भन्सारमा १०० मूल्य बढीका वस्तुमा कर लाग्ने व्यवस्था हट्यो

यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुहरूका लागि साथमा ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानको भन्सार छुटको सीमामा बढाएको छ । विगत लामो समयदेखि कायम रहेको १ सय रूपैयाँको झन्झटिलो सीमालाई पाँच गुणाले बढाएर ५०० रुपैयाँ पु¥याइएको छ । यस नयाँ व्यवस्थाबाट सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा दैनिक ओहोरदोहोर गर्ने आम यात्रुहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।

सरकारले भन्सार ऐन, २०८२ को दफा २० को उपदफा (१) तथा भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको नयाँ नियमावली अनुसार यो व्यवस्था गरेको हो । 

राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् । 

यसअघि १०० रुपैयाँभन्दा बढी मूल्यका सानातिना घरायसी वस्तुमा समेत भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको सीमावर्ती क्षेत्रका बासिन्दा र सर्वसाधारणबाट चर्को विरोध हुँदै आएको थियो । राजपत्रको दफा ५ को उपदफा (१) बमोजिम स्थलमार्गबाट ओहोरदोहोर गर्ने व्यक्तिले अन्य ठूला हवाई यात्रु सरहका विशेष सुविधाहरू नपाए पनि घरायसी तथा व्यक्तिगत प्रयोजनका साना सामानमा राहत पाउने भएका छन् । 

यस्तै, सरकारले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको हित र डिजिटल सिकाईलाई ध्यानमा राख्दै नयाँ शैक्षिक सहुलियत समेत घोषणा गरेको छ । राजपत्रको दफा ५ को उपदफा (२) मा गरिएको विशेष व्यवस्था अनुसार भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले आफ्नो साथमा लगेको वा नेपाल ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नु पर्ने छैन । यो निर्णयले प्रविधिको पहुँच बढाउन विद्यार्थी वर्गमा ठूलो उत्साह थपेको छ ।

राजपत्रको सूचनामा स्पष्ट व्यवस्था गरिए अनुसार कुनै पनि यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाई–छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा तोकिएको सीमा भन्दा बढी सामान अवैध रूपमा ओसारपसार गरेमा त्यस्ता वस्तुहरू जफत गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ । 
 

Share News