विकासन्युज

नीति तथा कार्यक्रमकै बीचमा उठेर हिँडे बालेन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने बीचमै उठेर बाहिरिएका छन् । राष्ट्रपतिलाई औपचारिक रूपमा नीति तथा कार्यक्रमको दस्तावेज हस्तान्तरण गरेका थिए । त्यसपछि उनी प्रधानमन्त्री अर्थमन्त्रीसँगै कुर्सीमा बसेका थिए । राष्ट्रपति पौडेलले सरकारको तर्फबाट १०० बुँदे नीति तथा कार्यक्रम संसदमा पढेर सुनाएका थिए । राष्ट्रपतिले ५२ बुँदासम्म वाचन गर्दा प्रधानमन्त्री संसदमा थिए ।  १०० बुँदे नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति पौडेललाई १ घण्टा १० मिनेट लागेको थियाे । ५२ बुँदासम्म वाचन गर्न राष्ट्रपति पौडेललाई ४१ मिनेट लागेको थियो । त्यसपछि प्रधानमन्त्री बालेन उठेर बाहिरिएका थिए। अर्थमन्त्री स्वार्णिम वाग्लेसँगै रहेको उनको सिट खाली भएको थियो ।  उनको बहिर्गमनले संसद् परिसरमा मात्र होइन, राजनीतिक वृत्तमै विभिन्न टिप्पणी र अड्कलबाजी जन्माएको छ । बालेनको यो कदमलाई कतिपयले सामान्य कार्यव्यस्ततासँग जोडेर हेरेका छन् भने कतिपयले यसलाई प्रतीकात्मक असन्तुष्टिका रूपमा व्याख्या गर्न थालेका छन् ।  यद्यपि बालेनले बैठक छोड्नुको कारणबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । राजनीतिमा प्रतीक र संकेतले विशेष अर्थ राख्ने गर्छन् । त्यसैले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला बालेनको बाहिरिनुलाई उनको राजनीतिक चरित्रको विषयमा पनि प्रश्न उठेको छ । उनी संसद बैठकमा पनि टिसर्ट र कोट पाइन्टसहित उपस्थित भएका थिए  ।

जटिल अपराध न्यूनीकरणमा आधुनिक प्रविधिको प्रयोग ल्याइने

काठमाडौं । अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ ।  सोमबार प्रतिनिधि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले लागुऔषध नियन्त्रण, अन्तरदेशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताएका हुन् । नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने उनले बताए ।  साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने पौडेलले बताए ।

सार्वजनिक संरचनालाई पूर्णरूपमा अपांगतामैत्री बनाइने

काठमाडौं । सरकारले सार्वजनिक संरचनालाई पूर्णरूपमा अपांगतामैत्री बनाइने घोषणा गरेको छ ।  आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले अपांगता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सीप प्रदान गरी आत्मनिर्भर बनाइने बताएको छ ।

गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा बैशाख २५ गते काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौं संस्करणमा उक्त विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ उपाधि प्रदान गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा आयोजकले बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरेको थियो । बैंकका अनुसार यस सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा र हौसला मिलेको छ । साथै बैंकले आफ्ना ग्राहक, सेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ । गरिमा विकास बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ । भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा विभिन्न विधामा उत्कृष्ट तथा रनरअप उपाधि हासिल गरेको थियो । त्यस्तै, कर्पोरेट क्लब नेपालद्वारा फेब्रुअरी २५, २०२५ मा आयोजित समारोहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट समेत सम्मानित भएको थियो । हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवा मार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हुलाकी, पुष्पलाल र उत्तर-दक्षिण राजमार्ग निर्माणमा तीव्रता दिइने सरकारको घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका सडक आयोजना र रणनीतिक राजमार्गहरूको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ ।  सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुलाकी, पुष्पलाल (मध्यपहाडी) र उत्तर-दक्षिण राजमार्ग जस्ता ठूला पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेका हुन् ।  सरकारले भौतिक पूर्वाधारको विकासलाई आर्थिक समृद्धिको आधार मान्दै सडक सञ्जाल विस्तारमा ब्रेक थ्रु गर्ने लक्ष्य लिएको छ । हुलाकी राजमार्ग, पुष्पलाल राजमार्ग र उत्तर-दक्षिण करिडोरहरूको बाँकी काम द्रुत गतिमा सम्पन्न गर्ने र भएका सडकहरूको विस्तार तथा स्तरोन्नति गरिनेछ । काठमाडौं-तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयभित्रै सम्पन्न गर्न विशेष स्रोत र साधनको परिचालन गरिने राष्ट्रपति पौडेलले बताए ।  सबै स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने र कम्तीमा १२ महिना सवारी साधन चल्न सक्ने (बाह्रैमासे) सडक पु¥याउने सरकारको संकल्प छ ।  पर्यटकीय सम्भावना बोकेका प्रमुख गन्तव्यहरूमा सहज पहुँचका लागि सडक सुविधा विस्तार गर्ने योजना अघि सारिएको छ । सडक पूर्वाधारसँगै सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरभर्दो र व्यवस्थित बनाउन आवश्यक सुधारका कदम चालिने नीतिमा उल्लेख छ ।

राष्ट्रिय परिचय पत्रलाई मुख्य परिचय मानिने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई ‘एक परिचय’ बनाउने भएको छ । बैंक तथा विभिन्न सामाजिक सुरक्षाका क्षेत्रमा एक परिचय पत्रको नीति अवलम्बन गर्ने भएको हो । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्रलाई एक परिचय पत्र बनाउने घाेषणा गरेका हुन् ।

यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका छन् । सोमबार संयुक्त सदनलाई सम्बोधन गर्दै उनले पूर्णपाठ पेश गरेका हुन् । उनले ४६ पृष्ठको नीति तथा कार्यक्रम सबै पढेर सुनाएका थिए । नीति तथा कार्यक्रम :

जनकपुरमा एथरको एक्सपीरेन्स सेन्टर, स्मार्ट ई-मोबिलिटी विस्तारमा जोड

काठमाडौं । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी नेपालले जनकपुरमा नयाँ ‘एथर एक्सपीरेन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको विस्तारलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ । जनकपुरको मिल्स एरियामा अवस्थित उक्त एक्सपीरेन्स सेन्टर सोमबार नितिन ट्रेड लिंकको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । नयाँ एक्सपीरेन्स सेन्टर सञ्चालनसँगै एथरका देशभर १० वटा शाखा पुगेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ५ वटा तथा पोखरा, चितवन, इटहरी, बुटवल र जनकपुरमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । साथै बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् । कम्पनीले दुईपाङ्ग्रे विद्युतीय सवारी क्षेत्रमा ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टीसमेत उपलब्ध गराउँदै आएको छ । नयाँ एक्सपीरेन्स सेन्टरमा एथरका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएका छन्। जसमा प्रदर्शनमुखी एथर ४५० सिरिज तथा परिवारमुखी एथर रिज्टा समावेश छन् । यी स्कुटरहरू उच्च प्रविधि, उत्कृष्ट प्रदर्शन र आधुनिक डिजाइनका लागि परिचित रहेका छन् । एथर ४५० सिरिज विशेषगरी उच्च प्रदर्शन, आधुनिक प्रविधि र स्मार्ट फिचर खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो । यसमा शक्तिशाली एक्सेलेरेशन, नेभिगेसन सिस्टम, डिजिटल डिस्प्ले तथा विभिन्न स्मार्ट राइडिङ मोडजस्ता सुविधाहरू समावेश छन् । कम्पनीले नयाँ शाखामार्फत जनकपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय सवारीको आधुनिक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।