काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई 'तमासा र नाटक'को संज्ञा दिएका छन् । उनले उक्त निर्वाचन पूर्वनिर्धारित परिणामका आधारमा सञ्चालन गरिएको दाबी गर्दै त्यसको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको नतिजा पहिल्यै तय गरिएकाले त्यसलाई वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन भन्न नसकिने बताए । उनले निर्वाचन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै त्यसका बाबजुद एमालेले लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्दै निर्वाचनको परिणाम स्वीकार गरेको स्पष्ट पारे ।
'हामी लोकतान्त्रिक शक्ति भएकाले निर्वाचनमा सहभागी भयौँ र त्यसको परिणाम पनि स्वीकार गर्यौं,' ओलीले भने ।
अध्यक्ष ओलीले निर्वाचन गराउने गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति पनि असन्तुष्टि जनाउँदै उक्त आयोगलाई 'नक्कली आयोग'को संज्ञा दिए । उनले आयोगले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्न नसकेको आरोप लगाए ।
ओलीको भनाइले निर्वाचन प्रक्रियाको पारदर्शिता, निष्पक्षता तथा त्यसमा संलग्न निकायहरूको भूमिकाबारे पुनः बहस सिर्जना गरेको छ । तर, उनले उठाएका आरोपबारे आयोग वा सम्बन्धित पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।