गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
काठमाडौं । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ । काठमाडौं महानगरपालिका–९ अन्तर्गत सञ्चालन गरिएको उक्त अभियान सोमबार रातिसम्म निरन्तर जारी राखी ठूला संरचना हटाउने कार्य सम्पन्न गरिएको महानगरले जनाएको छ । यसअघि शनिबार र आइतबार रातिसम्म सञ्चालन गरिएको भत्काउने कार्य अपूर्ण रहेपछि सोमबार दिउँसोदेखि पुनः अभियान तीव्र पारिएको थियो । गैरीगाउँमा मात्रै स्थायी प्रकृतिका ठूला घरको सङ्ख्या बढी भएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले बताए । उनले भने, 'दिउँसोदेखि सुरु गरिएको अभियान रातिसम्म निरन्तर चलाइयो र सबै ठूला संरचना हटाउन सफल भयौँ ।' उक्त अभियानमा दुईवटा ठूला डोजर तथा अन्य हेभी मेसिन प्रयोग गरिएको थियो । लामो समयदेखि नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारले दिर्नेशन दिएसँगै महानगरले कडाइका साथ कदम अघि बढाएको हो । गैरीगाउँ क्षेत्रमा दर्जनौँ ठूला स्थायी घर निर्माण गरिएकाले उक्त क्षेत्र अतिक्रमणको मुख्य केन्द्रका रूपमा चिनिँदै आएको थियो । भत्किएका घरका छड, इँटा, ढुङ्गा तथा सिसालगायत सामग्री हटाउन अझै केही दिन लाग्ने महानगर प्रहरी बलले जनाइएको छ । स्थानीय बासिन्दाले भने भत्काइएका सामग्री तत्काल व्यवस्थापन नगर्दा आवतजावतमा समस्या उत्पन्न भएको बताएका छन् । घर भत्काउँदा सडक तथा गल्लीहरूमा छरिएका निर्माण सामग्रीका कारण पैदलयात्री तथा सवारीसाधनलाई आवागमनमा कठिनाइ भइरहेको स्थानीय मङ्गल थापाले बताए । 'घर टहरा सबै भत्काइए पनि जताततै छरिएका सामग्रीले जोखिम बढाएको छ, यसलाई छिट्टै हटाउनुपर्छ', उनले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार उपत्यकाका विभिन्न अतिक्रमित क्षेत्रहरूमा ठूलो सङ्ख्यामा सुकुम्वासी घरपरिवार बसोबास गर्दै आएका थिए । शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरपरिवार रहेको तथ्याङ्कले देखाएको छ । महानगरले सार्वजनिक जग्गा संरक्षण, नदी किनारको व्यवस्थापन तथा सहरी सौन्दर्यकरणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै विस्थापित भएका परिवारको व्यवस्थापन र पुनःस्थापनाका विषयमा सङ्घीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि महानगरले स्पष्ट पारेको छ । महानगरले आगामी दिनमा यस्ता अतिक्रमण दोहोरिन नदिन कडा अनुगमन तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । रासस
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जानकी । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिएकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको बताइन् । 'म आज काठमाडौंबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ', उनले भनिन् । नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए । उनले भने, 'करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।' नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।
टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ सुरु
काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो । यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ । सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ । प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन गरेर सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले समेत ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ । यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गरिएको छ । 'डान्स इन्डिया डान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् । प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् । प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् । नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ । अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट 'प्याराडाइम टिभी' मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको 'वर्ल्ड अफ डान्स' अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।
सुदूरपश्चिम प्रदेशको इन्चार्ज नसम्हाल्ने भीम रावलको घोषणा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा आफूलाई परामर्शबिना तोकिएको भन्दै असन्तुष्टि जनाएका छन् । रावलले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै पार्टीले गरेको कार्यविभाजनप्रति असहमति व्यक्त गरेका हुन् । उनले आफूलाई सो जिम्मेवारी दिँदा पूर्वपरामर्श नगरिएको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। पार्टीले अधिकांश प्रदेशमा युवापुस्तालाई इन्चार्जको जिम्मेवारी दिएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा भने पुरानो पुस्तालाई जिम्मेवारी दिनु उपयुक्त नभएको उनको भनाइ छ । ‘सबैजसो प्रदेशमा युवापुस्तालाई इन्चार्ज बनाइएको छ, तर सुदूरपश्चिममा बुढा पुस्तालाई जिम्मेवारी दिनु मिल्दैन,’ रावलले लेखेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा पनि युवा नेताहरूलाई नै नेतृत्वदायी भूमिकामा अघि सार्नु उचित हुने धारणा राखेका छन् । नेकपाले पछिल्लो समय संगठन सुदृढीकरण र कार्यविभाजनलाई तीव्रता दिँदै विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरिरहेको छ । तर कार्यविभाजनकै विषयमा शीर्ष नेताबीच असन्तुष्टि देखिन थालेको संकेत रावलको प्रतिक्रियाले दिएको छ ।
करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २७७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । पाल्पाको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पििनिङको ३४ करोड, करपोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बैंकले ‘खातावाला’ खोजेपछि ‘मृत दिदीको कंकाल’ बोकेर बैंक पुगे भाइ
काठमाडौं । भारतको ओडिशा राज्यका एक व्यक्तिले आफ्नी मृत दिदीको कंकाल बोकेर बैंकमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती व्यक्तिले आफ्नी दिदीको नाममा बैंकमा जम्मा भएको पैसा निकाल्ने प्रयासको क्रममा कंकाल नै बोकेर पुगेका हुन् । यो घटना ओडिशाको केओनझर जिल्लाको पतना ब्लकमा रहेको ओडिशा ग्रामीण बैंकको मलिपोसी शाखामा भएको हो । ५० वर्षीय जीतु मुन्डा भनेर चिनिएका ती व्यक्तिले प्रहरीलाई बताएअनुसार बैंकका व्यवस्थापकहरूले खातावालालाई आफूसँगै ल्याउन भनेपछि उनले यस्तो कदम चालेका हुन् । ती आदिवासी व्यक्तिले आफ्नी जेठी दिदी कलरा मुन्डाको बैंक खाताबाट २० हजार रुपैयाँ निकाल्न खोजिरहेका थिए । कलरा मुन्डाको जनवरी २६ मा मृत्यु भएको थियो । ‘म धेरैपटक बैंक धाएँ, त्यहाँका मानिसहरूले पैसा निकाल्न खातावालालाई ल्याउनुस् भने । मैले उनको मृत्यु भइसकेको बताए पनि उनीहरूले सुनेनन् र उनलाई बैंकमै ल्याउन जोड दिए । त्यसैले मैले चिहान खनी उनको कंकाल निकालेर मृत्यु भएको प्रमाणका रूपमा ल्याएँ,’ मुन्डाले सञ्चारकर्मीलाई बताए । पतना प्रहरी चौकीका इन्चार्ज निरीक्षक किरण प्रसाद साहुले भने बैंकले जीतुलाई पैसा निकाल्ने सही प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको बताए । ‘जीतु एक अशिक्षित आदिवासी व्यक्ति हुन् । उनलाई ‘कानुनी उत्तराधिकारी’ वा ‘नोमिनी’ के हो भन्ने थाहा छैन । बैंकका कर्मचारीहरूले मृत व्यक्तिको खाताबाट पैसा कसरी निकाल्ने भन्ने प्रक्रिया उनलाई बुझाउन असफल भएका छन्,’ साहुले समाचार एजेन्सी पीटीआईसँग भने । यता स्थानीय ब्लक विकास अधिकृत (बीडीओ) मानस दण्डपाटले भने आफूले पहिलोपटक यो घटनाबारे सुनेको बताए । ‘आज मात्रै मैले यो विषयमा थाहा पाएँ । समस्या समाधानका लागि के गर्न सकिन्छ हेर्नेछौं,’ बीडीओले पीटीआईसँग भने । घटनापछि प्रहरी अधिकारीहरू हस्तक्षेपमा उत्रिएका छन् र उक्त आदिवासी व्यक्तिलाई उनकी मृत दिदीको खाताबाट पैसा निकाल्न सहयोग गर्ने आश्वासन दिएका छन् । कंकाल अवशेषहरू प्रहरीको निगरानीमा पुनः चिहानमै गाडिएको छ ।
राष्ट्र बैंकमा ‘टिम १७’ को २० वर्षे यात्रा
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले केन्द्रीय बैंकमा २० वर्षे सेवा अवधि पूरा गर्नु केवल समयको यात्रा नभई अनुभव, सिकाइ र जिम्मेवारीले भरिएको गौरवपूर्ण अध्याय भएको बताएका छन् । वि.सं २०६२ माघ २ गते सहायक निर्देशक तहमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको ‘टिम १७’ का सदस्यहरूले दुई दशकको सेवा पूरा गर्दै दीर्घ सेवा पदक ग्रहण गरेका हुन् । दीर्घ सेवा पदक प्राप्तपछि बोल्दै कार्यकारी निर्देशक रावलले प्रारम्भिक उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प अझै कायम रहेको बताए । उनले यस अवधिमा बैंकिङ क्षेत्रमा महत्वपूर्ण परिवर्तनहरू आएको उल्लेख गर्दै मौद्रिक नीति, वित्तीय क्षेत्र सुधार, डिजिटल भुक्तानी प्रणाली र नियामकीय संरचनामा व्यापक विकास भएको बताए । ‘कागजमा आधारित प्रणालीबाट पूर्ण डिजिटल क्लियरिङसम्मको यात्रा ऐतिहासिक उपलब्धि हो,’ उनले भने । रावलले दुई दशकको अवधिमा राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, भूकम्प र कोभिड-१९ महामारीजस्ता चुनौतीहरू सामना गर्दै संस्थागत स्थायित्व कायम राख्न योगदान दिएको बताए । राष्ट्र बैंकले ७१औँ वार्षिकोत्सवको अवसरमा १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो । राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु डा. सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो । यस्तै, निर्देशकहरुमा सुदिप फुयाल, निभा श्रेष्ठ, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरे । यस्तो छ ईडी रावलको धारणा हामी १७ जना खुला प्रतिस्पर्धाबाट छनोट भई नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक तहमा २०६२ माघ २ गते प्रवेश गरेका थियौँ । त्यो समयको उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प आज पनि ताजै रहेको छ । बैंक सेवामा प्रवेश गर्दा १७ जनामध्ये एकजना सहकर्मी बाहिरिनु भएता पनि, दीर्घसेवा पदक ग्रहण गर्न डा. राजनकृष्ण पन्तसहित पुनः १७ जना नै पुग्नु मिठो संयोग बनेको छ । आज दुई दशकको यात्रालाई फर्केर हेर्दा यो केवल समयको गणना मात्र होइन । यो अनुभव, सिकाइ, चुनौती र उपलब्धिहरूले भरिएको पेशागत जीवनको एक महत्वपूर्ण र गौरवपूर्ण अध्याय भएको महसुस गरेका छौँ । यी वर्षहरूमा हामीले प्राप्त गरेको जिम्मेवारी र वृत्ति विकासका अवसरहरूले हामीलाई एक जिम्मेवार नागरिक, अनुभवी बैंकर र परिपक्व व्यक्तित्वका रूपमा विकास गर्ने अवसर प्रदान गरेका छन् । केन्द्रीय बैंकजस्तो प्रतिष्ठित संस्थामा सेवा गर्नु सम्मानको विषय मात्र नभई महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर पनि हो । यो संस्था नेपालको वित्तीय नियामक मात्र नभई देशको आर्थिक स्थायित्वको आधारस्तम्भ र जनविश्वासको केन्द्र पनि हो । यस्तो संस्थाको सदस्य हुनु हामी सबैका लागि गर्वको विषय हो । यस अवधिमा हामीले विभिन्न चुनौतीपूर्ण क्षेत्रहरूमा कार्य गर्ने अवसर पायौँ । विभिन्न विभागहरूमा विविध जिम्मेवारी वहन गर्दै बहुआयामिक र महत्वपूर्ण अनुभवहरू संकलन गर्ने अवसर प्राप्त गरेका छौँ । वृत्ति विकासका विभिन्न चरण पार गर्दै आज हाम्रो ब्याचमेट डेपुटी गभर्नर (किरण पण्डित)को उच्च जिम्मेवारी सम्हाल्ने तहमा पुग्नु भएको छ । सेवामा प्रवेश गरेदेखि यी दुई दशकको अवधिमा हामीले विभिन्न राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, विनाशकारी भूकम्प तथा विश्वव्यापी महामारीजस्ता घटनाहरूका अनेकौँ आरोह-अवरोह अनुभव गर्यौँ । कठिन परिस्थितिमा समेत सहकर्मीहरूसँग हातेमालो गर्दै चुनौतीहरूको सामना गर्यौँ । नेतृत्वसँग सहकार्य गर्दै संस्थागत लक्ष्य हासिल गर्न प्रयास गर्यौँ र नयाँ पुस्तालाई उत्प्रेरित गर्यौँ । आन्तरिक तथा बाह्य स्थायित्व कायम राख्ने दिशामा निरन्तर सक्रिय रहँदै सरकारका आर्थिक तथा सामाजिक लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने प्रयास गर्यौँ। सहभागितामूलक व्यवस्थापनमार्फत सेवाको गुणस्तर सुधार गर्न निरन्तर पहल गर्यौँ । आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय केन्द्रीय बैंक निर्माणमा आफूलाई पूर्ण रूपमा समर्पित गर्दै इमान्दारिता, पारदर्शिता र व्यवसायिकतालाई कार्यसंस्कृतिको मूल आधार बनायौँ । मौद्रिक नीतिको तर्जुमा तथा कार्यान्वयन, वित्तीय क्षेत्रसम्बन्धी नीति निर्माण तथा सुधार, बाह्य क्षेत्रको स्थायित्व कायम गर्न हामी निरन्तर प्रयासरत रह्यौँ । भुक्तानी प्रणालीलाई थप सुरक्षित बनाउँदै ‘लेस क्यास’ हुँदै ‘क्यासलेस’तर्फ उन्मुख गराउन अहोरात्र खटियौँ । कठिन परिस्थितिमा पनि वित्तीय प्रणालीलाई सुरक्षित राख्दै प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको कार्यभार वहन गर्ने अवसर पायौँ । नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकासहित केन्द्रीय बैंकको नीतिगत भूमिका अझ प्रभावकारी बनाउने विषयमा हामी चिन्तनशील रह्यौँ र सहकर्मीहरूसँग कैयौँ पटक बौद्धिक विमर्श गर्यौँ । यस यात्राले हामीलाई चुनौतीसँग जुध्न, परिवर्तनसँग अनुकूल हुन र संस्थाको हितलाई सर्वोपरि राख्न अभिप्रेरित गरेको छ । कार्यालय समयअघिपछिको ऊर्जाशील समयमा यिनै विषयमा सामूहिक छलफल गर्न हामी टिम १७ का साथीहरू केन्द्रित हुने गरेका छौँ । यस प्रकारको अन्तरक्रियाले नीतिगत स्पष्टता हासिल गर्न सहयोग पुर्याएको छ । यस अवधिमा मौद्रिक नीतिको अपरेटिङ फ्रेमवर्कमा धेरै परिवर्तन भएका छन् । कार्यान्वयनमा नयाँ उपकरणहरूको विकास भएको छ । वित्तीय क्षेत्रमा घरजग्गा कर्जा, सेयर कर्जा, चालुपुँजी कर्जा, परियोजना कर्जालगायत क्षेत्रमा नीतिगत स्पष्टता र सुधारका प्रयासहरू भएका छन् । बासेल मापदण्डजस्ता अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बन, ग्रीन फाइनान्स ट्याक्सोनोमी निर्माण तथा सुपरभाइजरी इन्फर्मेसन सिस्टमको विकास भएको छ । कारोबारहरू क्रमशः डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएका छन् । कागजमा आधारित चेक क्लियरिङबाट पूर्णतः कागजरहित प्रणाली कार्यान्वयनमा आएको छ । भुक्तानी प्रणालीको आधुनिकीकरण तथा एएमएल/सीएफटीसम्बन्धी व्यवस्थाहरूको सुदृढीकरण हुँदै गएको छ । भुक्तानी तथा सेटलमेन्ट प्रणालीलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने प्रयाससँगै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग पनि महत्वपूर्ण बन्दै गएको छ । नेपाल राष्ट्र बैंक र यससँग सरोकार राख्ने यी सबैजसो उपलब्धि र प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी हुन पाउनु हाम्रो लागि गौरवको विषय बनेको छ । कठिन परिस्थितिमा वित्तीय प्रणालीलाई सुरक्षित राख्न गरिएका अथक प्रयासहरू तथा प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको साक्षी बन्न पाउनु हाम्रो अहोभाग्य हो । वास्तवमा, संस्थागत मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै आफ्नो जिम्मेवारी पूरा गर्दा प्राप्त हुने आत्मसन्तुष्टि कुनै पनि भौतिक पुरस्कारभन्दा कैयौँ गुणा ठूलो हुने रहेछ । यस यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । केन्द्रीय बैंकमा कार्य गर्नु भनेको केवल तथ्यांक विश्लेषण वा नीति निर्माण मात्र होइन, करोडौँ निक्षेपकर्ताहरूको विश्वासलाई सुरक्षित राख्ने दायित्व पनि हो । साथै, देशको आर्थिक समृद्धिका लागि वित्तीय स्थायित्व र विश्वसनीयता कायम राख्ने जिम्मेवारी पनि हो । आजको वित्तीय स्थायित्व भोलिको दिगो अर्थतन्त्रको आधार हो । २० वर्षे यात्रामा हामीले सिकेको यो महत्वपूर्ण पाठ हो । राष्ट्र बैंकको नेतृत्वले हामीलाई विश्वासका साथ जिम्मेवारी प्रदान गर्दै निरन्तर मार्गदर्शन गर्नु भएको छ । साथै, हाम्रा सहकर्मीहरूबाट प्राप्त अनुभव र मार्गदर्शनले हाम्रो व्यावसायिक यात्रालाई अझ समृद्ध बनाएको छ । उहाँहरूको परिश्रम, निष्ठा र समर्पणले नेपाल राष्ट्र बैंक आज एक प्रतिष्ठित तथा विश्वसनीय संस्थाका रूपमा स्थापित भएको छ । हामीलाई गर्व छ कि हामीले यस्तो गरिमामय एवं विशिष्ट संस्थामा सेवा गर्ने अवसर पाएका छौँ । सेवा प्रवाहमा होस् वा सुशासन प्रवद्र्धनमा, आधुनिकीकरणमा होस् वा जवाफदेहितामा हामी उहाँहरूले स्थापित गरेका मापदण्डलाई कायम राख्दै थप उचाइ हासिल गर्न सदैव प्रतिबद्ध रहनेछौँ । बाँकी सेवा अवधिमा पनि हामी आफ्नो अनुभव, ज्ञान र सीपलाई संस्थाको हितमा उपयोग गर्दै नयाँ पुस्ताका सहकर्मीहरूलाई ज्ञान र अनुभव हस्तान्तरण गर्न प्रतिबद्ध रहनेछौँ । संस्थाको गौरवपूर्ण परम्परालाई अझ सुदृढ बनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी योगदान गर्ने हाम्रो दृढ संकल्प रहेको छ । हामी जुनसुकै पद वा भूमिकामा रहे पनि यस संस्थाको साख तथा गरिमालाई अझ उचो बनाउन विगतमा झैँ आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न प्रयत्नरत रहनेछौँ। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, सुशासन र जवाफदेहिताको उच्चतम अभ्यास गर्न कटिबद्ध रहनेछौँ । मेरा सहकर्मी मित्रहरूको सहयोग, सहकार्य र आत्मीयताले कठिन कार्यहरू पनि सहज बने । संस्थागत सफलता वास्तवमा सामूहिक प्रयास, समन्वय र सहकार्यको परिणाम हो । आधुनिक केन्द्रीय बैंकको अवधारणा तथा यसको सञ्चालन स्वायत्तताको सम्मान गर्दै आएकोमा नेपाल सरकारप्रति पनि कृतज्ञता छ । यसैगरी, वित्तीय क्षेत्रका अन्य नियामक निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू र निजी क्षेत्रको निरन्तर सहयोग र सहकार्यले देशको आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यस अवसरमा हामी हाम्रो परिवारप्रति पनि विशेष कृतज्ञ छौं । परिवारको त्याग, धैर्य र समर्थन बिना हाम्रो यो यात्रा सम्भव हुने थिएन । आज प्राप्त यो सम्मान केवल विगतको मूल्यांकन मात्र नभई भविष्यका लागि प्रेरणा र थप जिम्मेवारीको संकेत पनि हो। यसले हामीलाई अझ उत्कृष्ट कार्य सम्पादन गर्न उत्प्रेरित गर्ने विश्वास छ । हामी सबैको सामूहिक प्रयासले आगामी दिनमा नेपाल राष्ट्र बैंकलाई थप आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा अघि बढाउन सकियोस् ।
सिप्रदी अटोपार्ट्सको ‘सक्कली टाटा जेन्युन पार्ट्स’ अभियान सुरु
काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी–पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स प्रयोग गरौं’ भन्ने देशव्यापी सचेतना अभियान सुरु गरेको छ । गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडीधनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो । अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू, विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र तथा यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन् । ‘सक्कली टाटा जेन्युन पार्ट्स यसरी चिन्नुहोस्’ भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएर सक्कली पार्ट्सको महत्त्वबारे जानकारी दिइरहेको छ । बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छ । पहिलो, टाटा जेन्युन पार्ट्स र टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन । दोस्रो, सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने ‘कन्ट्री कोड’ राखिएको हुन्छ । तेस्रो, पार्ट्स वा फ्लुइड्सको बट्टामा ‘सिप्रदी अटोपार्ट्स’ को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ, जसलाई हेरेर मात्र खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । प्राविधिकहरूका अनुसार नक्कली पार्ट्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो परे पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ । सक्कली पार्ट्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । सरकारले सीमामा गरेको कडाइले नक्कली पार्ट्सको व्यापार निरुत्साहित भइरहेको अवस्थामा मुख्य सहरहरूबाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट जोगाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । सिप्रदी अटोपार्ट्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा आफ्नै नेटवर्कमार्फत मात्र टाटाका जेन्युन पार्ट्स खरिद गर्न अनुरोध गरेको छ ।