रविलाई मोदीले भने- नेपालसँगको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पु‍र्याउन भारत उत्सुक छ

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । 

भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण सहमति रहेको उल्लेख गरेका छन् ।

पोस्टमा प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको मुख्य र प्राथमिकताको साझेदार रहेको प्रस्ट पारेका छन् ।

दुई देशबीचको ऐतिहासिक, विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको सन्देश उनले दिएका छन् ।

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘हाम्रा दुई देशबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन हामी नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक छौं ।’

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सभापति लामिछाने भारत पुगेका हुन् । उनले हिजो भारतीय विदेशमन्त्री एस जयशङ्कर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

मंगलबार बिहान सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए ।

सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् । 

Share News