नेपालका सडकमा गुड्छन् १७ हजार ईभी, सार्वजनिक र व्यावसायीक प्रयोजनमा ८ हजार
काठमाडौं । विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग अत्यधिक रूपमा बढिरहँदा नेपाली बजारमा पनि यसको राम्रै प्रभाव देखिएको छ । पछिल्लो समय नेपाली सडक पनि ईभीमय भएको छ । गत आर्थिक वर्ष २०७८/७९को बजेटमा विद्युतीय सवारीसाधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम कर महसुल लाग्ने व्यवस्था सरकारले गरेपछि ईभीको प्रयोग बढ्दै गइरहेको छ । नेपालमा विद्युत् आपूर्ति सहज हुनु, चार्जिङ स्टेसनको संख्या बढ्दै जानु र सर्भिसिङमा कम खर्च लाग्नुले ईभी सबैको रोजाइमा पर्न लागेको हो । चालु आव अर्थात् गत साउनदेखि चैत महिनासम्ममा करिब ८ हजार ईभी भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार चैत महिनासम्ममा ७ हजार ९६७ ईभी अर्थात् कार, जीप र भ्यान भित्रिएका छन् । यीमध्ये अनएसेम्बल अवस्थाका ९ युनिट छन् भने बाँकी सबै तयारी अवस्थाका इभी हुन् । हालसम्म कुल १७ हजार विद्युतीय सवारीसाधन प्रयोगमा रहेको नाडाअन्तर्गतको विद्युतीय सवारी समितिका सभापति तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले जानकारी दिए । १७ हजारमध्ये करिब ८ हजार जति सार्वजनिक तथा व्यापारिक प्रयोजनका रूपमा प्रयोग भइरहेका छन् भने बाँकी निजी प्रयोजनमा । हाल विद्युतीय सवारीसाधनप्रति सबैको क्रेज बढेको तर यसमा सरकारले लगानी गर्ने वातावरण नमिलाइ दिँदा आयात पहिलेको तुलनामा हाल केही घटिरहेको उनको भनाइ छ । उनले भने, ‘गाडीहरू कहिले कम आयात हुन्छन् भने कहिले बढी हुन्छन् । यो स्वाभाविक हो तर सरकारले वातावरण मिलाइदियो भने केही सहज हुन्छ ।’ अन्य सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन तुलनात्मक रूपमा महँगा छन् । ब्याट्री महँगो हुने भएकाले विद्युतीय सवारी महँगो हुने गरेको सभापति श्रेष्ठको भनाइ छ । ‘विद्युतीय सवारी महँगो हुनुमा मुख्य त ब्याट्री महँगो हो । नेपालमा केही कर छुट दिएका कारण साना गाडी केही सस्ता छन् । तर एकसय किलोवाट क्षमताभन्दा माथिका सवारीसाधन भने महँगा नै छन्,’ उनले भने । पूर्वाधार नै बाधक अहिले राजमार्गमा प्रत्येक ६० किलोमिटर दूरीमा फास्ट चार्जिङ स्टेशन निर्माण भए पनि त्यो अपुग भएको नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका सभापति श्रेष्ठ बताउँछन् । हाल विद्युतीय सवारी बिक्रेता आफै र सरकारीस्तरबाट नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन बनाउँदै आएका छन् । उनका अनुसार सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेसन र पूर्वाधार निर्माण तथा मर्मत सम्भार आवश्यक छ । सभापति श्रेष्ठले भने, ‘देशभरका ठूला सहरमा मात्रै चार्जिङ स्टेसन छन् । धेरै ठाउँमा विद्युतीय सवारीसाधन बिक्रेता कम्पनी आफैले चार्जिङ स्टेशन बनाइरहेका छौं । तर त्यो अपुग छ । हामीले जति विस्तार गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं ।’ चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्र एक्लैले काम गर्न नसक्ने र सरकारले पनि त्यसमा पहल गर्नुपर्ने उनको भनाइ छ । अटो क्षेत्रमा सरकारले नीतिगत सहयोग गर्न नसकेको गुनासो उनको छ । देशभर कति छन् चार्जिङ स्टेशन ? नेपाल विद्युत् प्राधिकरणले देशभर सरकारी र निजी क्षेत्रको गरी ७ सय वटा चार्जिङ स्टेशन रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाई शिखरका अनुसार प्राधिकरणले विभिन्न ६८ स्थानमा चार्जिङ स्टेशन बनाएको छ । उनका अनुसार हाल देशभर निजी र सरकारी गरी ७ सय चार्जिङ स्टेशन रहेका छन् । उनले हाल चार्जिङ स्टेशन थप गर्ने कुनै योजना नभएको उल्लेख गरे । सबै चार्जिङ स्टेसनको कन्ट्रोल भने काठमाडौंबाट भइरहेको छ । पेट्रोल/डिजेलभन्दा विद्युतीय गाडी सस्तो पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय गाडी सस्तो भएको साझा यातायातका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) जोन तामाङ बताउँछन् । उनका अनुसार पेट्रोल खर्च प्रतिकिलोमिटर करिब २० रुपैयाँ छ भने विद्युतीय सवारीको प्रतिकिलोलिटर एक रूपैयाँ पर्ने गरेको छ । उनले भने, ‘सुरुमा किन्दा विद्युतीय सवारीसाधन महँगो र ब्याट्री परिवर्तन गर्दा केही खर्चिलो मात्र हो । अगिपछि भने यो सस्तो छ । तर पेट्रोल डिजेल प्रयोग हुने सवारीसाधन किन्दाखेरि सुरुमा सस्तो हुने तर पछि महंगो पर्ने गरेको छ । पेट्रोल र डिजेलको एकसय पर्ने गरेकोमा विद्युतीय सवारीसाधनमा ६० प्रतिशतले सस्तो हुने गरेको छ ।’ उनले लामो दूरीमा यात्रा गर्दा चार्जिङको केही समस्या हुने छोटो दूरीमा भने ईभी राम्रो हुने बताए । सीईओ तामाङ सार्वजनिक विद्युतीय सवारीसाधन लागि केही समस्या रहेको उनको भनाइ छ । उनले भने, ‘सार्वजनिक सवारीसाधनका लागि पूर्वाधारमा समस्या, चार्जिङ स्टेशनको व्यवस्था नहुनु लगायतका समस्या छन् । त्यसैले सार्वजनिक सवारीसाधनमा ईभी कम छन् तर निजी प्रयोजनमा भने ईभी बढी प्रयोग भइरहेका छन् । नेपाली ईभी बजारमा कसले कुन गाडी बेच्छ ? सिजी ग्रुपअन्तर्गतको सिजी मोटर्सले विभिन्न ईभी गाडीको आयात गर्नुका साथै चार्जिङ नेटवर्क र सर्भिस सेन्टरको विस्तार गर्दै गइरहेको छ । कम्पनीले देशभर २८० बढी चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । उपत्यकामै मात्रै ३० भन्दा बढी चार्जिङ स्टेशन रहेको र देशभर चार्जिङ स्टेशनको संख्या ५ सय पुर्याउने तयारी गरिरहेको सिजी मोटर्सका सेल्स प्रमुख बद्री भट्टराईले जानकारी दिए । उनका अनुसार हाल कम्पनीका केवाइसी र किंगलङ ब्राण्डहरू बजारमा उपलब्ध छन् । उनले भने, ‘अहिले बजारमा हामीले ४ हजारभन्दा बढी गाडी बिक्री गरिसका छौं । यी गाडी विभिन्न प्रयोजनमा प्रयोग भइरहेका छन् । जस्तै, स्कुल, सामान ढुवानी, विभिन्न रुटहरूमा यात्रुहरू बोक्न प्रयोग भइरहेका छन् । अझै हामीले देशभर जुन जुन ठाउँमा सडक पुगेको छ, त्यहाँ सबै ठाउँमा चार्जिङ स्टेशन र गाडी पुर्याउने योजनामा छौं ।’ भट्टराईले चार्जिङ स्टेशनमा मात्रै ५० करोडको लगानी रहेको समेत जानकारी दिए । उनले कुल गाडी आयातको २५ प्रतिशत गाडी आयात सिजीले गरिरहेको दाबीसमेत गरे । हाल सिजी मोटर्सले २१ वटा सुविधा सम्पन्न सर्भिस सेन्टर बनाइसकेको उनको भनाइ छ । यसैगरी, ११ सिटको केवाईसी भ्यान करिब १५ सय भन्दा बढी बिक्री भएको समेत कम्पनीले जनाएको छ । यसैगरी, एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ चार्जिङ स्टेशनहरू बनाइसकेको छ भने थप १०० चार्जिङ स्टेशन बनाउने योजनामा छ । कम्पनीले बजारमा बस र ट्रक ल्याउने तयारी गरिरहेको कम्पनीका माकेटिङ प्रमुख प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार फोटोनका १ हजार ५ सय तथा सोकोनका ३ सय ईभीहरु सडकमा गुडिरहेका छन् । फोटोनअन्तर्गत माउन्टेन ईभी, ईभी टीएम १ माउन्टेन औमार्क र एमिलर तथा सोकोन अन्तर्गत ११ सिटे विद्युतीय भ्यान बजारमा छन् । नेपाली बजारमा कमर्सियल क्षेत्रमा बढी ईभी भित्राउने कम्पनीहरुमा सिजी माटर्स, एमएडब्लू वृद्धि, त्रिवेणी मोटोकर्प, भिजी माटर्स र सिप्रदी ट्रेडिङ रहेका छन् । सार्वजनिक विद्युतीय बसमार्फत सेवा साझा यातायातले ४० वटा विद्युतीय बसमार्फत उपत्यकामा सार्वजनिक सेवा दिइरहेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी चलाउँदै आएको साझाले हाल विद्युतीय बसलाई प्राथमिकता दिएको सीईओ तमाङले बताए । उनले भने, ‘हामीले काठमाडौं उपत्यकाभित्र दुई वर्षदेखि सार्वजनिक रूपमा सेवा दिँदै आइरहेका छौं । चाइनाबाट विद्युतीय बस खरिद गरी सेवा दिइरहेका छौं । लामो दूरीमा कुनै पनि बस प्रयोग गरेका छैनौं । ’ उनले बसहरूका लागि चार्जिङको व्यवस्था मुख्य कार्यालय ललितपुरको पुलचोक डिपोमै रहेको जानकारी दिए । यस्तै, सुन्दर यातायातसँग ३५ वटा सार्वजनिक सवारी छन् । तीमध्ये १६ वटा विद्युतीय ठूला सार्वजनिक यातायात छन् भने ९ वटा माइक्रो रहेका छन् । सुन्दर यातायात विद्युतीय सवारीसाधनमा नेपालमा सबैभन्दा पहिले सार्वजनिक रूपमा सेवा दिने कम्पनी हो । यसले काठमाडौं उपत्यकाका अतिरिक्त सिन्धुली, जनकपुर, दाङसम्म सेवा दिएको छ । नेपाली बजारमा चीन, भारत, कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत विभिन्न देशबाट विद्युतीय सवारीसाधन आयात हुने गरेको छ । नेपालमा बिक्री हुने विद्युतीय कार, भ्यान लगायत अन्य सवारीसाधनमा सबैभन्दा बढी चिनियाँ ब्रान्ड रहेका छन् । के भन्छन् ईभी चालक ? सिन्धुली दुधौली नगरपालिकाका अमर गुरुङसँग दुईवटा माइक्रो ईभी छन् । उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुईवटै माइक्रो इभी चलाउँदै यात्रु आसार्ने गरेको बताए । उनी भन्छन्, ‘सुरुमा ईभीमा अलिकति बढी लगानी हाल्नुपर्छ । चार्जिङ पाटो र सर्भिसिङ निकै सस्ताे छ । म ईभी नै किन्नूस् भनेर सुझाव दिन चाहन्छु ।’ गुरुङले ईभी नीतिमा सरकार लचिलाे हुनुपर्नेमा जाेड दिए । ठाउँठाउँमा चार्जिङ र सर्भिसकाे सुविधा बढाउँदै जाँदा नेपाल ईभीमय हुने कुरामा कुनै शंका नरहेकाे उनकाे भनाइ छ । उनका अनुसार सिन्धुलीदेखि काठमाडौंसम्मको रुटमा ५ वटा चार्जिङ स्टेशन रहेका छन्।
एमएडब्लू वृद्धिले नेपालभर स्थापना गर्यो सय प्लस चार्जिङ स्टेशन
काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर सयभन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । सयभन्दा धेरै चार्जिङ स्टेशन स्थापना गरेको अवसरमा एमएडब्लू वृद्धिले आइतबार एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ । कार्यक्रममा एमएडब्लू वृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत अन्य व्यक्तिहरू सहभागी थिए । एमएडब्ल्यू वृद्धिले काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता सहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू उपलब्ध छन् । एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ गुप्ताले निरन्तर बढ्दो नेटवर्कले नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउने बताए । एमएडब्ल्यू वृद्धिले आगामी दिनमा अन्य क्षेत्रमा पनि ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने प्रतिज्ञा गरेको छ ।
रेसिङमा हुन्डाईको नयाँ अध्यायः हाइपरकार इन्जिनको पहिलो परीक्षण सफल
काठमाडौं । जेनेसिस म्याग्मा रेसिङ जीएमआर- ००१ हाइपरकारको विकासले अर्को ठूलो प्रगति हासिल गरेको छ । वर्ल्ड र्याली च्याम्पियनसी (डब्ल्यूआरसी)- आधारित भी-८ ट्विन-टर्बो इन्जिनले फेब्रुअरीको अन्त्यमा हुन्डाई मोटरस्पोर्टको मुख्यालयमा सफलतापूर्वक पहिलो स्टार्टअप पूरा गर्यो । हुन्डाई मोटरस्पोर्टका पावरट्रेन प्रमुख जुलियन मोन्सेट र इन्जिन वर्कशप प्रमुख रोब बेन्सनको निरीक्षणमा उक्त स्टार्टअप प्रक्रिया योजनाअनुसार सम्पन्न भएकाे थियाे । यो इन्जिन विकासको एक महत्त्वपूर्ण क्षण हो । भी ८ पावरप्लान्टको आधारभूत संरचना हुन्डाई मोटरस्पोर्टको एफआईए वर्ल्ड र्याली च्याम्पियनसिप च्यालेन्जरमा प्रयोग भएको इनलाइन फोर-सिलिन्डर मोटरबाट लिइएको हो । फोर-सिलिन्डर इन्जिन एफआईएको ग्लोबल रेस इन्जिन नियमहरूमा आधारित छ । 'फोर-सिलिन्डर इन्जिन एकदमै परिष्कृत र प्रभावकारी इन्जिन हो,' हुन्डाई मोटरस्पोर्टका प्राविधिक निर्देशक फ्रान्स्वा-जेभियर डेमैसोनले भने, 'यो एउटा वास्तविक रेस इन्जिन हो, त्यसैले वर्ल्ड इन्ड्युरेन्स च्याम्पियनसीप (डब्ल्यूईसी) को लागि इन्जिन विकास गर्न यो राम्रो आधार हो । र्याली पनि एक प्रकारको इन्ड्युरेन्स रेस हो, त्यसैले २४ घण्टे ले म्यान्सका लागि इन्जिन बनाउन यो राम्रो थालनी हो ।' 'हामीसँग इन्जिन विकास गर्न धेरै समय थिएन । एउटा इन्जिनको मुख्य भाग डिजाइन, परीक्षण र उत्पादन गर्न धेरै समय लाग्छ,’ उनले थपे । भी८ इन्जिनको डिजाइन कार्य सन् २०२४ को जुनमा सुरु भएर चार महिनामा सम्पन्न भयो । हुन्डाईका डब्ल्यूआरसी कारका लागि इन्जिनहरू २०१७ देखि हुन्डाई मोटरस्पोर्ट्सद्वारा आफ्नै प्लान्टमा निर्माण हुँदै आएका छन् । सन् २०१३ मा केही इन्जिनियरहरूबाट सुरु भएको यो पावरट्रेन विभाग अहिले डिजाइन, वर्कशप, परीक्षण, इलेक्ट्रोनिक्स र सफ्टवेयर विभागसम्म विस्तार भइसकेको छ । यसले हुन्डाई मोटरस्पोर्ट्सलाई जेनेसिसको इन्ड्युरेन्स रेसिङ यात्रामा आफै इन्जिन निर्माण गर्न सक्षम बनाएको छ । 'हुन्डाई मोटरस्पोट्र्स जेनेसिस म्याग्मा रेसिङको मेरुदण्ड हो र जीएमआर- ००१ हाइपरकारको लागि इन्जिन विकास त्यसको प्रत्यक्ष प्रमाण हो,' जेनेसिस म्याग्मा रेसिङका टीम प्रमुख सिरिल अबिटेबुलले भने, 'हुन्डाई मोटरस्पोर्टसँग धेरै अनुभव छ, त्यसैले यसको पावरट्रेन विकासका लागि हामीले आफ्नै मानिसहरूमा भरोसा गरेका छौं ।' पहिलो इन्जिन स्टार्टअप सफलतापूर्वक सम्पन्न भएपछि अब विकासको दोस्रो चरण सुरु हुँदैछ । हुन्डाई मोटरस्पाेर्ट्स र जेनेसिस म्याग्मा रेसिङका कर्मचारीहरू अब बेन्च परीक्षणहरूमा केन्द्रित हुनेछन्, त्यसपछि इन्जिनलाई जीएमआर- ००१ को गियरबक्स र हाइब्रिड युनिटसँग जडान गरिनेछ । ट्र्याक परीक्षण वर्षको अन्त्यतिर सुरु हुनेछ । हुन्डाईले जेनेसिस जीएमआर- ००१ हाइपरकारको विकासमा हालसम्म कति खर्च गर्यो भन्ने सार्वजनिक भएको छैन । यद्यपि उपलब्ध जानकारीहरूबाट यो परियोजना निकै ठूलो लगानीसहितको रहेको अनुमान गर्न सकिन्छ । सम्बन्धित समाचार ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा