५२० किमी रेन्जसहितको जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी नेपालमा आउँदै
काठमाडौं । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा र अत्याधुनिक प्रविधिसहित प्रवेश गर्ने तयारी गरेको छ । विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल कम्पनीले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेकाे छ । यद्यपि, कम्पनीले उक्त मोडलको औपचारिक घोषणा गरिसकेको छैन, प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढेको छ । कम्पनीअनुसार, उक्त नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, उन्नत कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र विशिष्ट लाइटिङ सिग्नेचरले यसलाई सडकमा फरक पहिचान दिने विश्वास गरिएको छ । विशेषगरी, गाडीको बाहिरी सतहमा बहु–तह सुरक्षात्मक प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वतः पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा छ, जसले गाडीको सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ र यही अनुभव तथा प्रविधिको संयोजन नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधार विस्तार र वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच कम्पनीको नयाँ मोडललाई बजारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।
रविलाई मोदीले भने- नेपालसँगको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन भारत उत्सुक छ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरे । प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण सहमति रहेको उल्लेख गरेका छन् । पोस्टमा प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको मुख्य र प्राथमिकताको साझेदार रहेको प्रस्ट पारेका छन् । दुई देशबीचको ऐतिहासिक, विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको सन्देश उनले दिएका छन् । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘हाम्रा दुई देशबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन हामी नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक छौं ।’ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सभापति लामिछाने भारत पुगेका हुन् । उनले हिजो भारतीय विदेशमन्त्री एस जयशङ्कर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । मंगलबार बिहान सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए । सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
भन्सारमा १०० मूल्य बढीका वस्तुमा कर लाग्ने व्यवस्था हट्यो
काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुहरूका लागि साथमा ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानको भन्सार छुटको सीमामा बढाएको छ । विगत लामो समयदेखि कायम रहेको १ सय रूपैयाँको झन्झटिलो सीमालाई पाँच गुणाले बढाएर ५०० रुपैयाँ पु¥याइएको छ । यस नयाँ व्यवस्थाबाट सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा दैनिक ओहोरदोहोर गर्ने आम यात्रुहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ । सरकारले भन्सार ऐन, २०८२ को दफा २० को उपदफा (१) तथा भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको नयाँ नियमावली अनुसार यो व्यवस्था गरेको हो । राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् । यसअघि १०० रुपैयाँभन्दा बढी मूल्यका सानातिना घरायसी वस्तुमा समेत भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको सीमावर्ती क्षेत्रका बासिन्दा र सर्वसाधारणबाट चर्को विरोध हुँदै आएको थियो । राजपत्रको दफा ५ को उपदफा (१) बमोजिम स्थलमार्गबाट ओहोरदोहोर गर्ने व्यक्तिले अन्य ठूला हवाई यात्रु सरहका विशेष सुविधाहरू नपाए पनि घरायसी तथा व्यक्तिगत प्रयोजनका साना सामानमा राहत पाउने भएका छन् । यस्तै, सरकारले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको हित र डिजिटल सिकाईलाई ध्यानमा राख्दै नयाँ शैक्षिक सहुलियत समेत घोषणा गरेको छ । राजपत्रको दफा ५ को उपदफा (२) मा गरिएको विशेष व्यवस्था अनुसार भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले आफ्नो साथमा लगेको वा नेपाल ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नु पर्ने छैन । यो निर्णयले प्रविधिको पहुँच बढाउन विद्यार्थी वर्गमा ठूलो उत्साह थपेको छ । राजपत्रको सूचनामा स्पष्ट व्यवस्था गरिए अनुसार कुनै पनि यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाई–छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा तोकिएको सीमा भन्दा बढी सामान अवैध रूपमा ओसारपसार गरेमा त्यस्ता वस्तुहरू जफत गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ ।
प्रधानमन्त्रीले सदनबाट देशद्रोही कुरा बोल्दै कूटनीतिक मर्यादा उल्लंघन गरे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्टमबाट राष्ट्रहितविपरीत र ‘देशद्रोही’ प्रकृतिका अभिव्यक्ति दिएको आरोप लगाएका छन् । बुधबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री शाहले संसद्मा दिएको भनाइ असत्य, झूटो र राष्ट्रहितविपरीत रहेको दाबी गरे । उनले यस्ता अभिव्यक्ति सदनको मर्यादाभित्र बस्न नसक्ने टिप्पणी गरे । ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नु हुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो ? त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।’ उनले देशद्रोही भनिएका अभिव्यक्तिहरूलाई कतिपयले समर्थन गरेको देख्दा आफू आश्चर्यचकित भएको पनि बताए । सीमासम्बन्धी विषयमा दुई देशबीच मात्रै समाधान खोजिनुपर्ने र तेस्रो पक्षको संलग्नता उपयुक्त नहुने उनको धारणा थियो । ओलीले कूटनीतिक प्रक्रिया र परम्पराको उल्लङ्घन भएको भन्दै यस्तो संवेदनशील विषयमा सावधानीपूर्वक प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले भने, ‘हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौं । तेस्रो पक्ष सहभागी गराउँदैनौं । प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईँको घरको सम्पत्ति होइन, यो तपाईँ जन्मिनुभन्दा धेरै अगाडिको देश हो ।’ कार्यक्रममा उनले राष्ट्रिय हित, कूटनीतिक मर्यादा र संसद्को गरिमा कायम राख्न सबै राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताए ।
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित
काठमाडौं । संघीय संसद कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरवारमा बसेको समितिको बैठक दफावार छलफल गरी सो कार्यविधि सर्वसम्मति पारित गरिएको हो । समितिका सदस्यहरूले सुझावहरूलाई समेत समेटिएर उक्त कार्यविधि पारित गरिएको समितिकी सभापति समीक्षा बास्कोटाले बताइन् । उनले उक्त कार्यविधिमा प्रतिनिधि सभा नियमावली गरिएको नयाँ व्यवस्थाहरू पनि समावेश गरिएको उनले जानकारी दिइन् । सभापति बास्कोटाले भनिन्, ‘समितिको कार्यविधि मस्यौदा कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३ माननीय सदस्यहरुबाट प्राप्त भएको सम्पूर्ण सुझावहरुलाई समावेश गरेर सर्वसम्मतिले पारित गरिएको घोषणा गर्दछु । यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौं ।’ बैठकमा सांसदहरूले संवैधानिक आयोगका प्रतिवेदनहरू कार्यान्वयनका लागि सरकारलाई दवाव दिनुपर्नेमा जोड दिएका थिए ।
सम्पत्ति विवरण भर्दिनँ, बयान दिँदैनँ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई सम्पत्ति विवरण नदिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ, सम्पत्ति विवरण भरेर पठाउँदिनँ । जे–जे गर्न सक्छ, गरोस्,’ ओलीले भने । विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने उनको भनाइ छ । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ उनले आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि बताएका हुन् । यस्तै, उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाएका छन् । ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ ओलीले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा । त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ ।’ उनले बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको टिप्पणी पनि गरे । ओलीले चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन् । ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ भनेका छन् । ‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरु पार्टीहरुले साँच्चिकै चुनाव हुन्छ ठाने ।’
चुनाव तमासा र नाटक थियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई 'तमासा र नाटक'को संज्ञा दिएका छन् । उनले उक्त निर्वाचन पूर्वनिर्धारित परिणामका आधारमा सञ्चालन गरिएको दाबी गर्दै त्यसको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको नतिजा पहिल्यै तय गरिएकाले त्यसलाई वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन भन्न नसकिने बताए । उनले निर्वाचन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै त्यसका बाबजुद एमालेले लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्दै निर्वाचनको परिणाम स्वीकार गरेको स्पष्ट पारे । 'हामी लोकतान्त्रिक शक्ति भएकाले निर्वाचनमा सहभागी भयौँ र त्यसको परिणाम पनि स्वीकार गर्यौं,' ओलीले भने । अध्यक्ष ओलीले निर्वाचन गराउने गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति पनि असन्तुष्टि जनाउँदै उक्त आयोगलाई 'नक्कली आयोग'को संज्ञा दिए । उनले आयोगले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्न नसकेको आरोप लगाए । ओलीको भनाइले निर्वाचन प्रक्रियाको पारदर्शिता, निष्पक्षता तथा त्यसमा संलग्न निकायहरूको भूमिकाबारे पुनः बहस सिर्जना गरेको छ । तर, उनले उठाएका आरोपबारे आयोग वा सम्बन्धित पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
आगोले जल्ने शक्ति होइन एमाले, नयाँ जोसका साथ अघि बढ्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त आन्दोलनलाई कमजोर बनाउन खोज्ने शक्तिहरूलाई परास्त गर्दै एमालेलाई अझ सुदृढ संगठनका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान परिस्थितिबारे गम्भीर समीक्षा गर्दै एमाले नयाँ ऊर्जा र विश्वासका साथ अगाडि बढ्ने बताएका हुन् । उनले कार्यशालामा हुने छलफलले पार्टीभित्र नयाँ उत्साह, आत्मविश्वास र संगठनात्मक जागरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । पार्टीले भोगेका चुनौती र कमजोरीहरूको आत्मसमीक्षा गर्दै जनतामाझ थप मजबुत रूपमा प्रस्तुत हुने उनको भनाइ थियो । ओलीले एमालेलाई समाप्त पार्ने उद्देश्यले विभिन्न प्रयासहरू भए पनि ती प्रयास असफल भएको दाबी गरे । 'आगो लगाउनेहरूले आगोले ध्वस्त पार्ने प्रयास गरे, तर एमाले आगोले जल्ने शक्ति होइन,' उनले भने । भदौ २३ को घटनालाई स्मरण गर्दै ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउने, बदनाम गर्ने र देशभक्त आन्दोलनलाई धक्का दिने नियतका कारण त्यस्ता घटनाहरू घटाइएको दाबी गरे । उनले यस्ता प्रयासहरूका बाबजुद एमाले आफ्नो विचार, संगठन र जनाधारका बलमा अघि बढिरहेको बताए । अध्यक्ष ओलीले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै आत्मसमीक्षा, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमार्फत एमालेले नयाँ ढङ्गले आफूलाई स्थापित गर्ने दाबी गरे । उनका अनुसार अहिलेको राष्ट्रिय कार्यशाला केवल सदस्यता नवीकरणको कार्यक्रम नभई पार्टीलाई पुनः ऊर्जावान बनाउने अभियानको महत्वपूर्ण कडी हो । 'हामी समीक्षा गर्छौँ, कमजोरी सच्याउँछौँ र अझ बलियो भएर जनतामाझ फर्किन्छौँ,' ओलीले भने, 'यो छलफलले एमालेमा नयाँ विश्वास र नयाँ जोस सिर्जना गर्नेछ ।'