विकासन्युज

साढे २ करोडमा बनेका वाटर एटिएम बुथमा पानीको दुरुपयोग

काठमाडौं । निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौंका विभिन्न ८ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताए । उनका अनुसार कामपाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि वैशाख ५ गते यी बुथको औपचारिक शुभारम्भ गरिएको बज्राचार्यले जानकारी दिए । ८ वटा बुथको निर्माण लागत २ करोड ६० लाख रूपैयाँ रहेको कामपाले जनाएको छ । उनका अनुसार बुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार गुणस्तरीय स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ । नेपाली मौलिक शैलीमा निर्माण गरिएका बुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुलको कम्पाउन्ड (जमलबाट कमलादी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं १७ लिङ्क रोड ढल्को चोक, वडा नं ५ नरःदे (हाँडीगाउँ), वडा नं २६ परिसर र वडा नं ३१ परिसरमा यो प्रणाली जडान भएका छन् । बुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक बज्राचार्यले बताए । पानीको स्वच्छता नियमित रूपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको उनको भनाइ छ । ‘बुथलाई मौलिक जरुहिटीको परिवर्तित स्वरूप मान्न सकिन्छ । काठमाडौंबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटीमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अम्खोरा पनि हुन्थ्यो । हिटीबाट पानी भरेर फर्किँदा अम्खोरामा भएको पानी बाटोमा बनाइएको पानी सङ्कलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो,’ उनले भने ।  पहिले जस्तो अहिले हिटीमा गएर पानी ल्याउनु नपर्दै भएपछि जरुहिटी पनि सुक्दै गएको निर्देशक बज्राचार्यको बुझाइ छ । यसरी सुक्दै गएका जरुहिटीले बटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटिएम बुथ बनाइएको उनले बताए ।

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौं । सरकारले आध्यात्मिक तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कुटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकताका साथ उल्लेख गरेको छ । समुदायद्वारा सञ्चालित घरवास (होमस्टे), स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन वृद्धिका लागि रोजगारी प्रवर्द्धन गरिने भएको छ । जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङ सहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।  स्थानीयबासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।  महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदा बित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएका छ । 

५३० किमी रेन्ज दिने 'एमजी एस सिक्स' नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ९९ हजार

काठमाडौं । १०० वर्ष पुरानो अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को नयाँ इलेक्ट्रिक एसयूभी 'एमजी एस सिक्स' नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि एमजीकोआधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले सोमबार राजधानीमा एक कार्यक्रमबीच 'एमजी एस सिक्स' गाडी अनावरण गरेको हो । कार्यक्रममा एमजीको मातृ कम्पनी एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा नयाँ गाडीको अनावरण गरेका थिए ।  सन् २०१७ मा स्थापना भएको प्यारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा एमजीका गाडीहरू बिक्री गर्दैआएको हो । कम्पनीका अनुसार यसअघि एमजी जेडएस ईभीले नेपाली विद्युतीय सवारीको बजारमा निकै ठूलो सफलता पाएको थियो । हालसम्म नेपालमा एमजीका ४ हजार ५०० भन्दा बढी गाडीहरू गुडिरहेका छन् ।  एमजीले आफ्नो १०० वर्षको इतिहासलाई यो नयाँ प्रिमियम मोडलमार्फत निरन्तरता दिएको छ । यस्ता छन् विशेषता यस गाडीमा १८० किलोवाटको शक्तिशाली मोटर र ३५० एनएम टर्क रहेको छ । यसमा ७७ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जुन यो सेग्मेन्टमै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसले ५३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३८ मिनेट लाग्छ । नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ ।  यसमा १९ इन्चको मिसिलिन टायर प्रयोग गरिएको छ । सुरक्षाको दृष्टिकोणले यो गाडी निकै मजबुत मानिएको छ । यसले 'युरो एनक्याप' बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको ब्याट्री प्याकले विभिन्न कठिन परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ । गाडीभित्र १२.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, एम्बियन्ट लाइटिङ, र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । यसमा टिकटक, युट्युब, र स्पोटिफाइ जस्ता एपहरु चल्ने स्मार्ट फिचर्सका साथै ११ वटा स्पिकरहरू रहेका छन् ।  यसमा 'भिटुएल' प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारका लागि उक्त ईभीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।  प्रिमियम लुक्स, अत्याधुनिक  फिचर्स र बलियो सुरक्षामापदण्डका कारण यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

एसईईको नतिजा छिटो सार्वजनिक हुनु राज्य संयन्त्रको कार्यक्षमताको उदाहरण: शिक्षा मन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको एक महिनामै सार्वजनिक हुनुलाई राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन् ।  नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मन्त्री पोखरेलले लाखौं विद्यार्थी र अभिभावकको प्रतीक्षालाई छिटो सम्बोधन गर्न सफल भएकोमा खुसी व्यक्त गरेका हुन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने सुधारात्मक व्यवस्थाका कारण समयमै नतिजा ल्याउन सम्भव भएको उनले उल्लेख गरे । मन्त्री पोखरेलले नतिजा प्रकाशनको कार्यमा अहोरात्र खटिने शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय र सम्बन्धित सबैमा आभार प्रकट गर्दै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए ।  उनले अब यही गति र सुधारलाई उच्च शिक्षाका अन्य तहसम्म विस्तार गर्दै समग्र परीक्षा प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे । त्यस्तै, अपेक्षाअनुसार नतिजा ल्याउन नसकेका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन । धैर्यता र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो ।’  उनले नयाँ उत्साहका साथ अघि बढ्न सुझाव दिँदै आत्मविश्वासका साथ पुनः प्रयास गरे सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 

यसरी हेर्नुहोस् एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएको शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार त्यसपछिको जीपीए ९३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । कार्यालयका अनुसार परीक्षार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत आफ्नो नतिजा सहजै हेर्न सक्नेछन् । एसएमएस र आईभीआर सेवाका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा सन्देश पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी, इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्न चाहनेहरूका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । परीक्षार्थीहरूले आधिकारिक सरकारी साइटहरू www.see.gov.np र www.neb.gov.np का साथै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल र खल्ती जस्ता विभिन्न पोर्टलहरू प्रयोग गर्न सक्नेछन् ।

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस पटकको परीक्षामा उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमै गरिएका कारण विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ । यस वर्षको परीक्षाका लागि कूल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी थिए । कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् । बोर्डले नतिजा सार्वजनिक गरे पनि प्राविधिक प्रक्रियाका कारण वेबसाइटहरूमा नतिजा हेर्न भने केही समय कुर्नुपर्ने जानकारी दिएको छ ।

सीमा सुरक्षामा ड्रोन र डिजिटल ठगी रोक्न विशेष इकाई

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।  सोमबार संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सीमा सुरक्षालाई उच्च प्राथमिकता दिँदै अवैध गतिविधि नियन्त्रणका लागि ड्रोन तथा नाइट भिजन क्यामेराको प्रयोग गर्ने उद्घोष गरिएको छ । सीमा क्षेत्रमा अनुहार पहिचान प्रणाली र स्वचालित निगरानी पूर्वाधार जस्ता आधुनिक प्रविधि जडान गरिनुका साथै सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत खोजिने रणनीति सरकारले लिएको छ । यसका साथै सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक र सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । सुरक्षा निकायको सांगठनिक सुदृढीकरणका लागि सशस्त्र प्रहरी बललाई विशिष्टीकृत सुरक्षा बलका रूपमा विकास गरिनेछ । त्यस्तै, नेपाल प्रहरीको अनुसन्धान क्षमता, फरेन्सिक ल्याब र सूचना विश्लेषण प्रणालीमा व्यापक सुधार गरिनेछ । सुरक्षा क्षेत्रमा बाह्य निर्भरता घटाउन नेपाली सेना लगायतका निकायका लागि आवश्यक बन्दोबस्तीका सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने नीति सरकारले अघि सारेको छ । यसले राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउँदै राष्ट्रिय सेवा दललाई समेत थप सुदृढ र प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख छ । बढ्दो डिजिटल चुनौतीलाई मध्यनजर गर्दै सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि एउटा छुट्टै ‘विशेष अनुसन्धान इकाई’ स्थापना गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा अन्तरदेशीय जटिल अपराध न्यूनीकरणमा आधुनिक प्रविधिको विस्तार गरिने जनाइएको छ ।  सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास गरी उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने र राष्ट्रिय हितका लागि सुरक्षा सम्बन्धी विद्यमान नीति तथा कानुनहरूमा समसामयिक परिमार्जन गर्ने योजनासमेत सरकारले अघि सारेको छ ।