चीनमा टेस्लाको उच्च रेकर्ड, २०२४ मा बिक्री गर्यो ६ लाख ५७ हजारभन्दा बढी गाडी
काठमाडौं । टेस्लाले २०२४ मा चीनमा ६ लाख ५७ हजारभन्दा बढी कार बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्, जुन २०२३ को तुलनामा ८.८ प्रतिशतले वृद्धि हो । यो संख्या कम्पनीको कुल डेलिभरीको ३६.७ प्रतिशत हो । डिसेम्बर २०२४ मा टेस्लाले चीनमा ८३ हजार इकाइहरू बिक्री गरेको थियो, जुन नोभेम्बरको तुलनामा १२.८ प्रतिशतले वृद्धि हो । यद्यपि टेस्लाको विश्वव्यापी डेलिभरी १.१ प्रतिशतले घटेको छ, जसको कारण युरोपमा सब्सिडीमा कटौती, अमेरिकामा सस्तो हाइब्रिड गाडीहरूको बढ्दो लोकप्रियता र चिनियाँ निर्माता बीवाईडीबाट बढ्दो प्रतिस्पर्धा हो । चीनबाट टेस्लाको निर्यात २४ प्रतिशतले घटेको छ र शांघाई प्लान्टबाट डेलिभरीमा पहिलो पटक वार्षिक गिरावट आएको छ । युरोपेली संघ (ईयू) को अनुसन्धानपछि टेस्लाका चीनमा निर्मित कारहरूमा ७.८ प्रतिशत ट्यारिफ लगाइएको छ । बीवाईडीको विश्वव्यापी इलेक्ट्रिक गाडी बिक्री १२.१ प्रतिशतले बढेर १.७६ मिलियन पुगेको छ, जसले टेस्लालाई नजिकबाट पछ्याइरहेको छ । टेस्लाले आफ्नो विश्वव्यापी कार्यबल घटाएको छ र चीनमा आफ्नो बिक्री टोलीको आकार पनि कम गरेको छ । चीनमा इलेक्ट्रिक गाडीहरूको मूल्य युद्ध तेस्रो वर्षमा प्रवेश गर्दा टेस्लाले आफ्नो मोडल वाईमा १० हजार युआन छुट र केही मोडल थ्री र मोडल वाई कारहरूमा पाँच वर्षसम्मको शून्य ब्याजमा वित्तीय सुविधा प्रदान गरेको छ । बीवाईडीले २०२४ मा ४.२५ मिलियनभन्दा बढी यात्री गाडीहरू बिक्री गरेको छ, जसमा ४१ प्रतिशतले वृद्धि भएको छ र यसको विदेशी बिक्री ७१.९ प्रतिशतले बढेर ४ लाख १७ हजार २०४ इकाइ पुगेको छ । यद्यपि बीवाईडी ४ लाख ५० हजारको निर्यात लक्ष्यमा चुकेको छ । ब्राजिलमा बीवाईडी र यसको ठेकेदार जिनजियाङ समूहले स्थानीय बीवाईडी कारखानाको निर्माणस्थलमा चिनियाँ कामदारहरूको अवस्थाबारे अनुसन्धानको सामना गरिरहेका छन् । टेस्लाले २०२४ मा १७ लाख ९० हजार गाडीहरू डेलिभर गरेको छ, जुन २०२३ को तुलनामा १.१ प्रतिशतले कम हो ।
जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ सम्पन्न, उच्चस्तरीय क्षमता प्रदर्शन
काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ– एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ । गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेकाे थियाे । साथै विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोध उकालो, ओरालो, हिलो, रकी एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो । विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ । एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीकाे रूपमा स्थापित भएको छ । नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित रहेको छ । साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ । एसपीजी ओमाडा र जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।
नाडा र नाडाका संस्थागत एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पुस २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए । सो कार्यक्रममा विशेषगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यमआरपीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३ हजार पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरिदिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो । छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए । यस्तै नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटि सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल,बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो । त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।