सवारी कर्जाको ब्याजदर ४.९९ प्रतिशतमा झर्यो, इतिहासमै सबैभन्दा सस्तो
काठमाडौं । कार किन्ने योजनामा हुनुहुन्छ ? यदि तपाईं बैंकबाट कर्जा लिएर कार किन्ने योजनामा हुनुहुन्छ भने ५ प्रतिशत ब्याजदरमै कार किन्न सकिने भएको छ । जगदम्बा मोटर्सले बैंकसँगको सहकार्यमा कार खरिद गर्दा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सवारी कर्जाको व्याजदर इतिहासमा नै यो सबैभन्दा सस्तो भएको व्यवसायीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको कर्जाको ब्याजदर औसत ८.५५ प्रतिशत छ भने सवारी कर्जाको औसत ब्याजदर ९.०३ प्रतिशत छ । तर, जगदम्बा मोसर्टले ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको छ । विद्युतीय सवारीसाधन (इभी) बिक्रीमा व्यापक प्रतिस्पर्धा हुँदै गर्दा बिक्रेताहरूले नयाँ नयाँ व्यावसायीक योजना ल्याइरहेका छन् । जगदम्बा मोसर्टका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विभिन्न बैंकसँग सहकार्य गरेर सो ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए । ‘८/१० वटा बैंकसँग सहकार्य गरेका छौं, बैंकसँगको सहकार्यमा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने हो । यसमा कम्पनीले सहयोग गरेको हुन्छ । जस्तो बैंकको ब्याजदर ७ प्रतिशत छ भने त्यसमा २ प्रतिशत कम्पनीले योगदान गर्छ,’ उनले भने, ‘बैंकले आफ्नो ब्याजदर जति हो त्यति नै लिन्छ, बैंकको ब्याजदर यथावत नै कायम रहन्छ । तर, यसमा ग्राहकको रूपमा कम्पनीले सहयोग गरेको हुन्छ ।’ तर, कुन-कुन बैंकसँग सहकार्य गरेको हो ती बैंकको नाम भने उनले खुलाएनन् । बैंकको नाम नभन्ने शर्त राखिएको उनले बताए । ‘हाम्रो आफ्नै इन्भेष्टमेन्ट कम्पनी जगदम्बा कम्पनी छ । बैंकमा तरलता बढी भएर के गरौं भइरहेको छ । यसले बैंकलाई केही असर गर्दैन । बैंकलाई घाटा नहुने गरी उहाँहरूले काम गर्नु भएको छ । ग्राहकबाट ४.९९ प्रतिशतमा लिने हो । बाँकी कम्पनीले योगदान गरेर भुक्तानी गर्ने हो,’ उनले भने । सवारी खरिदमा ४० प्रतिशत डाउन पेमेन्टमा बैंकहरूले ६० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराइरहेका छन् । अर्थात ग्राहकले डाउन पेमेन्ट ४० प्रतिशत गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत बैंकले कर्जा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गराउनेछ । बाँकी ब्याजदर भने कम्पनीले भुक्तानी गर्नेछ । जगदम्बा मोटर्सले प्रोटोन ईमस सेभेन गाडी खरिदका लागि उक्त कर्जा उपलब्ध गराउनेछ । उक्त सवारीको मूल्य ५६.९९ लाख रुपैयाँ तोकेको छ ।
भारतमा चर्चा पाएको क्रेटा ईभी अब नेपाली बजारमा, मूल्य ५१ लाखदेखि ५९ लाखसम्म
काठमाडौं । केही समयअघि मात्रै भारती बजारमा सार्वजनिक भएको क्रेटा ईभी अब नेपाली बजारमा पनि सहजै उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ भेरियन्टको क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर विकल्पमा उपलब्ध गराउने छ भने ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिने बताइएको छ ।
आयातभन्दा नेपालमै बनेको गाडी सस्तो, लक्ष्मी कन्टिनेन्टलले बनायो ५३ लाखदेखि ७९ लाख पर्ने कार
काठमाडाैं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ भेरियन्टको कार सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ कार सार्वजनिक गरेको हो । कम्पनीले क्रेडा मोडल मेड इन नेपाल र क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा केही समयअघि मात्रै सार्वजनिक भएको क्रेटा ईभी सार्वजनिक गरेको छ भने क्रेटा मेड इन नेपाल पनि सार्वजनिक गरेको हो । कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यस्तै लक्ष्मी कन्टिनेन्टलले क्रेटा मेड इन नेपाल अन्तर्गतको क्रेटा ई पेट्रोल एमटी भेरियन्टको कारको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने क्रेटा एस ओ एमटीको ६३ लाख ९६ हजार रुपैयाँ, क्रेटा एसएक्स एमटीको ६६ लाख ९६ हजार रुपैयाँ, क्रेटा एस ओ सीभीटी भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ र क्रेटा एसएक्स ओ सीभीटी भेरियन्टको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेकोभन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने जानकारी दिए ।