बैंकको नाफाको बहस

बैंकले कति नाफा कमाए भन्नेमा होइन, बैंकको नाफाले अर्थतन्त्रलाई कति मद्दत गर्‍यो भन्नेमा बहस केन्द्रित हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्थाको नाफा सार्वजनिक हुनेबित्तिकै त्यसले बजारमा छुट्टै तरंग ल्याउँछ । सञ्चारमाध्यममा ठूला शीर्षक बन्छन्, सेयरधनीको अनुहारमा चमक देखिन्छ, लगानीकर्ता नाफा बढेको बैंकको सेयरतर्फ आकर्षित हुन्छन् । कर्मचारी पनि बढी नाफा गर्ने संस्थामा काम गर्न पाएकोमा उत्साहित हुन्छन् । नियामकको नजरमा पनि नाफा गर्ने बैंकको वित्तीय अवस्था बलियो देखिन्छ । सर्वसाधारणका लागि समेत ‘कुन बैंकले कति कमायो ?’ भन्ने चासो बढ्छ । तर, बैंकको नाफालाई यति साँघुरो घेरामा मात्र हेर्नु पर्याप्त हुँदैन ।

गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्षको तुलनामा नाफा ३२.२७ प्रतिशतले बढेको छ । करिब १७ अर्ब रुपैयाँको यस्तो वृद्धि पक्कै पनि सामान्य होइन । नबिल बैंक सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ भने ग्लोबल आइएमई, एभरेष्ट, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, एनएमबी, प्राइमलगायत बैंकले पनि उल्लेख्य नाफा गरेका छन् । समग्र तथ्यांकले बैंकिङ क्षेत्र पुनः नाफाको लयमा फर्किएको देखाउँछ ।

तर, यही तथ्यांकलाई आधार बनाएर बैंकिङ क्षेत्र स्वस्थ भयो र अर्थतन्त्र पनि सुधारको बाटोमा गयो भन्ने निष्कर्ष निकाल्नु भने हतार हुनेछ । बैंकको नाफा र अर्थतन्त्रको विस्तार एउटै कुरा होइन । बैंकले नाफा कमाइरहँदा उद्योगको उत्पादन घट्न सक्छ, निजी लगानी सुस्त हुन सक्छ, रोजगारी विस्तार नहुन सक्छ र कर्जाको माग कमजोर रहन सक्छ । त्यसैले बैंकको नाफालाई अर्थतन्त्रको ऐना मान्ने हो भने त्यसमा देखिएको सम्पूर्ण तस्बिर पढ्नुपर्छ । 

नाफा वृद्धिको प्रकृति हेर्दा पनि धेरै कुरा प्रस्ट हुन्छ । हिमालयन बैंकको नाफा एक हजार प्रतिशतभन्दा बढीले बढेको छ भने कुमारी बैंकको नाफा तीन गुणाभन्दा बढी भएको छ । एनआईसी एसिया बैंक अघिल्लो वर्षको ठूलो घाटाबाट नाफामा फर्किएको छ । यस्ता वृद्धिमा अघिल्लो वर्षको कमजोर आधार, प्रावधान व्यवस्थापन, खराब कर्जा असुली तथा अन्य वित्तीय समायोजनको प्रभाव हुन सक्छ । त्यसैले प्रतिशतमा भएको असाधारण वृद्धिलाई मात्र व्यावसायिक विस्तारको प्रमाण मान्नु उचित हुँदैन ।

ब्याजदर घट्नु, निक्षेपको लागत कम हुनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, खराब कर्जाका लागि छुट्याइएको प्रावधानमा सुधार आउनु तथा विगतमा रोकिएको कर्जा असुलीले पनि नाफा बढाउन भूमिका खेलेका हुन सक्छन् । यसको अर्थ बैंकको नाफा वृद्धि अर्थतन्त्रमा नयाँ लगानी र उत्पादन विस्तारकै परिणाम हो भन्ने आवश्यक छैन । यही अन्तर छुट्याउन नसक्दा बैंकको नाफालाई अर्थतन्त्रको स्वास्थ्यसँग जोडेर गलत निष्कर्ष निकाल्ने जोखिम हुन्छ । 

अझ गम्भीर संकेत खराब कर्जाको तथ्यांकले गर्छ । केही बैंकको खराब कर्जा अनुपात उच्च छ । प्रभु बैंकको खराब कर्जा अनुपात १५ प्रतिशतभन्दा माथि छ भने कुमारी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतमा पनि यस्तो अनुपात उल्लेख्य छ । अर्कोतर्फ एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सानिमा बैंकमा खराब कर्जा तुलनात्मक रूपमा कम छ । यसले समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको वित्तीय स्वास्थ्य एउटै अवस्थामा नरहेको देखाउँछ ।

अर्को महत्वपूर्ण विषय बैंकले कमाएको नाफाले अर्थतन्त्रमा कति योगदान ग¥यो ? बैंकिङ प्रणालीको मूल काम निक्षेप संकलन गरेर उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्नु हो । उद्योग, कृषि, ऊर्जा, पर्यटन, व्यापार तथा साना–मझौला उद्यममा कर्जा विस्तार भयो भने मात्र बैंकको नाफाले अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्छ । तर, बैंकमा पर्याप्त पैसा भएर पनि व्यवसायी कर्जा लिन उत्साहित छैनन् भने समस्या बैंकमा मात्र होइन, समग्र लगानी वातावरणमा छ ।

यतिबेला नेपालको समस्या तरलताको अभावभन्दा लगानीको कमजोर मनोविज्ञान हो । ब्याजदर घटेको छ, बैंकसँग लगानीयोग्य स्रोत छ, तर बजारमा पर्याप्त माग र प्रतिफलको सुनिश्चितता नहुँदा निजी क्षेत्र जोखिम लिन हिच्किचाइरहेको छ । यही कारण बैंकिङ प्रणालीमा पैसा थुप्रिने तर वास्तविक अर्थतन्त्रमा त्यसको प्रवाह अपेक्षाअनुसार नहुने अवस्था देखिन्छ ।

बैंकहरू नाफा कमाउने संस्थामात्र होइनन्, अर्थतन्त्रका लागि पुँजीका मध्यस्थकर्ता पनि हुन् । उनीहरूले शेयरधनीलाई प्रतिफल दिनुपर्छ, तर त्यससँगै उत्पादन, लगानी र रोजगारी सिर्जना हुने क्षेत्रमा स्रोत परिचालन गर्ने जिम्मेवारी पनि पूरा गर्नुपर्छ । 

खुद नाफा बढ्दैमा सबै नाफा तत्काल सेयरधनीलाई बाँड्न मिल्ने हुँदैन । सञ्चित नोक्सानी, नियामकीय प्रावधान र अन्य समायोजनले वितरणयोग्य नाफालाई प्रभावित गर्छन् । त्यसैले बैंक मूल्यांकनको आधार खुद नाफा वा प्रतिशेयर आम्दानीमा मात्र सीमित हुनु हुँदैन । कर्जाको गुणस्तर, खराब कर्जा, प्रावधान, वितरणयोग्य नाफा र पुँजीको प्रभावकारी परिचालनलाई पनि उत्तिकै महत्व दिनुपर्छ । 

अब बैंकहरूबीचको प्रतिस्पर्धा ‘कसले धेरै नाफा कमायो ?’ मा सीमित रहनु हुँदैन । प्रतिस्पर्धाको प्रश्न हुनुपर्छ कि कसले गुणस्तरीय कर्जा बढायो, कसले उत्पादनशील क्षेत्रमा बढी लगानी ग¥यो, कसले खराब कर्जा नियन्त्रण ग¥यो र कसले अर्थतन्त्रमा बढी रोजगारी तथा उत्पादन सिर्जना गर्न योगदान ग¥यो ?

त्यसैले अब बहस ‘बैंकले कति नाफा कमाए ?’ भन्नेमा होइन, ‘बैंकको नाफाले अर्थतन्त्रलाई कति कमाउन मद्दत ग¥यो ?’ भन्नेमा केन्द्रित हुनुपर्छ । यही प्रश्नको उत्तरले बैंकिङ क्षेत्रको वास्तविक स्वास्थ्य र अर्थतन्त्रको दिशालाई सही अर्थमा देखाउँछ । तबमाबै बैंकको नाफाको मूल्यांकन र प्रशंसा गर्न सकिन्छ । 

Share News