउटा महत्त्वपूर्ण मार्केटिङ पक्ष थपेको छ,’ उनले थपे । घोषणासँगै बीवाईडीको सेयर उकालो सुपर चार्जिङ ईभी प्रविधिको घोषणा गरेसँगै बीवाईडीको सेयरहरू मंगलबार उकालो लागे । बीवाईडीका हङकङमा सूचीकृत सेयरहरू बजार खुल्नेबित्तिकै ६ प्रतिशतभन्दा धेरैले वृद्धि भए । जसले नयाँ ५२ हप्ते उच्चतम स्तर कायम ग¥यो । पछिल्लो पटक ती सेयरहरू झण्डै २.५ प्रतिशतले माथि कारोबार गरिरहेको देखिएको थियो, जुन यस वर्ष हालसम्म ५१ प्रतिशतले भन्दा धेरै वृद्धि हो । यसैबीच, बीवाईडीका शेन्जेनमा सूचीकृत सेयर मूल्य मंगलबार बिहान २ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । (एजेन्सीहरूको सहयोगमा) युरोपमा तेस्रो प्लान्ट बनाउनेबारे विचार गर्दै बीवाईडी हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै