नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । अब बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचय पत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक/वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरण सम्बधित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने, बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ । त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रतुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने घोषणा गरे ।
अब बन्ने सबै भवन भूकम्पप्रतिरोधी हुनुपर्ने
काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्ग आसपासका शहरलाई पहिचान युक्त सहरी केन्द्रका रूपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जग्गा विकास, पूर्वाधार निर्माण तथा स्थानीय आर्थिक सम्भावनासँग जोडेर उक्त क्षेत्रको सहरी विकास अघि बढाइने बताएका हुन् । त्यसैगरी सबै नयाँ निर्माणमा भूकम्पप्रतिरोधी संरचना, अग्नि सुरक्षा तथा आधुनिक पूर्वाधार मापदण्ड लागू गरिने नीति लिइएको छ । सरकारले जेनजी आन्दोलन तथा जाजरकोट भुकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर अघि बढाइने जनाएको छ ।
१० हजार सामुदायिक विद्यालयमा एआईमा आधारित सिकाइ प्रणाली बिस्तार गरिने
काठमाडौं । सरकारले देशका १० हजार सामुदायिक विद्यालयमा कृतिम बौद्धिकता (एआई)मा आधारित सिकाइ प्रणाली बिस्तार गर्ने नीति लिएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घाेषणा गरेका हुन् । यसका लागि उच्च गतिको इन्टरनेट डिजिटल सामग्रीको व्यवस्था गरिनेछ ।
‘रोजगार प्रवर्द्धन दशक’ घोषणा
काठमाडाै । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेको हो । वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्न आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्म रोजगार प्रवर्द्धन दशक घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने भएको छ ।
हिमालको पानी विश्वसम्म ब्रान्डिङ, २०८७ सम्म सबैको पहुँचमा स्वच्छ पानी
काठमाडौं । सरकारले विसं २०८७ सम्म सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यसहित एकीकृत कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर खानेपानी कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । नीति तथा कार्यक्रममा पानीको गुणस्तर सुनिश्चित गर्न पानी परीक्षण प्रयोगशाला स्थापना गरिने उल्लेख गरिएको छ । साथै, वर्षाको पानी संकलन तथा संरक्षणलाई पनि प्राथमिकतामा राखिने सरकारको योजना छ । सरकारले ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणामार्फत नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने नीति पनि अघि सारेको छ । हिमाली स्रोतबाट आउने स्वच्छ पानीलाई नेपालको विशिष्ट पहिचानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, काठमाडौं उपत्यकासहित ठूला सहरमा ढल तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाइने उल्लेख गरिएको छ । ढल प्रशोधन संयन्त्र स्थापना गरी प्रशोधित पानीलाई सिँचाइमा प्रयोग गर्ने सरकारको योजना छ ।
सरकारले सडक बालबालिकामुक्त बनाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सडक बालबालिकामुक्त गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा सडक बालबालिकामुक्त गर्ने बताएका हुन् ।
माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिने
काठमाडौं । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने बताएका हुन् । यस्तै पुस्तक दिवाखाजा र पोशाकको सहज वितरण सहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिने नीति लिएको छ । सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजीक्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ नियमन गरिने जनाइएको छ ।