एक्सेल डेभलपमेन्ट बैंकको नाफा १५.५७ करोड रुपैयाँ, लाभांश बाँड्ने क्षमता वृद्धि
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको यो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ । अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड रुपैयाँ कमाएको हो । जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ । बैंकको प्रति सेयर आम्दानी १६.६१ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ । त्यसैगरी, प्रतिसेयर नाफामा पनि सकारात्मक वृद्धि भई १५.३९ रुपैयाँ कायम हुनु सेयरधनीहरूका लागि थप सकारात्मक समाचार हो । त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ । यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ । बैंकको आधार ब्याजदर ५.६७ प्रतिशत मा कायम रहेका लागि थप राम्रो संकेत हो । यसले कर्जा ब्याजदरलाई प्रतिस्पर्धी बनाउँदै लगानी र व्यवसाय विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ । बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तार नीति अपनाउँदै बजारमा सक्रिय उपस्थिति जनाइरहेको छ । यस रणनीतिले आर्थिक गतिविधि बढाउन र ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ । आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ । कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
विकासन्युजको समाचारका नेक्साको खण्डन
काठमाडौं । विकासन्युज डटकममा चैत २६ गते प्रकाशित ‘कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन–कुन कन्सल्टेन्सी परे ?’ शीर्षकको समाचारको खण्डन प्राप्त भएको छ । नेपाल शैक्षिक परामर्श सेवा संघबाट समाचारको खण्डन प्राप्त भएको छ । समाचारमा उल्लेख गरिएका सूचना र तथ्यहरु सूचनाको अधिकार (आरटीआई) प्रयोग गरी शिक्षा मन्त्रालयबाट प्राप्त गरेको उल्लेख गरिएको र ठगिएका विद्यार्थीको समेत धारणा लिएर लिएर बनाएको समाचार गलत र भ्रामक होइन भन्ने प्रष्ट पार्न चाहन्छौं । विकासन्युज डटकम विश्वसनीय र सत्यतथ्यमा आधारित समाचार सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम भएको जानकारी गराउँदै नेपाल शैक्षिक परामर्श सेवा संघले नेपाल प्रेस काउन्सिललाई बोधार्थ दिएर पठाएको खण्डनलाई जस्ताको त्यस्तै प्रकाशित गरेका छौं ।
सीआईबीसँग सर्वोच्चले माग्यो २४ घण्टाभित्र लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सो आदेश गरेको हो । व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो । आदेशमा रिट निवेदनको एकरएकप्रति नक्कल समेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि सीआईबीले गत बिहीबार उनलाई नियन्त्रणमा लिएको थियो । धितोपत्र बोर्डले तयार पारेको ‘प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ मा गोल्छा लगायतका व्यक्तिहरूको मिलेमतोमा धितोपत्र बजारलाई प्रभावित पार्ने र कानुन विपरीतका कार्यहरू भएको उल्लेख छ । सोही प्रतिवेदनका आधारमा बोर्डले थप अनुसन्धान र कारबाहीका लागि ब्यूरोमा सिफारिस गरेको थियो ।
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ । ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ । अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको तेस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने जनाएको छ । फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिएका छन् । यस अघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए ।
देउवा समूहको बैठक धुम्बाराहीमा सुरु
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा चौधौं महाधिवेशनका केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरू उपस्थित रहेको बताइएको छ । एक जिल्ला सभापतिका अनुसार बैठकमा १५५ जना नेताहरू सहभागी रहेका छन् । पछिल्लो समय देउवा समूहको नेतृत्व पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काले गरेका छन् ।
विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजस्व बढ्छ : उपाध्यक्ष मल्होत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै उनले त्यस्तो कर घटाउनुपर्ने बताएका हुन् । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजस्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताए । उपाध्यक्ष मल्होत्राले भने–‘अहिले नयाँ सरकार गठन भएको छ र सरकारले महत्वकांक्षी योजना अघि सारेको छ । योजना अनुसार अर्थतन्त्रको आकारलाइ १०० बिलियन आगामी ७ वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन बढाउने र प्रतिव्यक्ती आयलाई ३ हजार डलर पुर्याउने छ, त्यो सफल हुनसक्छ । त्यसको लागि हामी पनि सरकारलाई साथ दिन तयार छौँ ।’ सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उनको भनाइ छ । मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिए ।
बैंकहरूको एनपीएल ८.७७ प्रतिशत बढ्यो, ३ बैंकको ८ प्रतिशत नाघ्दा १० ले घटाए
काठमाडौं । वाणिज्य बैंकहरूको खराब औसत खराब कर्जा (एनपीएल) ५ प्रतिशत नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वाणिज्य बैंकको खराब कर्जा औसत ८.७७ प्रतिशत बढेर ५.२५ प्रतिशत विन्दुमा पुगेको हो । गत वर्षको चैतमा बैंकहरुको खराब कर्जा औसत ४.८३ प्रतिशत विन्दुमा थियो । औसत एनपीएल ५.२५ पुग्नु प्रणालीगत जोखिम बढ्दै गएको संकेत गरेको बैंकरहरु बताउँछन् । यसले अर्थतन्त्रमा ऋणीहरू (व्यवसाय र व्यक्तिहरू) कर्जा तिर्न सक्ने क्षमतामा दबाब परिरहेको स्पष्ट देखाउको उनीहरुको भनाइ छ । समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको बढेको छ । बैंकको एनपीएल ७३.६७ प्रतिशतले बढेर ८.८४ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.०९ प्रतिशत विन्दु थियो । यस्तै, एनआईसी एशिया बैंकको एनपीएल ५३.९१ प्रतिशतले बढेर ८.८५ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.७५ प्रतिशत विन्दु थियो । सार्वजनिक विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५.६९ प्रतिशत बढेर १.८१ प्रतिशत विन्दु, सिटिजन्स बैंकको १९.४३ प्रतिशत बढेर ६.८२ प्रतिशत विन्दु, सानिमा बैंकको १६.६६ प्रतिशत बढेर ३.९९ प्रतिशत विन्दु, प्राइम बैंकको १३.०९ प्रतिशत बढेर ६.३९ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, एनएमबि बैंकको १०.७३ प्रतिशत बढेर ४.९५ प्रतिशत विन्दु, हिमालयन बैंकको ३.९० प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, कृषि विकास बैंकको १.६० प्रतिशत बढेर ५.०६ प्रतिशत विन्दुमा खराब कर्जा छ । चालु आवको चैत मसान्तसम्ममा विभिन्न १० वटा बैंकको खराब कर्जा घटेको छ । जसमा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकले घटाएको देखिन्छ । बैंकको ३७.६८ प्रतिशत घटेर २.५३ प्रतिशत विन्दुमा खराब कर्जा झारेको छ । जबकि गत वर्षको चैतसम्ममा ४.०६ प्रतिशत विन्दु खराब कर्जा रहेको थियो । यस्तै, माछापुच्छ्रे बैंकको १२.६३ प्रतिशत घटेर ४.०१ प्रतिशत विन्दु, नबिल बैंकको ११.८९ प्रतिशत घटेर ४.३७ प्रतिशत विन्दु, लक्ष्मी सनराइज बैंकको ९.७२ प्रतिशत घटेर ५.२९ प्रतिशत विन्दु, नेपाल बैंक को ८.८९ प्रतिशत घटेर ४.९६ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको ८.१६ प्रतिशत घटेर ३.७१ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् । यस्तै, एभरेष्ट बैंकको ४.६८ प्रतिशत घटेर ०.६१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ४.४७ प्रतिशत घटेर ४.४८ प्रतिशत विन्दु, कुमारी बैंकको ०.५७ प्रतिशत घटेर ६.९४ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ०.२० प्रतिशत घटेर ४.९७ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।
नेकपामा कार्यविभाजन टुंग्याउने तयारी, आज बस्ने बैठकले अन्तिम रूप दिने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ । यसका लागि केन्द्रीय संयोजन समितिको बैठक बसिरहेको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक कार्यविभाजनलाई लिएर देखिएको विवादका कारण स्थगित गरिएको थियो । केही शीर्ष नेताहरूबीच विभागीय जिम्मेवारीमा असहमति देखिएपछि थप गृहकार्य गरेर पुनः बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए । यसैबीच, बैठकले पार्टीको एकता महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका पनि अनुमोदन गरिसकेको छ । यस्तो छ प्रस्तावित कार्यविभाजन पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप नेताहरूको कार्यविभाजनको प्रस्ताव तयार पारिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा प्रस्तुत गरीएको प्रतावमा पुष्पकमल दाहाललाई संयोजकसहित सम्पूर्ण पार्टी कार्यको समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ। माधवकुमार नेपालले सहसंयोजक जिम्मेवारी पाउदा झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मा पाएका छन् । खनाल उक्त जिम्मेवारीप्रति सन्तुष्ट नभएको बैठकमा रहेका एक नेताले जानकारी दिए । खनालले संगठन या विदेश विभागको अपेक्षा गरेका थिए । संगठन विभागको जिम्मेवारीको अपेक्षा अर्का नेता वामदेव गौतमले पनि गरेका थिए । तर जिम्मा वर्षमान पुनलाई दिएर गौतमलाई उत्पादन तथा रोजगारी विभागको जिम्मा दिने तयारी भइरहेको छ । पाँचौं वरीयताका नेता नारायणकाजी श्रेष्ठलाई अनुगमन तथा मूल्यांकन विभागको प्रस्ताव गरीएको छ । अग्नि सापकोटा, गंगानारायण श्रेष्ठलाई क्रमश स्थानिय तह र सास्कृतिक विभागको जिम्मेवारी दिने तयारी गरिएको ती नेताले जानकारी दिए । पछिल्लो समय भेपमा सुन तस्करीको आरोपमा मुद्दा खेपिरहेका कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभागको जिम्मा दिने तयारी रहेको छ । डा. गंगालाल तुलाधारले बागमती प्रदेशको इन्चार्जको जिम्मा पाउने प्रस्ताव हुँदा गिरिराजमणि पोखरेललाई शिक्षा विभाग र गोपाल किरातीलाई नीति अनुसन्धान प्रतिष्ठानको उपप्रमुख भएर रहनेछन् । आजको बैठकमा ४५ जना वरिष्ठ नेताहरूको कार्य विभाजन टुंगो लगाउने गरी छलफल भइरहेको छ ।