सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ: महानिरीक्षक पौडेल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बल पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार (आज) सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडी बढेको बताए । उनले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सुरक्षा निकायसँगको समन्वय र स्थानीय वासिन्दाहरुसँग सहकार्य गरी सीमा सुरक्षालाई थप मजबुद बनाउदै लैजाने बताए । महानिरीक्षक पौडेलले विशेष गरी क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकहरुको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसार पसार लगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा समेत अन्य सुरक्षा निकायको समन्वय र सहकार्यमा नियन्त्रण गर्दै आईरहेको बताए । त्यस्तै, मानव वेचविखनका घटनारुमा समेत सशस्त्र प्रहरी बल नेपालले सम्बन्धित निकायहरुसँग समन्वय गरी नियन्त्रण गर्दै आईरहेको बताउनुकासाथै सीमा क्षेत्रमा हुने विपद् उद्धारका कार्यमा सहज होस भन्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बल नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा विपद् रोकथामका कृत्रिम अभ्यासहरु समेत संचालन गर्दै आईरहेको बताए । उनले हाल नेपाल-भारत तथा नेपाल-चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले २ सय ६० वटा बोर्डर आउट पोष्टहरु स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आईरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४ सय २५ वटा बनाउने योजना रहेको बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले करीव १ हजार ८ सय ८० किलोमिटर समिा क्षेत्र रहेको नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको २ सय ४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको बताउँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि नेपाल सरकार गृहमन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भई रहेको बताए । उनले सीमामा रहेका स्थानीय वासिन्दाहरुसँग कसरी नजिक हुन सकिन्छ र उनीहरुसँग कसरी सहयोग लिन सकिन्छ भन्ने उद्देश्यकासाथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग प्रत्यक्ष समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रहरु संचालन गर्दै आईरहेको र यसबाट राजश्व चुहावट तथा अवैध चोरीनिकासीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमामा बसोवास गर्ने युवाहरुलाई रोजगार र दैनिक जीविका आर्जनमा समेत सहयोग होस भन्ने भावनाकासाथ सशस्त्र प्रहरी बल नेपालले विभिन्न सीप मूलक तालिम संचालन गर्नुकासाथै त्यस क्षेत्रका गरीव, जेहेन्दार छात्रछात्रा तथा बृद्धबृद्धाहरुलाई खाद्यान्य, लत्ताकपडा, शैक्षिक सामाग्री तथा निःशुल्क स्वास्थ्य जाँच गरी औषधीहरु समेत वितरण गर्दै आईरहेको बताए । उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापका साथै आपद् विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगमा प्रत्यक्ष सहयोग पुग्ने विश्वासकासाथ सशस्त्र प्रहरी बल नेपालले २४सै घण्टा पैदल गस्ती गरिरहेको र यसबाट क्षेत्रका स्थानिय वासिन्दाहरुसँग अन्तरक्रिया गरी सीमा अपराध र अवैध क्रियाकलाप रोकथाममा सहज पुग्ने बताए । महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारीमध्ये सीमा सुरक्षालाई प्रमुख दायित्वमा राखी संगठनमा रहेका आधाभन्दा बढी जनशक्ति सीमा क्षेत्रमा परिचालन गर्नुकासाथै नेपाल सरकार गृहमन्त्रालयबाट स्वीकृत लिई सीमा तथा दशगजना क्षेत्रमा रहेका सीमा चिन्हहरुको रंगरोगन तथा मर्मत सम्हार गर्दै आईरहेको बताए । उनले सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपालको जनशक्ति कम भएको कारण खुल्ला सीमानालाई आगामी दिनमा डिजिटल बोर्डरको रुपमा अगाडी बढाउन सकियो भने खुल्ला सीमाना एउटा आफैमा सिष्टोमेटिक हुँदै जाने विश्वास व्यक्त गर्दै मजकुर गृहमन्त्रालयबाट प्राप्त सहयोगले अन्य डिवाईस उपकरण जोड्ने कार्यलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो । निजहरूको मिलोमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचानका आधारमा हेटौंडा-१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायतएसहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको उल्लेख गर्दै प्रहरीले जिल्ला अदालत हेटौंडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।
खुकुरी प्रहारबाट महिलाको मृत्यु
काठमाडौं । आपसी विवादमा रौतहटको गजुरा नगरपालिका-५ हरिपुरमा आज एक पुरुषले खुकुरी प्रहार गरी महिलाको हत्या गरेको छ । बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही घर भई हाल हरिपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरी स्थानीय ४५ वर्षीय रेणुदेवी जयवालको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार आपसी विवादका क्रममा कलवारले प्रहार गरेको खुकुरी लागेर गम्भीर घाइते जयसवालको घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् आक्रोशित स्थानीयहरूले कुटपिट गर्दा कलवार घाइते भएको र उनलाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
अब वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्मको अल्टिमेटम
काठमाडौं । इ–सेवा, खल्ती वा अन्य कुनै पनि डिजिटल वालेट खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गरी मात्र वालेट खोल्ने व्यवस्था गर्नुपर्नेछ । यस्तै, सबै वालेट सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वालेटमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबिना अन्य आवश्यक कागजातका आधारमा डिजिटल वालेट खोल्न सक्नेछन् । तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित वालेट सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।
काठमाडौंमा एकै वर्षमा २४ सय अभियुक्त पक्राउ, २२ करोड जरिवाना र ५१९ वर्ष कैद
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ । गत असार मसान्तसम्म दर्ता भएका कुल ११ हजार ७८ मध्ये छ हजार ८६१ मुद्दाका फाइल स्क्यान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । दुई हजार ८७, महाराजगञ्ज वृत्तका ३८८, बौद्धका ७१४, गौशालाका ३९०, बानेश्वरका ३६६, कालिमाटीका ५७५, कीर्तिपुरका ९०, थानकोटका ३९७, स्वयम्भूका ४१०, बालाजुका ४५७, लैनचौरका ३३४, दरबारमार्गका १३५, जनसेवाका २४६, सिंहदरबारका १२९ र वृत्त मालिगाउँका १४३ मुद्दा स्क्यान गरिएका छन् । परिसरमा शुक्रबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भट्टराईले तस्करी, लागुऔषध ओसारपसार, ठगी, चोरी, जबरजस्ती करणीलगायत आपराधिक पृष्ठभूमि भएका एक हजार ८७१ जनाको ‘प्रोफाइल’ तयार पारिएको बताए । परिसरबाट प्रदान हुँदै आएका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै उहाँले पुस महिनादेखि असारसम्म अनलाइनबाट दुई हजार २७६ मुद्दाको म्याद थप गरिएको बताए । गत आवमा ११ हजार ७८ मुद्दा दर्ता भएकामा आठ हजार ५८१ अभियुक्तलाई पक्राउ गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा घटेका मुख्य अपराधको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी रहेको छ । परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका चार हजार ४७९, अभद्र व्यवहारका एक हजार ७०२, चोरीका एक हजार ८९, लागुऔषधका ६७०, ठगीका ६३८, अपराधिक उपद्रवका १७५, आत्महत्याका ३४९, जबरजस्तीकरणीका २६९, ज्यानमार्ने उद्योगका १२२ र सवारी ज्यानका ९९ वटा घटना भएका थिए । पछिल्लो तीन वर्षमा लागुऔषध कसुरसम्बन्धी मुद्दा दर्ता गर्ने क्रम बढेको छ । गत आवमा सोसम्बन्धी ६७० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ४३१ र आव २०८०/८१ मा ३३३ वटा मुद्दा दर्ता भएका परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए । गत आवमा फैसला कार्यान्वयन गर्ने क्रममा दुई हजार ४०७ जना पक्राउ परेका थिए । सोबापत २२ करोड ६४ लाख ८६ हजार २४० जरिवाना र ५१९ वर्ष आठ महिना नौ दिन कैद असुल भएको छ । आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो ठगी, नक्कली पैसा छपाइ, हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्नलाई कारबाही गरिएको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए।
सरकारले अनलाइनलबाटै भुक्तानी गर्यो पौने १३ खर्ब रुपैयाँ
काठमाडौं । संघीय सरकार, अर्धसरकारी संस्था तथा स्थानीय तहका राजस्व तथा खर्चसम्बन्धी डिजिटल कारोबार रकम र कारोबार संख्या दुवैमा उल्लेख्य वृद्धि भएको छ । राजस्व सङ्कलनदेखि भुक्तानीसम्म डिजिटल प्रणालीको प्रयोग विस्तार हुँदै जाँदा सरकारी निकायहरूको कुल डिजिटल कारोबार उल्लेख्य बढेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार संघीय सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा डिजिटल माध्यमबाट ४ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम मोबाइल बैंकिङ, विद्युतीय वालेट, कनेक्ट आईपीएसलगायत विभिन्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको कर तथा गैरकर राजस्व हो । यस अवधिमा ४२ लाख ५१ हजार ७४५ पटक डिजिटल माध्यमबाट राजस्व भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष ३४ लाख २६ हजार ५९० कारोबारमार्फत ३ खर्ब ६६ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यद्यपि, सरकारले गत आर्थिक वर्ष कुल १२ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेकामा करिब ४ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् करिब ३८ प्रतिशत राजस्व मात्रै डिजिटल माध्यमबाट प्राप्त भएको देखिन्छ । संघीय सरकारको खर्चसम्बन्धी डिजिटल कारोबार पनि बढेको छ । गत आर्थिक वर्ष २ करोड ६४ लाख ६६ हजार ३८ पटकको कारोबारमार्फत १२ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी रकम डिजिटल माध्यमबाट भुक्तानी गरिएको छ । अघिल्लो आर्थिक वर्ष २ करोड ४२ लाख ८६ हजार २७ कारोबारमार्फत १२ खर्ब १८ अर्ब रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको थियो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष सरकारको कुल खर्च १५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो। अर्धसरकारी संस्था तथा स्थानीय तहले पनि डिजिटल माध्यमको प्रयोग उल्लेख्य रूपमा बढाएका छन् । गत आर्थिक वर्ष १२ लाख ७१ हजार ५४५ कारोबारमार्फत ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्व डिजिटल माध्यमबाट सङ्कलन भएको छ । अघिल्लो वर्ष ९ लाख ७८ हजार १९९ कारोबारमार्फत ४ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस्तै, अर्धसरकारी संस्था तथा स्थानीय तहले ६० लाख ६२ हजार ९४९ पटक डिजिटल कारोबारमार्फत ११ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्ष ४७ लाख ४७ हजार ५४४ कारोबारमार्फत ८ खर्ब २५ अर्ब रुपैयाँ डिजिटल माध्यमबाट खर्च भएको थियो । नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमानसिंह प्रधानका अनुसार सरकारले गर्ने खर्चको ८० प्रतिशतभन्दा बढी रकम अहिले डिजिटल माध्यमबाट भुक्तानी हुने गरेको छ । तर राजस्व सङ्कलनमा डिजिटल माध्यमको हिस्सा तुलनात्मक रूपमा कम रहेको उनले बताए । उनका अनुसार हाल सरकारको कुल राजस्वमध्ये ३५ प्रतिशत हाराहारी मात्रै डिजिटल माध्यमबाट सङ्कलन हुने गरेको छ । राजस्व भुक्तानीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने सम्भावना अझै धेरै रहेकाले यस क्षेत्रमा थप विस्तारको अवसर रहेको उनको भनाइ छ । एनसीएचएलका अनुसार राजस्व सङ्कलन, बजेट निकासा, सामाजिक सुरक्षा भत्ता, तलबभत्ता तथा अन्य सरकारी भुक्तानीमा डिजिटल प्रणालीको प्रयोग विस्तार हुँदै जाँदा सरकारी वित्तीय कारोबार थप पारदर्शी, सुरक्षित, छरितो र प्रभावकारी बन्दै गएको छ ।
सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गरिने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बीओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । गृहमन्त्री गुरुङले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने जानकारी दिए । उनले सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त गरे । सीमापार आपराधिक गतिविधि नियन्त्रणको लागि खुला सीमा मुख्य चुनौतीको रुपमा रहेको उनको भनाइ छ । उनले सीमा स्तम्भ सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको बताए ।
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला देश निकाला
काठमाडौं । नेपालमा पर्यटक भिसामा आएर अनैतिक गतिविधि गर्ने ४७ जना विदेशी महिला भएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा उनीहरूलाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै ४७ जना विदेशी महिलालाई देश निकाला गरेको जनाएको छ । युगाण्डाका ३९, भियतनाम ८, थाइल्याण्ड २, बंगलादेश २, इन्डोनेशिया २ र केन्याका ४ महिलालाई देश निकाला गरिएको हो । अध्यागमन विभागले उनीहरूलाई अध्यागमन नीतिविरुद्ध काम गरेको भन्दै देश निकाला गरेको हो । उनीहरूलाई विभागले नेपाल छोडेको मितिदेखि १ देखि ३ वर्षसम्म आउन नपाउने गरेर पठाएको हो । परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिए । एसपी भट्टराईले भने, ‘ठमेल, दरबारमार्ग लगायतको क्षेत्रमा विदेशी महिलाहरू अनैतिक क्रियाकलाप गर्न पाइन्छ भन्ने सोच बनाएर आएको देखियो । हामीले स्थानीयको गुनासोको आधारमा विशेष अपरेशन सञ्चालन गरेर ५७ जनालाई पक्राउ गर्यौं ।’ १० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको उनी बताउँछन्। भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराए । उनले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको बताए । उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ ।