भारतमा एक वर्षमै ४३ लाखभन्दा बढी गाडी बिक्री, ६५ प्रतिशत ग्राहकको रोजाइ एसयूभी
काठमाडौं । भारतमा एक वर्षमै यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशतले बढेर ४३ लाख युनिटभन्दा बढी पुगेको छ । एसयूभी, एमपीभी प्रतिको माग बढेकै कारणले यो बिक्री रेकर्ड बनेको हो । कुल बिक्रीमध्ये एसयूभीको हिस्सा ६५ प्रतिशत रहेको छ । व्यक्तिगत साधनको निर्यात पनि १५ प्रतिशतले बढेर ७.७ लाख युनिट पुगेको छ । उता दुईपाँग्रे सवारीसाधनको बिक्रीमा पनि ९ प्रतिशत वृद्धिको दर देखिएको छ भने व्यावसायिक सवारीको बिक्रीमा सामान्य गिरावट आएको छ । भारतीय अटो उद्योग संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)का अध्यक्ष शैलेश चन्द्राका अनुसार यो राम्रो प्रदर्शनको कारण भनेको बजारमा राम्रो माग, पूर्वाधारमा लगानी र सरकारको नीति नै हुन् । एसआईएएमका अनुसार विगत एक वर्ष- अर्थात् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्म- यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशत वृद्धि भई ४३ लाख १ हजार ८४८ युनिट पुगेको छ । अघिल्लो वित्तीय वर्ष २०२३-२४ मा यो संख्या ४२ लाख १८ हजार ७५० युनिट थियो । यस वृद्धिमा सबैभन्दा ठूलो योगदान एसयूभी/एमपीभीहरूको रहेको छ । एसयूभीको लोकप्रियता झन् बढ्दो जनताको रोजाइमा एसयूभी झनै बढिरहेको देखिन्छ । वित्तीय वर्ष २०२४–२५ मा कुल यात्रुवाहक बिक्रीमा ६५ प्रतिशत हिस्सा एसयूभीको रह्यो । अघिल्लो वर्ष (२०२३-२४) यो हिस्सा लगभग ६० प्रतिशत थियो । एसयूभीको बिक्री ११ प्रतिशतले वृद्धि भई २७ लाख ९७ हजार २२९ युनिट पुगेको छ, जुन अघिल्लो वर्ष २५ लाख २० हजार ६९१ युनिट थियो । साधारण कारहरूको बिक्री भने १३ प्रतिशतले घटेर १३ लाख ५३ हजार २८७ युनिट मात्र रह्यो, जुन अघिल्लो वर्ष १५ लाख ४८ हजार ९४७ युनिट थियो । निर्यातमा पनि वृद्धि यात्रुवाहकको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । वित्तीय वर्ष २०२४–२५ मा ७.७ लाख युनिट निर्यात गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो। अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत वृद्धि देखिएको छ । एसआईएएम अनुसार भारतमा बनेका गाडीहरूप्रति अन्तर्राष्ट्रिय माग बढेकाले निर्यातमा वृद्धि भएको हो । दुईपाँग्रे सवारी (बाइक-स्कुटर) को बिक्री पनि बढ्यो दुईपाँग्रे सवारी थोक बिक्री ९ प्रतिशतले वृद्धि भई १ करोड ९६ लाख ७ हजार ३३२ युनिट पुगेको छ । अघिल्लो वर्ष यो १ करोड ७९ लाख ७४ हजार ३६५ युनिट थियो ।
बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड
काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल सिगलले २०२५ वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्ड कार्यक्रममा यो सम्मान घोषणा गरिएको हो । कम्पनीका अनुसार विश्वभरका ११ उत्कृष्ट अर्बन सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी सिगलले यो अवार्ड जित्दै इतिहास रच्यो । यो अवार्ड जित्ने बीवाईडी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको छ, जसले विश्व बजारमा चिनियाँ इलेक्ट्रिक कारको उपस्थिति बलियो बनाएको छ । बीवाईडी सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचरहरू र उत्कृष्ट अर्बन परफर्मेन्सका कारण यो मोडल विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा बेस्ट सेलर बन्न सफल भइरहेको छ । वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू सिगलको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी प्रदर्शन, र विश्वव्यापी बजार अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली भन्छिन्, 'सिगललाई ‘वर्ल्ड अर्बन कार’ को उपाधि प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले विश्वभरका ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवामा हाम्रो प्रतिबद्धता पुष्टि गर्छ ।' बीवाईडीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिन पनि अर्बन कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो भने बीवाईडी सिल 'वर्ल्ड कार अफ द इयर' कै शीर्ष ३ मा पुगेको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको थिएन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले पहिले नै बीवाईडी सिगलको परीक्षण नेपाली सडकमा गरिसकेको छ । कम्पनीले छिट्टै यसलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने संकेत दिएको छ । नेपालमा यो मोडल निकै प्रतिक्षित रहेको बताइएको छ । बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।
ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो । यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ । मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् । नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् । अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् । बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन । यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ । बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ । यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ । चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो । नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् । विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा