काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको दोस्रो संस्करणको यस एक्स्पोमा सुरुवाती तीन दिनमै ७७ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।
मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र भारी वर्षा भएको तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका हुन्। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजित यो ६ दिने एक्स्पो आगामी साउन ३१ गतेसम्म चल्नेछ भने मेला अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन र हालसम्म ५२ वटा नयाँ मोडल सार्वजनिक गरिएकाले ग्राहकलाई आफ्नै बजेट र रुचि अनुसारका सवारीसाधन छान्न सहज भएको छ ।
मेलास्थलमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् । अवलोकनकर्ताहरूले सवारी खरिदका क्रममा मुख्यगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी र रिसेल भ्यालु जस्ता विषयमा चासो देखाएका छन् ।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा र सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जा जस्ता सुविधाहरू उपलब्ध गराएका छन् । सवारी साधन प्रदर्शनीका साथै एक्स्पोमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ’नाइमा मोबिलिटी संवाद’ समेत सञ्चालन भइरहेको छ ।
संवाद अन्तर्गत तेस्रो दिन ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्सका सिइओ सुनिल बल्लभ पन्त र हुलास फिनसर्भका सिइओ समिर ठाकुरबीच छलफल तथा विचार विमर्श भएको छ ।
ग्लोबल आइएमई बैंक को-स्पोन्सर रहेको यस मेलामा विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा प्रविधि साझेदारहरूको सहभागिता रहेको छ ।