विकासन्युज

बानिया निर्माण सेवा: १७.११ अर्बको अर्डर बुक, १९ अर्ब ऋण

काठमाडौं । बानिया निर्माण सेवा प्रालिको ऋण एक वर्षमै करिब ५ अर्ब रुपैयाँले बढेको छ । सन् २०२६ फेब्रुअरीसम्मको तथ्याङ्क अनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १९ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र १५ अर्ब ६० करोड ७० लाख रुपैयाँ अल्पकालीन रहेको छ । जबकि अघिल्लो वर्ष यो रकम करिब १५ अर्ब रुपैयाँ मात्र थियो । कम्पनीको वित्तीय संरचना अत्यधिक ऋणमा आधारित बन्दै गएको छ । २०८२ असारसम्म कुल गियरिङ अनुपात ६.०३ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ४.२७ गुणा थियो । ब्याज तिर्ने क्षमता सूचक (ब्याज आवरण अनुपात) पनि १.५५ गुणामा झरेको छ, जुन अघिल्लो वर्ष १.६५ गुणा थियो । त्यस्तै, कुल ऋण र नगद प्रवाहको अनुपात २०.१३ गुणा पुगेको छ, जसले कम्पनीमाथि वित्तीय दबाब बढ्दै गएको स्पष्ट देखाउँछ । नेपालमा सडक निर्माण तथा खानी क्षेत्रमा सक्रिय बानिया निर्माण सेवा ‘ए’ श्रेणीको निर्माण कम्पनी हो । यसको सुरुवात सन् १९९८ अगस्टमा एकल स्वामित्व फर्मका रूपमा भएको थियो भने सन् २०१५ जुलाईमा प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । हाल कम्पनीको दर्ता कार्यालय हेटौंडामा रहेको छ । बानिया निर्माण सेवा मुख्य रूपमा सडक निर्माण, पूर्वाधार विकास तथा खानी सम्बन्धी कार्यहरूमा सक्रिय छ । कम्पनीले विभिन्न सरकारी तथा निजी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको दाबी गरेको छ । ठूला परियोजनाहरूमा सहभागिता जनाउन र प्राविधिक तथा कानुनी योग्यता पूरा गर्न बानिया निर्माण सेवाले अन्य निर्माण कम्पनीहरूसँग ज्वाइन्ट भेन्चरमा पनि काम गर्ने गरेको छ । कम्पनी मुख्यतः सरकारी टेन्डरमा आधारित परियोजनामा संलग्न छ । अत्यधिक प्रतिस्पर्धाका कारण कम मूल्यमा बोली लगाउनुपर्ने अवस्था रहेको छ, जसले नाफामा दबाब पार्ने जोखिम बढाएको कम्पनीले जनाएको छ । सरकारले विदेशी कम्पनीलाई निश्चित मूल्यभन्दा कम परियोजनामा सहभागी हुन नदिने व्यवस्था तथा सक्रिय परियोजनाको संख्या सीमित गर्ने नीति लागू गरेपछि स्थानीय निर्माण कम्पनीलाई केही फाइदा भए पनि प्रतिस्पर्धा अझै उच्च रहेको कम्पनीको भनाइ छ । निर्माण कार्यमा ढिलाइ, साइट क्लियरेन्स, प्रशासनिक प्रक्रिया तथा भुक्तानी ढिलाइका कारण परियोजना कार्यान्वयन समयमै हुन नसकेको कम्पनीले जनाएको छ । यसले कम्पनीको आम्दानी समयमै प्राप्त नहुने अवस्था रहेको छ। । कम्पनीले गत वर्ष पौने ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १७.६२ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ३९ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब २६ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ९९ करोड २० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सञ्चालन नाफा मार्जिन पनि २०.०३ प्रतिशतमा सुधार भएको छ, जुन अघिल्लो वर्ष १९.८४ प्रतिशत थियो । तर, ब्याज खर्च बढेकाले खुद नाफा मार्जिन २.०८ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ ।  कम्पनीका प्रबन्ध निर्देशक ऋषि राज बानिया रहेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि बानिया निर्माण सेवासँग आबद्ध रहँदै विभिन्न परियोजनाको कार्यान्वयनमा प्रत्यक्ष संलग्न छन् । त्यस्तै, सञ्चालक दिक्षान्त बानिया पनि कम्पनीसँग जोडिएका छन्, जसले निर्माण सामग्री आपूर्ति गर्ने बानिया सप्लायर्स प्रालिमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनलाई निर्माण, ट्रेडिङ तथा सप्लाई व्यवसायमा तीन वर्षभन्दा बढी अनुभव रहेको छ । कम्पनीको अर्डर बुक अवस्था हाल बलियो देखिन्छ । १६ फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार बानिया निर्माण सेवाको बाँकी कार्यान्वयन गर्नुपर्ने अर्डर बुक करिब १७ अर्ब ११ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२५ को कुल कारोबारको करिब ६ गुणा हो । यसले निकट भविष्यमा कम्पनीको आम्दानी वृद्धि हुने संकेत गरेको छ । अर्डर बुक मुख्य रूपमा सडक निर्माण क्षेत्रमा केन्द्रित छ, जसले कुल अर्डर बुकको करिब ४५ प्रतिशत हिस्सा ओगटेको छ । बाँकी परियोजनाहरू जलविद्युत, खानी, अस्पताल, नहर तथा बस टर्मिनल जस्ता क्षेत्रमा फैलिएका छन् । करिब ३० प्रतिशत अर्डर बुक जलविद्युत क्षेत्रमा र २४ प्रतिशत खानी क्षेत्रमा केन्द्रित भएकाले कम्पनीलाई केही क्षेत्रगत जोखिम पनि रहेको देखिन्छ । यस्ता परियोजनाहरू निश्चित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने भएकाले कार्यान्वयन क्षमता र समयमै सम्पन्न गर्ने दक्षताले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका–युरोप सम्बन्धमा नयाँ तनावको सङ्केत गरेको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार, एक वरिष्ठ रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएअनुसार यो योजना हाल विचाराधीन अवस्थामा रहेको छ । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले हालै इरानसँग सम्बन्धित अमेरिकी सैन्य गतिविधिबारे गरेको टिप्पणीलाई ‘अनुचित र सहयोगी नभएको’ भन्दै अमेरिकी पक्ष असन्तुष्ट देखिएको छ । यसअघि मर्जले अमेरिकाको इरानसँगको सैन्य संलग्नतालाई ‘योजना विहीन’ भन्दै आलोचना गरेका थिए । उनले अमेरिकालाई इरानी नेतृत्वबाट ‘अपमानित भइरहेको’ आरोपसमेत लगाएका थिए । यी टिप्पणीहरूले दुई देशबीच कूटनीतिक तनाव बढाएको देखिन्छ । यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन नेतृत्वमाथि कडा टिप्पणी गर्दै मर्जले ‘के बोलिरहेका छन् भन्ने थाहा नभएको’ बताएका थिए । साथै, उनले इरानको आणविक महत्वाकांक्षाप्रति जर्मनी गम्भीर नभएको आरोप पनि लगाएका थिए ।  ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा रहेका अमेरिकी सैनिक सङ्ख्या घटाउने सम्भावना रहेको सङ्केत दिएको छ र यसबारे निर्णय ‘छोटो समयमै’ हुने बताए । उनले स्पेन र इटालीमा पनि अमेरिकी सैनिक उपस्थिति घटाउन सकिने बताए । युरोपेली सहयोगी देशहरूले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वमा पर्याप्त सहयोग नगरेको भन्दै उनले ती देशहरूको आलोचना गरे । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले सम्भावित सैनिक कटौतीका लागि आफ्नो देश तयार रहेको बताए । उनले यसलाई परिस्थितिअनुसार सामना गरिने विषयका रूपमा लिएको सङ्केत दिएका छन् ।  हालको तथ्याङ्कअनुसार, गत वर्षको अन्त्यसम्म जर्मनीमा ३६ हजार भन्दा बढी अमेरिकी सक्रिय सैनिक तैनाथ छन् । यसबाहेक करिब एक हजार ५०० आरक्षित सैनिक र ११ हजार ५०० नागरिक कर्मचारी पनि त्यहाँ रहेका छन् । जर्मनीमा अमेरिकी युरोप कमाण्ड र अफ्रिका कमाण्डको मुख्यालय रहेको छ, र रामस्टाइन हवाई अड्डा अमेरिकी सैन्य सञ्चालनका लागि महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ । रासस 

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।      आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।      प्याकेज १ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५७ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा ‘डाइभर्सन’ सुरुङलगायत संरचनाको निर्माण सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको जनाइएको छ ।  उक्त कार्य सम्पन्न भएसँगै मुख्य बाँधको ‘कङ्क्रिटिङ’ तथा सम्बन्धित ग्राउटिङ कार्य सुरु गर्न आवश्यक पूर्वाधार तयार भएको छ । 'आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रििटङ कार्यको सुरुआत गरिएको थियो,' उनले भने, 'मुख्य बाँधको कङ्क्रिट, कोर ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।'      प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको भण्डारीले बताए । विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाहरूको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए ।      भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य भइरहेको छ । कुल १४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म १४०७.७५ मिटर सम्पन्न भएका छ ।      प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न गरेको छ । यस प्याकेजको प्रगति ७७ प्रतिशत रहेको छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय वनका रहेका रूखबिरुवा हटाउन सम्बन्धित डिभिजन वन कार्यालयसँगको समन्वयमा छपान कार्य सुरु भएको छ ।       कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस  

इरानको युद्ध रोक्ने नयाँ प्रस्ताव ट्रम्पले गरे अस्वीकार, आणविक मुद्दामा कुरा नमिलेको सङ्केत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव पठाएको भए तापनि ट्रम्पले त्यसलाई अपर्याप्त भन्दै अस्विकार गरेका हुन् । इरानी सरकारी सञ्चार माध्यम आईआरएनएले प्रस्तावको विस्तृत विवरण सार्वजनिक नगरे पनि विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले दिगो शान्ति स्थापना नै आफूहरूको प्राथमिकता रहेको दाबी गरेका छन् । यद्यपि, फ्लोरिडामा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्व अलमलमा परेको र आन्तरिक रूपमा विभाजित रहेको टिप्पणी गरे । ट्रम्पका अनुसार इरान सम्झौता गर्न त चाहन्छ, तर उसको नेतृत्व तहमा साझा सहमतिको अभाव देखिन्छ । यसअघि अप्रिल २६ र २७ मा गरिएका प्रस्तावहरू पनि ट्रम्पले अस्वीकार गरिसकेका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार इरानको नयाँ प्रस्तावमा आणविक मुद्दालाई समावेश नगरिएका कारण ट्रम्प असन्तुष्ट बनेका हुन् । इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्नबाट रोक्ने आफ्नो अडानमा ट्रम्प अडिग देखिएका छन्, जसका कारण तत्काल वार्ता र शान्तिको सम्भावना थप चुनौतीपूर्ण बनेको छ । इस्लामावादको वार्ता असफल भएपछि इरानले अमेरिकालाई यसअघि पनि प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा तत्कालका लागि स्ट्रेट अफ हर्मुज खुला गरेर युद्ध अन्त्य गर्ने र आणविक कार्यक्रमबारे पछि छलफल गर्ने भनिएको थियो ।  ट्रम्पले सो प्रस्तावमा पनि असन्तुष्टि जनाएका थिए । अहिले हर्मुजमा अमेरिकाले नाकाबन्दी लगाउँदा इरानले तेल बेच्न पाएको छैन । अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइएको छ ।  भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ । केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ । खानी चालु नहुँदा बिग्रिन सक्छन् । खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन । त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन् ।  त्यो नभए इरानमा फेरि आक्रमण गर्ने विकल्प पनि ट्रम्पका लागि खुला छ । अमेरिकाले फेरि आक्रमण गर्न सक्छ भन्ने अनुमान इरानले पनि गरेको छ । उसले इरानले हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएको र आक्रमण भएमा व्यापक प्रतिक्रिया दिने योजना बनाएको भनेर रोयटर्सले लेखेको छ । अमेरिकाले इरान वरपर ठूलो संख्यामा सेना र युद्धपोतहरू जम्मा गरेको छ । इरानलाई सम्झौताका लागि दबाब दिनका लागि अमेरिकाले सैन्य शक्ति जम्मा पारेको भए पनि लामो समयदेखि वार्ता अवरूद्ध हुँदा ट्रम्प फेरि सैन्य कारबाहीतर्फ अघि बढ्ने सम्भावना पनि रहन्छ । अमेरिकाले छोटो र भीषण आक्रमण गर्ने र त्यसपछि इजराइली आक्रमण हुने अनुमान गरेको दुई वरिष्ठ अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ । इरानमा पुनः आक्रमणबारे अमेरिकी कंग्रेसका दुई नेताहरूले ट्रम्पको तयारीबारे समेत बुझेका थिए । कंग्रेस नेताहरूसँग ट्रम्पले इरानमा युद्ध लम्ब्याउन संसदको अनुमति आवश्यक नभएको बताएका थिए ।  नेताहरूले इरानमा अमेरिकी विकल्पबारे सोधेका प्रश्नमा ट्रम्पले अहिलै पुनः आक्रमण नगरिने बताएका थिए । ‘के हामी गएर उनीहरूलाई पूर्ण रूपमा ध्वस्त पार्ने हो, कि कुनै सम्झौता गर्ने प्रयास गर्ने हो ? मानवीय दृष्टिकोणले हेर्दा म सैन्य विकल्प रोज्न चाहन्नँ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ । 

ककनीको डाँडामा रातो चमक (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको नजिकै रहेको काकनी क्षेत्र यतिबेला स्ट्राबेरीको मिठासले राताम्य देखिएको छ । हरियाली पहाडका गराहरूमा लटरम्म फलेका राता स्ट्राबेरीहरूले कृषकहरूको दैनिकी फेर्नुको साथै जिल्लाको पर्यटनमा समेत नयाँ आयाम थपेका छन् । पछिल्लो समय ककनीमा केवल स्ट्राबेरी किन्ने मात्र होइन, खेतमै गएर आफ्नै हातले ताजा फल टिप्ने चलन पनि ह्वात्तै बढेको छ । तस्बिरहरूमा देखिएझैँ, काठमाडौंबाट पुग्ने युवायुवतीदेखि परिवारहरू समेत खेतका गराहरूमा पुगेर ताजा स्ट्राबेरी टिप्ने र तस्बिर खिच्ने काममा रमाउने गरेका छन् । यो ‘यु–पिक’  अर्थात आफैँ टिप्ने अवधारणाले यहाँको कृषि र पर्यटनलाई एकसाथ डोर्याइरहेको छ । बारीबाट भर्खरै टिपेर टोकरीमा भरिएका स्ट्राबेरीहरू उत्तिकै ताजा र आर्कषक देखिन्छन् । किसानले मेहनतका साथ उत्पादन गरेका स्ट्राबेरीहरूलाई तोलमेल गरेर प्याकेजिङ गरी ग्राहकको हातमा पुर्याउने प्रक्रियाले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ । तस्बिरमा देखिएका हर्षित अनुहारहरूले यो खेतीमा उनीहरूको लगाव र व्यावसायिक सफलतालाई प्रष्ट पार्छन् ।  स्थानीय महिला तथा युवाहरूले घरायसी कामको साथसाथै स्ट्राबेरी खेतीलाई आम्दानीको राम्रो स्रोत बनाएका छन् । खेतमा काम गरिरहेका दृश्य र स्ट्राबेरीको बिक्रीबाट मिल्ने खुशीले यो खेती स्थानीय जीवनस्तर उकास्ने ठूलो माध्यम बनेको देखाउँछ । यहाँको हावापानी स्ट्राबेरीका लागि निकै अनुकूल मानिन्छ, जसले गर्दा यहाँ उत्पादित फल स्वादमा उत्कृष्ट हुन्छ । ककनी अब केबल चिसो र दृश्यका लागि मात्र होइन, ‘स्ट्राबेरीको स्वाद’ लिन आउनेहरूको रोजाइको गन्तव्य बन्दैछ । यदि तपाईं ताजा हावामा रमाउँदै आफ्नै हातले टिपेको स्ट्राबेरीको स्वाद लिन चाहनुहुन्छ भने, ककनीको यो पाखा तपाईंको लागि उत्तम गन्तव्य हुनसक्छ ।  

विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमा : आईटीएफ महासचिव स्टेफेन

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण श्रमिकहरूको जीवनस्तर कष्टकर बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कटनले वर्तमान विश्व परिस्थितिले आपूर्ति श्रृंखलामा पारेको प्रभाव र श्रमिकहरूले झेल्नुपरेका चुनौतीहरूबारे चर्चा गरेका हुन् ।  आफ्नो सम्बोधनका क्रममा कटनले युक्रेनमा जारी युद्धका कारण खाडी मुलुकमा कार्यरत आप्रवासी नेपाली श्रमिक, नाविक र यातायात क्षेत्रका मजदुर मात्र नभई विश्वव्यापी आपूर्ति श्रृंखलामा आवद्ध सबै व्यक्तिहरू प्रभावित भएको बताए । महासचिव कटनले संयुक्त राज्य अमेरिका जस्ता शक्ति राष्ट्रहरूले चाल्ने एकपक्षीय कदमले विश्वभरका श्रमिकहरूको जीवनमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको टिप्पणी गरे ।  उनले श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सन् १८८६ मा सिकागोका श्रमिकहरूले आफ्नो हकहितका लागि शुरु गरेको संघर्षकै कारण आज विश्वभरि श्रमिक ऐक्यवद्धता कायम भएको बताए । उनले भने, ‘विश्वभरि खाद्यान्न र ऊर्जाको मूल्य अत्यधिक बढेको छ, तर विडम्बना धेरै देशका सरकारहरूले जनताको आवाज सुन्न छाडेका छन् ।’ अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) का लु ट्रायंगल र एजुकेसन इन्टरनेसनलका महासचिव डेभिड एडवड्र्ससँगको संवादलाई उद्धृत गर्दै कटनले सरकारी नयाँ सिफारिस र नीतिहरूका कारण निजामती कर्मचारीहरूको हकअधिकार समेत जोखिममा रहेको औंल्याए ।  उनले विषम परिस्थितिमा पनि श्रमिकहरूलाई संगठित हुन र आफ्नो अधिकारका लागि एकतावद्ध रहन आह्वान गरे । अन्तर्राष्ट्रियस्तरका श्रमिक नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कटनले नेपाली श्रमिक र यहाँका नेतृत्वको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय ऐक्यवद्धता नै श्रमिक शक्तिको मुख्य आधार भएको उल्लेख गरे ।  

पोखरामा सवा २ अर्बको लगानीमा रिसाइकल सेन्टर निर्माण हुँदै, ३ हजारलाई रोजगारीको अवसर

काठमाडौं । पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन यस केन्द्रले प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको हो ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार यो केन्द्र पोखराको भौगोलिक पहिचान झल्किने गरी ‘घोप्ट्याइएको ढुङ्गा’ को विशिष्ट शैलीमा डिजाइन गरिएको छ । यस्तो वास्तुकला नेपालमै दुर्लभ रहेको दाबी गरिएको छ । यो भवन केवल एक भौतिक संरचना मात्र नभई देशभरका मानिसका लागि फालिएका चिजहरूबाट नयाँ सामग्री उत्पादन गर्ने र चक्रीय आर्थिक प्रणाली (इकोनोमिक इको–सिस्टम) बारे अध्ययन गर्ने एउटा ‘लर्निङ सेन्टर’ (सिकाइ केन्द्र) का रूपमा विकसित गरिनेछ ।  दक्षिण कोरियाली सरकारको करिव २ अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र कोइकाको साझेदारी रहेको छ । आयोजना कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारहरूसँगको समन्वयमा काम अगाडि बढाइएको छ ।  यस परियोजनालाई प्रभावकारी बनाउन महानगरपालिकाका ३३ वटै वडामा १००–१०० जना सम्मिलित सामुदायिक समूहहरू गठन गरिएको छ । ती समूहहरूलाई आवश्यक पर्ने प्राविधिक उपकरण र अन्य सामग्रीहरू आयोजनाले नै उपलब्ध गराइरहेको प्रमुख आचार्यले जानकारी दिए । यस पहलले फोहोर व्यवस्थापनका साथै स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौंले पाएको थियो । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । पोखरा महानगरपालिकामा फोहोरमैला व्यवस्थापनलाई आयआर्जन र पर्यटनसँग जोड्ने उद्देश्यका साथ ‘ग्रिन भेन्चर जोन’ (जीभीजेड) निर्माण भइरहेको हो । ‘ग्रिन जब क्रिएसन थ्रु रिसाइकल एण्ड अपसाइकल’ परियोजना अन्तर्गत यो संरचना निर्माण गरिएको हो । जसलाई स्थानीय रूपमा ‘कोसेली घर’ को नाम दिइएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा निर्माणाधीन यस कोसेली घरलाई मुख्यतः एक प्रदर्शनी तथा सिकाइ केन्द्रको रूपमा विकास गर्न लागिएको परियोजनाका फोकल पर्सन एवं इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिए ।  उनकाअनुसार यस केन्द्रमा फोहोर संकलन भन्दा पनि फोहोरलाई कसरी उपयोगी र मूल्यवान सामग्रीमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुराको प्रदर्शनी र प्रशिक्षण दिइनेछ । परियोजनाले पोखरा महानगरका १ सय ३६ वटा समुदायलाई छनोट गरी स्थानीय बासिन्दालाई फोहोरबाट आकर्षक सामग्री बनाउने तालिम प्रदान गरिरहेको छ । ती समुदायले तयार पारेका सामग्रीहरूलाई यसै कोसेली घरमा प्रदर्शनी र विक्रीका लागि राखिनेछ । ‘हामीले रिसाइकल भन्दा पनि अपसाइकललाई प्राथमिकता दिएका छौँ’ इन्जिनियर तिमिल्सिनाले भने, ‘प्रयोगविहीन पुराना कपडा वा फर्निचरमा मूल्य अभिवृद्धि गरी आकर्षक सामग्री बनाइनेछ, जसले स्थानीयको आयआर्जनमा समेत सहयोग पुग्नेछ ।’ यस केन्द्रले विद्यार्थी र अन्य स्थानीय तहका प्रतिनिधिहरूका लागि फोहोर वर्गीकरण र व्यवस्थापनसम्बन्धी अध्ययन स्थलको रूपमा समेत काम गर्नेछ । महानगरले यस केन्द्रलाई केवल फोहोर व्यवस्थापनको क्षेत्रमा मात्र ससमित नराखी एक नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । फेवाताल, सराङकोट र पुम्दीकोटजस्ता प्रमुख पर्यटकीय स्थलहरू भ्रमण गर्न आउने पर्यटकहरूका लागि यो ‘ग्रिन भेन्चर जोन’ एक नछुटाउनै पर्ने स्थल बन्ने विश्वास परियोजनाको छ । फोहोरबाट बनेका कलात्मक सामग्रीहरूको अवलोकन र खरिद गर्न सकिने भएकाले यसले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।    

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९२, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता २० र अन्य सवारी नियम पालना नगरेका एक हजार ८१० जनालाई कारबाही गरिएको हो ।