‘१५ औँ महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।  

शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् । नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे । आगामी १५ औँ महाधिवेशनको प्रसंगमा बोल्दै कोइरालाले नेता डा. शेखर कोईरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे । उनले थप स्पष्ट पार्दै सभापतिमा  शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताए । 

उनले भने, ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ । सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु । नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै डा. कोइरालाले अब काँग्रेसले सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए ।  संविधान प्राप्त भइसकेको अवस्थामा अबको मूल लक्ष्य विकास हुनुपर्ने उनको तर्क छ । 

Share News