विकासन्युज

सभापति रविले बोलाए रास्वपा सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार) दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी दिइएको छ । 

सामाजिक सञ्जालमा साइबर सुरक्षा नियम कडाइको असर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा (फेसबुक, इन्स्टाग्राम लगायत) बन्द गर्न सक्ने चेतावनी दिएको छ । यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी मुद्दामा भएको कानुनी लडाइँसँग सम्बन्धित छ । न्यू मेक्सिकोका सरकारी अभियोजकहरूले मेटाका प्लेटफर्महरूलाई बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालका बनाएको आरोप लगाउँदै कम्पनीको प्रणालीमा ठूला परिवर्तन गर्न अदालतमा माग गरेका छन् । ती मागहरूमा बालबालिकाको उमेर पहिचान कडाइ, गोपनीयता सुधार र सुरक्षा नियन्त्रणहरू बढाउने व्यवस्था समावेश छन् । यो मुद्दा पहिले नै अदालतमा पुगेको छ, जहाँ जूरीले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्‍याएको र बाल यौन शोषणका विषयमा जानकारी लुकाएको ठहर गर्दै ३७ करोड ५० लाख डलर जरिवाना तोकेको थियो । अहिले मुद्दाको दोस्रो चरणको सुनुवाइ सुरु हुन लागेको छ । मेटाले आफूले लगातार बाल सुरक्षा सुधार गरिरहेको दाबी गर्दै आएको जनाएको छ । कम्पनीले आफूलाई हजारौँ एप्समध्ये मात्र विशेष रूपमा लक्षित गरिएको बताएको छ । हालै दर्ता गरिएको कानुनी कागजातमा मेटाले यदि अदालतले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको उमेर ९९ प्रतिशत शुद्धतासँग प्रमाणित गर्नुपर्ने जस्ता कडा शर्तहरू लागू गर्यो भने कम्पनीले न्यू मेक्सिकोमा सेवा बन्द गर्न बाध्य हुन सक्ने चेतावनी दिएको छ । कम्पनीका अनुसार यस्तो माग व्यवहारिक रूपमा पूरा गर्न असम्भव जस्तो देखिन्छ र त्यसले राज्यमा सम्पूर्ण सेवा बन्द गर्नुपर्ने स्थिति आउन सक्छ । यो मुद्दा बाल सुरक्षा, सामाजिक सञ्जाल नियमन र प्रविधि कम्पनीहरूको जिम्मेवारीबारे अमेरिकामा चलिरहेको ठूलो बहसको हिस्सा बनेको छ । रासस 

भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल

हिमाल लम्साल वीरगञ्ज । सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान छ । सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो । रक्सौल सीमावर्ती नेपालीका लागि प्रमुख बजार मानिन्थ्यो । रक्सौलमा पर्सा जिल्लाका मात्रै नभएर छिमेकी जिल्लाका मुख्य सहरका सिमरा, हेटौँडा र चितवनसम्मका बासिन्दा किनमेल गर्न रक्सौल बजार जान्थे ।  पछिल्लो समय सङ्घीय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि वीरगञ्ज बजारमा क्रमशः ग्राहकको चहलपहल बढ्दै गएको वीरगञ्जमा यहाँका व्यवसायीको भनाइ छ ।      वीरगञ्जको आर्दशनगरमा कपडा पसल सञ्चालन गर्दै आएका जेपी इन्टरप्राइजेजका सञ्चालक जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाइ गरेसँगै आफ्नो पसलमा पहिलेको तुलनामा ३० प्रतिशत बढी व्यापार हुन थालेको बताए ।      'सरकारले भन्सार क्षेत्रमा कडाइ गरेसँगै अहिले वीरगञ्जका पसलहरुमा विस्तारै ग्राहकहरुको चहलपहल बढेको छ, विगतमा दिनभरजसो पसल कुरेर मात्रै बस्नुपर्ने हुन्थ्यो । अहिले ग्राहक बढेसँगै व्यापारमा पनि धेरै सुधार देखिएको छ', उनले भने ।    वीरगञ्जको मिनाबजारमा किराना पसल सञ्चालन गर्दै आएका ऋषि केशरीले पनि भन्सारमा कडाइ गरेसँगै वीरगञ्जको बजारमा ग्राहक बढेको बताए । 'सबैजसो समान किनमेल गर्न सीमा पारी नै जानु सामान्यजस्तै थियो, भन्सारमा कडाइ सुरु भएसँगै हाम्रो व्यापार करिब २५ प्रतिशतले बढेको छ, सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सकेको खण्डमा व्यापार पहिलेको तुलनामा ५० प्रतिशतले बढ्ने अपेक्षा राखेका छौँ', केशरीले भने । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको मुख्य सडक (मेनरोड)मा अतिक्रमित संरचना भत्काएपछि यहाँको बजार अहिले आर्दशनगर, लिंकरोडका बजारमा चहलपहल बढेको छ । विगतमा मेनरोडमा व्यापार तथा व्यवसायी गर्दै आइरहेका व्यापारीले भत्किएको संरचनाको जोखिमपूर्ण भग्नावशेषमा नै ‘सेल’ अफरमार्फत ‘स्टक’ सामान बिक्री सुरु गरेका छन् ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार सडक विस्तारको कारणले करिब एक हजार व्यवसायी तथा व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् । जहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब नौ हजार जनाको रोजगारी समेत प्रभावित भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कडाइ गरेसँगै अनौपचारिक ढङ्गले हुने आयातमा कमी आउने बताए । “सीमावर्ती सहरबाट अनौपचारिक ढङ्गबाट हुने आयातमा केही हदसम्म भए पनि कम भइरहेको छ, साथै चोरीपैठारी नियन्त्रण गर्नमा सहज हुने अपेक्षा राखेका छौँ”, उनले भने ।      सीमावर्ती क्षेत्रमा कडाइ गरेसँगै स्रोत नखुलेको  रकम (हुण्डी) कारोबार नियन्त्रणमा पनि सहयोग पुगेको छ । सीमा क्षेत्रमा खुला रुपमा भीडभाडको मौका छोपेर सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्रिने क्रममा पनि केही हदसम्म न्यूनीकरण भइरहेको जनाइएको छ ।       वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सीमावर्ती क्षेत्रमा रु १०० भन्दा धेरैको  सामान ल्याउने प्रावधानका कारण सीमा क्षेत्रका बासिन्दाका लागि उपयुक्त नभएको बताए । 'सरकारले सीमावर्ती बजार रक्सौलमा उपलब्ध हुने, अत्यावश्यक वस्तु तथा सामान वीरगञ्जमै उपलब्ध हुने नीति ल्याएको खण्डमा कोही पनि सीमावर्ती बजारमा किनमेल गर्न जादैन्थे', उनले भने, 'अहिलेको नीतिले पर्साका भन्दा पनि सिमरा, हेटौँडा र चितवनदेखि रक्सौलमा सपिङ गर्न आउनेको सङ्ख्यामा भने केही हदसम्म कमी आएको छ ।' सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका  गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले सीमा क्षेत्रबाट हुने अवैध पैठारी तथा निकासीलाई नियन्त्रण गर्ने प्रयास गर्दै आइरहेको बताए । 'सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएर अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने प्रयास गर्दै आइरहेका छन्, कतिपय व्यवहारिक समस्यालाई पनि सम्बोधन गर्ने प्रयासमा छौँ', उनले भने ।      वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु चालु आवको नौ महिनामा रु छ खर्ब ९४ अर्ब पाँच करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ । सो वस्तु तथा सामान आयात हुँदा कार्यालयले सो अवधिमा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै यो नाका हुँदै चालु आवको नौ महिनामा भने ७९ अर्ब ५४ करोड मूल्यको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात भएको छ । रासस  

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।  शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो ।  हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गरेका थिए ।  त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताए । “नेपाल मण्डलभित्रका मूर्तिहरु केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरु सचेत रहेका छन् । महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ”, उनले भने ।      मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गरे । राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरे । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए ।      चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ ।      यसरी मूर्ति फिर्ता गराउन काठमाडौं महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ ।        सयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुनःस्थापित गरिएको थियो ।       त्यस्तै २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको थियो । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।       चोरी भएको मूर्ति बेलायत पुर्याइएको थियो । त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो । त्यहाँबाट काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए ।  सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएकी थिइन् । 

हिमालयन डिष्टिलरीको नाफा १५.१५ प्रतिशत बढ्यो, ईपीएस ३०.७८ रुपैयाँ

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १५.१५ प्रतिशत बढेर ८५ करोड १३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६.७३ प्रतिशत बढेर ५ अर्ब ७१ करोड ९१ लाख ७८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३५ करोड ८३ लाख ९२ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड १४ लाख २० हजार रुपैयाँ र कुल नाफा २ अर्ब १४ करोड ४१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा वस्तु बिक्री लागत ९० करोड १४ लाख २८ हजार रुपैयाँ, उत्पादन खर्च ४ करोड ५८ लाख रुपैयाँ, कर्मचारीको तलब खर्च ३२ करोड ३० लाख ८२ हजार रुपैयाँ, प्रशासनिक खर्च १३ करोड ३६ लाख ८२ हजार रुपैयाँ र विक्री वितरण खर्च ५१ करोड ८२ लाख ३६ हजार रुपैयाँ रहेको छ । ३ अर्ब ६८ करोड ८० लाख ८२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १७ करोड २७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३०.७८ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा २६.७३ रुपैयाँ थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.९५ गुणा रहेको छ । 

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीबीच टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम तथा मध्यपूर्वको समग्र सुरक्षा अवस्थाबारे विचार आदान/प्रदान गरेका हुन् ।  रुसको विदेश मन्त्रालयका अनुसार छलफलमा क्षेत्रीय अवस्थाको वर्तमान विकासक्रम र बढ्दो तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने सम्भावनाबारे गम्भीर र रचनात्मक संवाद भएको थियो । दुवै मन्त्रीले द्वन्द्वको चाँडो अन्त्य र क्षेत्रीय स्थायित्व कायम गर्न आवश्यक कूटनीतिक प्रयासहरूको महत्वमा जोड दिए ।  रुसी पक्षले मध्यस्थता तथा कूटनीतिक पहलहरूलाई निरन्तर समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, सबै पक्षलाई संवाद र समझदारीमार्फत समाधान खोज्न प्रोत्साहित गरेको छ । साथै, दीर्घकालीन शान्ति र स्थिरता कायम गर्न राजनीतिक प्रक्रियालाई अघि बढाउन सहयोग गर्ने तयारी पनि व्यक्त गरिएको छ । वार्तामा अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षित सञ्चालन, विशेष गरी होर्मुज जलडमरू हुँदै रुसका जहाज तथा मालसामानको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा पनि सौहार्दपूर्ण छलफल भएको जनाइएको छ । दुवै पक्षले यस विषयलाई अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानेका छन् । यो संवादलाई दुवै देशबीचको निरन्तर कूटनीतिक सम्पर्क र क्षेत्रीय शान्ति तथा स्थिरताप्रति साझा प्रतिबद्धताको सकारात्मक सङ्केतका रूपमा लिइएको छ । 

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा बनाइयो पक्की पुल

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका लागि डुडियाघाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ । बागलुङको काठेखोला गाउँपलिकाभित्र बाह्रै मास सवारीसाधन सञ्चालनमा ल्याउने योजनाअनुसार डुडियाखोलाको डुडियाघाटमा पक्की पुल निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रु तीन करोड ६२ लाख २२ हजार खर्चेर पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का पाएको बिएमए निर्माण सेवाले २०८० कात्तिक १७ गते २०८२ वैशाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । निर्माण कम्पनीले सम्झौताको एक वर्ष ढिला गरी निर्माण कार्य सकेको छ । निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा पुल पुगेको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपेश रिगलले जानकारी दिए । आरसिसिटी बिम प्रकारको पुल ८ दशमलव ४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ । उक्त पुल निर्माण सकेर हस्तान्तरणको प्रक्रियामा पुगेको निर्माण व्यवसायी विमलेश आचार्यले जानकारी दिए ।  गत वर्ष सक्नुपर्ने गरी पुल पहिले नै ढलान भए पनि सडकको दुईतर्फ काम बाँकी रहेको र भुक्तानीमा ढिलाइ भएकाले एक वर्षपछि मात्रै पुल निर्माण सम्पन्न भएको आचार्यले जनकारी दिए । पुल निर्माणपछि काठेखोला गाउँपालिकाको दुई वडा तङ्ग्राम र धम्जामा  र ताराखोला गाउँपालिका पुग्ने छोटो सडक बाह्रैमास सञ्चालनमा आउने छ ।      गाउँपालिकाभर अहिलेसम्म गण्डकी प्रदेश सरकारले तीन ठाउँमा पक्की पुल निर्माण सम्पन्न भएपछि गाउँपालिकाभर बर्खामा यातायात ठप्प नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।  काठेखोला गाउँपालिकाको रेश जाने सडकको रेशस्थित एक्लेखेत, लामाबगर खोला र डुडियाघाटमा पक्की पुल बनेपछि गाउँपालिकाका सबै वडामा बाह्रैमास सवारीसाधन चल्ने भएको अध्यक्ष थापाले जानकारी दिए ।  गण्डकी प्रदेश सकारको १२ करोड लगानीमा तीन वटा पुल निर्माण सम्पन्न भएको हो । 'पक्की पुल निर्माणमा प्रदेश सरकाले सहयोग गरेका कारण काठेखोलामा बाह्रैमास सवारीसाधन चल्ने भएका छन्, दुई वर्षदेखि रेश र तीन वर्षदेखि लामाबगरमा पुल बन्दा सहज भएको र अहिले डुडियाघाटको पुल समेत निर्माण सम्पन्न भइसकेको छ,' थापाले भने, 'पुल नहुँदा बर्खामा सवारीसाधन ठप्पजस्तै हुन्थे अब सहज भयो, गाउँपालिकाको ध्यान अब सडक स्तरोन्नतिमा छ ।'      गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्ष पहिले ३० मिटर लामो पक्की पुल रु तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको थियो भने दुई वर्ष अघि मात्रै रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल रु पाँच करोडमा निर्माण भएको थियो । रासस

रोल्पा जीप दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी भएको ठुलो मानवीय क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।  बिहीबार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका-१, जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेको थियो । उक्त जीप सडकबाट करिब ७००-८०० मिटर तल भिरमा खसेको थियो ।  विकट भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय र स्थानीय टोलीको साहस र समर्पणको रास्वपाले सम्मान गरेको छ । यस हृदयविदारक घटनाले नेपालको सडक सुरक्षाको अवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको पार्टीको ठहर गरेको विज्ञप्तिमा भनिएको छ ।  दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कार्यान्वयन र पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने रास्वपाले जनाएको छ । ‘यस्ता दुर्घटनाहरू केवल तथ्यांक मात्र होइनन्, यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् । नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै जिम्मेवार कदम चाल्नु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ ।