१२.४० रुपैयाँसम्म बढेर आउँदा पनि पेट्रोलको मूल्य नबढ्ने, निगमलाई २ अर्ब घाटा

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२.४० रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४.६८ रूपैयाँले बढेर आएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहेको छ । तर, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साविककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो । उक्त निर्णय २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) देखि लागू भएको छ ।

मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रूपैयाँ घाटा हुने निगमले जनाएको छ ।

नयाँ निर्णयअनुसार काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रूपैयाँमै बिक्री हुनेछ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँ कायम गरिएको छ ।

null

Share News