विकासन्युज

‘हप्तामा एक दिन बिदा देऊ’ भन्दै प्रशिक्षार्थी चिकित्सक सडकमा

काठमाडौं । श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै हप्तामा कम्तीमा एक दिन बिदा र दैनिक अधिकतम १२ घण्टासम्म मात्र काम गर्ने व्यवस्था गर्न माग गरेका हुन् । प्रदर्शनमा सहभागी चिकित्सकहरूले हाल आफूहरू अत्यधिक श्रम शोषणमा परेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण तत्काल अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् । प्रदर्शनका क्रममा एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि अनिवार्य रूपमा एक वर्ष इन्टर्नसिप गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसपछि मात्रै एमडी अध्ययनको अवसर पाइने बताए । तर आफूजस्ता धेरै चिकित्सकहरूले उत्कृष्ट नतिजा ल्याए पनि उच्च शिक्षामा रहेको असमानता र श्रम शोषणका कारण एमडी अध्ययन गर्न नपाएको उनको गुनासो थियो । उनले चिकित्सकहरूलाई लगातार ३६ घण्टासम्म काम गर्न बाध्य बनाइएको भन्दै गम्भीर आपत्ति जनाए । 'हामी बिहान ७ बजे काममा गयौँ भने भोलिपल्ट साँझ ७ बजेसम्म ड्युटिमा बस्नुपर्छ, जुन कुरा सामान्य नागरिकले कल्पना गर्न पनि सक्दैनन्,' उनले भने । डा. बस्नेतका अनुसार देशमा अहिले दुई दिन बिदा दिने प्रचलन भए पनि प्रशिक्षार्थी चिकित्सकहरूले हप्तामा एक दिन पनि बिदा नपाउने अवस्था रहेको छ । 'हामी वर्षका ३६५ दिन नै निरन्तर खटिन बाध्य छौँ, जुन मानव अधिकारकै उल्लंघन हो,' उनले थपे । उनले केही निजी शिक्षण अस्पताल र ‘मेडिकल माफिया’ का कारण चिकित्सकहरूको श्रम शोषण भइरहेको आरोप लगाए । उनका अनुसार अस्पतालहरूको आम्दानी बढाउने उद्देश्यले मेधावी युवा चिकित्सकहरूलाई अत्यधिक काममा लगाउने गरिएको छ । राजनीतिक परिवर्तन भए पनि स्वास्थ्य क्षेत्रका समस्यामा सुधार नआएकोप्रति पनि उनले असन्तुष्टि जनाए । 'देशमा सरकार बदलिँदै गएका छन्, तर हाम्रो समस्या ज्यूँका त्यूँ छ,' उनले भने, 'हाम्रो माग सामान्य छ, दैनिक १२ घण्टाभन्दा बढी काम नगराइयोस् र हप्तामा कम्तीमा एक दिन बिदा दिइयोस् ।' प्रदर्शनका क्रममा चिकित्सकहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । ती प्लेकार्डहरूमा ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन’, ‘डाक्टरको ३६ घण्टे ड्युटि खारेज गर’, ‘प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर’, ‘सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ?’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ जस्ता सन्देश लेखिएका थिए । चिकित्सकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले श्रम ऐनको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।

टीभीएस जुपीटर किन्दा ९ महिना पेट्रोल फ्री, सहज फाइनान्स सुविधा

काठमाडौं । जगदम्बा मोटर्सले नेपालका लागि टीभीएस को ‘अल न्यू टीभीएस जुपीटर बीएस–६’ स्कुटरमा नयाँ ग्राहक केन्द्रित योजना सार्वजनिक गरेको छ । दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चलाई मध्यनजर गर्दै कम्पनीले ‘पेट्रोल टेन्सन? अब जुपिटर सोलुसन’ भन्ने नारासहित अभियान ल्याएको हो । यस योजनाअन्तर्गत टीभीएस जुपीटर खरिद गर्दा ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा पाउनेछन् । कम्पनीका अनुसार उक्त स्कुटरले ६० किलोमिटर प्रतिलिटर (केएमपीएल) सम्मको परीक्षण गरिएको माइलेज दिने भएकाले दैनिक प्रयोगका लागि किफायती विकल्प बन्ने विश्वास लिइएको छ । यससँगै ग्राहकको सहज पहुँचका लागि मासिक किस्ता (इएमआई) सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत केवल २,८९९ रुपैयाँ प्रतिमहिनाबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । अभियानबारे जगदम्बा मोटर्सका दीपक रौनियारले भने, 'हामीले सधैं नेपाली ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो र किफायती मोबिलिटी समाधान ल्याउँदै आएका छौं । बढ्दो पेट्रोल खर्चका बीच जुपिटरले उत्कृष्ट माइलेज र सहज फाइनान्सिङमार्फत ग्राहकलाई राहत दिनेछ ।' टीभीएस जुपीटर बीएस–६ स्कुटर आधुनिक नेपाली परिवार, कार्यालय जाने यात्रु तथा दैनिक कम्युटरका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। यसको स्टाइलिस डिजाइन, आरामदायी राइडिङ अनुभव, किफायती माइलेज र लाइफटाइम वारेन्टी जस्ता सुविधाले यसलाई दैनिक प्रयोगका लागि भरपर्दो विकल्प बनाएको छ। यो अफर देशभर रहेका टीभीएसका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध रहने कम्पनीले जनाएको छ ।

म्यानपावर व्यवसायीलाई सरकारको चेतावनी, नवीकरण नभए खारेज गर्ने

काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्था दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण नगर्ने संस्थाहरूलाई समयमै प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो ।  विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्था, अनुमति प्राप्त संस्था, शाखा कार्यालय, अभिमुखीकरण तालिम प्रदायक संस्था, केयर गिभर तथा घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम दिने संस्था तथा कुनै विशेष देशका लागि सूचीकृत संस्थाहरूले तोकिएको अवधिभित्र अनिवार्य रूपमा इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण गर्नुपर्नेछ ।  वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेकाले त्यसको पालना गर्न विभागले निर्देशन दिएको हो ।  विभागका अनुसार तोकिएको समयभित्र नवीकरण नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागले यसपटक नवीकरण गर्दा आधारभूत कागजातका अतिरिक्त गुगल प्लस कोडसहितको अद्यावधिक गुगल म्याप, संस्थाका सबै सेयरधनी, सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण र सम्पर्क नम्बरसमेत निवेदनसँगै पेश गर्नुपर्ने व्यवस्था गरेकोछ ।

डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : पर्यटनमन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित ‘विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावतः आध्यात्मिक भूमि भएकाले यहाँका हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । ‘पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,’ उनले भने, ‘नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ।’ नेपाल पर्यटन बोर्ड, स्पा सङ्घ नेपाल तथा अन्य विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा आरोग्य पर्यटनको बढ्दो विश्वव्यापी सम्भावना, स्पा तथा प्राकृतिक उपचार पद्धतिको महत्त्व र यस क्षेत्रको व्यावसायिक विकासका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए । उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको बताए । ‘विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ,’ उनले भने, ‘नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।’ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीका कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए । उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता भएको उल्लेख गरे । स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले ‘विश्व आरोग्य दिवस’ सम्बन्धी प्रस्तुतीकरण गर्दै आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । उनले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गरे । अन्तर्राष्ट्रिय आरोग्य विज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको टिप्पणी गर्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताए । ‘कसैले आरोग्य भनेको के हो भनेर सोध्यो भने मेरो उत्तर हुन्छ-नेपाल नै आरोग्य हो,’ उनले भने । नेपालमा उपलब्ध प्राकृतिक र आध्यात्मिक सम्पदालाई आर्थिक अवसरसँग जोडेर विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न उनले आग्रह गरे । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा योगाचार्य प्रकाशद्वारा योग अभ्यास सत्र सञ्चालन गरिएको थियो । साथै ध्वनि उपचार सत्र तथा तनाव व्यवस्थापनसम्बन्धी सेल्फ–मसाजको डेमो प्रदर्शन गरिएको थियो । आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले जानकारी दिए । 

धारा, ढल, बिजुली, टेलिफोनका लागि सडक खन्न पूर्ण प्रतिबन्ध

काठमाडौं । वर्षायाममा सडक खन्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको हो ।  कार्यालयका अनुसार धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भएकाले वर्षायाममा यस्तो कार्यमा रोक लगाइएको हो । असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालय मातहतका सडक डिभिजन क्षेत्रभित्र कुनै पनि सडक खन्न स्वीकृति नदिने कार्यालयले जनाएको छ ।  यदि अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

ठमेलका व्यापारीसँग रकम असुल्ने सई गणेश भट्ट निलम्बनमा

काठमाडौं । सोर्‍हखुट्टे लैनचौर प्रहरी वृतमा कार्यरत एक जना प्रहरी अधिकृत निलम्बनमा परेका छन् । लैनचौर वृत्तमा कार्यरत प्रहरी नायव निरीक्षक (सई ) गणेश भट्टलाई निलम्बन गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार प्रहरी नायव निरीक्षक भट्टले पर्यटकीय क्षेत्र ठमेलका व्यापारीसँग रकम लिएका थिए । व्यापारीसँग रकम लिएको प्रमाण फेला परेपछि निलम्बन गरिएको उनले बताए ।  उनीमाथि अनुसन्धान भइरहेको थप प्रमाण भेटिएमा कारबाही गरिने भट्टराईको भनाइ छ ।  

‘साधु' को हत्या गरेको आरोपमा ‘साधु’ रानामगर पक्राउ

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा जोगी (साधु)को हत्या गरेको आरोपमा अर्का जोगी पक्राउ परेका छन् ।  दर्वेनाथ भनिने सुविन रानामगरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।  काठमाडौं महानगरपालिका- ८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार (जोगी) मृत अवस्थामा फेला परेका थिए ।  घटना अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनलाई महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-६ बाट पक्राउ गरेर प्रहरीले काठमाडौँ ल्याएको छ ।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

एलन मस्क बने विश्वकै पहिलो ट्रिलियनेयर

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलोन मस्क विश्वकै पहिलो ट्रिलियन डलर (एक हजार अर्ब डलर) सम्पत्तिका धनी बनेका छन् । उनको कम्पनी स्पेसएक्सको सेयर बजारमा ऐतिहासिक प्रवेश (आईपीओ) पछि मस्कको कुल सम्पत्ति १.११ ट्रिलियन डलर (११ खर्ब डलर) पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेसएक्सले अमेरिकी नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत हुँदै २.२ ट्रिलियन डलर मूल्यांकन हासिल गरेको छ । कम्पनीले प्रति सेयर १३५ डलर मूल्य निर्धारण गरे पनि कारोबार सुरु हुँदा मूल्य १५० डलर पुगेको थियो भने केही समयका लागि १७६.५० डलरसम्म उक्लिएको थियो । कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य करिब १६१ डलर कायम भएको थियो । कम्पनीको आईपीओमार्फत ७५ अर्ब डलर बराबरको लगानी संकलन भएको छ । मस्कको स्पेसएक्समा ४२ प्रतिशत स्वामित्व रहेको छ, जसका कारण कम्पनीका निर्णयहरूमा उनको प्रभाव अत्यधिक रहेको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार मस्कको स्पेसएक्समा रहेको सेयरको मूल्य मात्रै ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ । यसबाहेक टेस्लामा रहेको उनको सेयरको मूल्य पनि सयौं अर्ब डलर रहेको छ । स्पेसएक्सको आईपीओपछि मस्कको सम्पत्ति पोल्याण्ड वा स्विट्जरल्याण्डजस्ता देशहरूको वार्षिक अर्थतन्त्रको आकार बराबर पुगेको भन्दै विश्वभर धन असमानतामाथि बहस सुरु भएको छ । अमेरिकी राजनीतिज्ञहरू तथा आर्थिक विश्लेषकहरूले अत्यधिक सम्पत्ति केही व्यक्तिमा केन्द्रित हुनु चिन्ताको विषय भएको टिप्पणी गरेका छन् । यद्यपि मस्कको अधिकांश सम्पत्ति कम्पनीहरूको सेयर मूल्यमा आधारित भएकाले यो ‘कागजी सम्पत्ति’ भएको र तत्काल नगदमा रूपान्तरण गर्न नसकिने विश्लेषकहरूको भनाइ छ । आईपीओपछिको नियमअनुसार उनले कम्तीमा एक वर्षसम्म स्पेसएक्सको सेयर बिक्री गर्न पाउने छैनन् । हाल स्पेसएक्स नाफामा नरहेको कम्पनी हो । कम्पनीले रकेट, स्टारलिङ्क इन्टरनेट स्याटेलाइट र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा ठूलो लगानी गरिरहेकाले सन् २०२५ र २०२६ मा मात्रै ९ अर्ब डलरभन्दा बढी घाटा व्यहोरेको विवरण सार्वजनिक भएको छ । कम्पनीले भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म मानव तथा सामग्री ढुवानी गर्ने ‘लुनार इकोनोमी’ निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । तर यस्तो योजना व्यावसायिक रूपमा सफल हुन्छ वा हुँदैन भन्ने विषयमा कम्पनी आफैंले अनिश्चितता रहेको स्वीकार गरेको छ ।