गरिमा विकास बैंकको नाफा १.६८ अर्ब रुपैयाँ, लाभांश क्षमता २०.२४ प्रतिशत
काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.३७ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ५६ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६१ करोड २० लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६१ करोड ९२ लाख ७३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ अर्ब ५६ करोड ७४ लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५८ करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ५१ करोड ८ लाख ९४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ अर्ब २५ करोड ८० लाख ६६ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८० करोड ८६ लाख ८९ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता २०.२४ प्रतिशत रहेको छ । ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ९.२७ प्रतिशत बढेर ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ र कर्जा लगानी १३.१७ प्रतिशत बढेर ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ९० अर्ब ११ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८६.१४ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २१.९६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.०४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १४.४० गुणा छ भने प्रतिसेयर नेटवर्थ १७७.२६ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.६९ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ ।
नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि २२.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले यसअघि पनि आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४२.१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ १५ गते काठमाडौं म्यारियट होटलमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारण (कर्मचारीसहित) का लागि निष्कासन गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ । यस प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृतिलगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत रहेको छ । यस्तै, बोनस सेयर जारी भएपछि आवश्यकताअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ ।
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशत बढ्यो, लाभांश क्षमता १६.९९ प्रतिशत
काठमाडौं । लुम्बिनी विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २५२.९६ प्रतिशत बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ७३ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८ करोड ४२ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब २८ करोड १४ लाख ६५ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २१ करोड ७८ लाख १२ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २० करोड ६० लाख २८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब १५ करोड ४ लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५८ करोड ४० लाख ७७ हजार रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख ८० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १६.९९ प्रतिशत रहेको छ । ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड ५४ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ०.२६ प्रतिशत घटेर ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी ०.०२ प्रतिशत घटेर ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ५७ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८६.६३ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ६.६५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.४८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २०.५८ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१३.३ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ ।
कालिञ्चोक दर्शनको नाफा १०५ प्रतिशत बढ्यो, ईपीएस ९.१६ रुपैयाँ
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १०५.१४ प्रतिशत बढेर ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड ८१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १२.५५ प्रतिशत बढेर ८ करोड ५९ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख ९ हजार रुपैयाँबाट घटेर ३ करोड १६ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्ष ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८० लाख १२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ४.६९ रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष बढेर ९.१६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ८५.६२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.२१ रुपैयाँ पुगेको छ ।
साढे ३२ वर्ष सेवा गरेर बिदा भए सरोज गुरागाईँ
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण उनी बुधबारदेखि सेवा निवृत्त भएका हुन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार गुरागाईँले २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली गरेका थिए । कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि तथा साझेदार निकायबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रवर्द्धन गर्न गुरागाईँले खेलेको प्रशासनिक नेतृत्व काठमाडौं महानगरपालिकाले सधैं स्मरण गर्ने बताइन् । ‘पद अस्थायी हो, सेवा स्थायी हो। पदीय जिम्मेवारी सकिए पनि सेवाको भावना समाप्त हुँदैन । सेवा निवृत्तिपछिको जीवनमा पनि यहाँको अनुभव र सेवा यात्राले अझ परिष्कृत रूप लिने अपेक्षा गरेका छौँ,’ उनले भनिन् । काठमाडौं महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त हुने गुरागाईँ पहिलो अधिकारी बनेका छन् । बिदाइ कार्यक्रममा गुरागाईँले आफ्नो साढे ३२ वर्ष लामो निजामती सेवामध्ये काठमाडौं महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको बताए । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुन् । मैले ती सबैलाई सहज रूपमा लिएको छु,’ उनले भने । वि.सं. २०५१ पुस १९ गते शाखा अधिकृतबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँले आफ्नो सेवा अवधिको अधिकांश समय स्थानीय प्रशासनमा बिताएका छन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब दुई वर्ष तथा स्थानीय तहमा करिब २१ वर्ष सेवा गरेका थिए । महानगरपालिका आउनुअघि उनले उद्योग मन्त्रालयअन्तर्गत करिब सात वर्ष सेवा गरेका थिए । त्यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ‘समृद्धि आयोजना’का प्रमुखका रूपमा कार्यरत थिए । उनले करिब चार महिना गृह मन्त्रालयअन्तर्गत प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीसमेत निर्वाह गरेका थिए । गुरागाईँ २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्त भएका थिए ।
कृषि विकास बैंकको नाफा २.६३ अर्ब, व्यवसाय १६.२३ प्रतिशत बढ्यो
काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७१ करोड ६० लाख ७३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब २१ करोड ७९ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.५४ प्रतिशत रहेको छ । १४ अर्ब ३० करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९० करोड ५९ लाख १० हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १८.३६ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ र कर्जा लगानी १६.२३ प्रतिशत बढेर २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ९३ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ६६.७८ प्रतिशत रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २४.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १६.११ रुपैयाँमा सीमित भएको छ । बैंकको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेकाे छ ।
भूमि प्रशासनका फाराम अब सेवाग्राही आफैंले भर्न सक्ने, १५ दिनभित्र फाराम सरलीकरण गर्न समिति गठन
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैंले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो । समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरु कार्यन्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।
अर्थतन्त्र उकास्न अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच के-के भयो छलफल ?
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी भएका थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले अनुभवी र राज्यका काबिल अर्थशास्त्री भनी सम्बोधन गगरेका थिए । छलफलको सुरुवात गर्दै उनले भने, “तपाईहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा बसेर काम गर्नुभएको काबिल अर्थशास्त्रीहरू हुनुहुन्छ । समग्र मुलुकको आर्थिक र वित्तीय अवस्थाबारे तपाईंहरूको ज्ञान मुलुक निर्माणको यो महत्त्वपूर्ण समयमा लगाउनुपर्नेछ ।” अर्थमन्त्री वाग्लेले थप भने, “अब मलाई सुझाउनुहोस्, वित्तीय संकट व्यहोरी रहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई कसरी हामीले सहयोग गर्न सक्छौं ?” नयाँ बजेट कार्यान्वयनमा आएको र यसैको जगमा टेकेर आर्थिक रूपान्तरणको जग बसाउनुपर्ने भन्दै उनले त्यसका लागि अर्थतन्त्र चलायमान गराउनुपर्ने र विगतको नीतिकाकारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । ऋण बिग्रिएर कालोसूचीमा परेका हजारौं नागरिकलाई अर्को मौका कसरी दिन सकिन्छ भन्ने उपाय सुझाउन पनि उहाँले कार्यकारी निर्देशकहरूलाई आग्रह गरे । मौद्रिक उपकरण लागू गर्ने राष्ट्र बैंकबाट स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणबाट नै आर्थिक समृद्धिको बाटो समाउन सकिने विश्वास पनि उनले व्यक्त गरे। अर्थमन्त्रीसँगको छलफलमा खुलेर प्रस्तुत भएका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठन भएपछि बिस्तारै बजारको आत्मविश्वास बढ्दै गएको र छिट्टै अर्थतन्त्रले लय समाउने संकेतहरू देखिएको अर्थमन्त्रीलाई बताएका छन् । कोभिड महामारीले पिल्सिएको अर्थतन्त्रले अझै लय समाउन नसकेको र त्यसैको मारमा परेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई माथि उठाउनु चुनौतीपूर्ण रहेको उनीहरूको भनााइ थियो । छोटो समयमा थपिएका कालोसूचीको हजारौं संख्या र त्यसले निम्त्याएको निराशाले बजारमा प्रभाव पारेको भन्दै उनीहरूले त्यसको समाधान आवश्यक रहेको बताए । जनताको बचत रहेको वित्तीय संस्थाहरूको पूर्ण लगानी सुरक्षाको सुनिश्चितता गर्दै कालोसूचीको कलंकबाट नागरिक, उद्योगी र व्यवसायीलाई माथि निकाल्न तत्कालै केही गर्न जरुरी भएको उनीहरूको भनाइ थियो ।