१८ औं नाडा अटो शोमा नेपाली उत्पादन र आधुनिक रोबोटको विशेष आकर्षण रहने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि र रोबोट विशेष आकर्षणका रूपमा रहने भएका छन् । नाडाले सोमबार (आज) पत्रकार सम्मेलनमार्फत अटो शोको तयारी, सहभागी ब्रान्ड र प्रदर्शनीका आकर्षणबारे जानकारी दिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ । नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइँदैछ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने मेलामा साना-ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० वटा ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वटा वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ । यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । मेलाको अर्को प्रमुख आकर्षण आधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटले अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासलाई दर्शकमाझ प्रस्तुत गर्नेछन् । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गर्ने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुने अपेक्षा गरिएको छ । यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिने भएको छ । त्यहाँबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ । मेलास्थलमा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ भने अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्क पनि राखिनेछ । छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, नयाँ सवारी प्रविधिको प्रवद्र्धन गर्न तथा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) लगायतका नवीनतम प्रविधिबारे उपभोक्तालाई जानकारी दिन यस वर्षको अटो शो महत्त्वपूर्ण हुने नाडाको विश्वास छ । नाडाले आफ्नो ५०औं वर्षको अवसरमा आयोजना गर्न लागेको भएकाले यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र विविधतापूर्ण बनाउने तयारी गरेको जनाएको छ ।
नाडा अटो शो नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हो : अध्यक्ष उप्रेती
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वर्ष को अवसरमा १८ औं संस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ । सोमबार (आज) पत्रकार सम्मेलन गर्दै नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस पटकको अटो शो केवल विदेशी ब्रान्डको प्रदर्शनीमा मात्र सीमित नभई नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुने बताएका छन् । अध्यक्ष उप्रेतीले ५ दशक लामो नाडाको यात्रा नेपालको समग्र आर्थिक र औद्योगिक विकाससँग जोडिएको उल्लेख गर्दै यस वर्षको संस्करण अटोमोबाइल क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । विद्युतीय सवारी र आधुनिक प्रविधिमा जोड यस वर्षको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) लाई विशेष प्राथमिकता दिइएको छ । ‘नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी ईभीको आधुनिक प्रविधि र दिगो गतिशीलतालाई एउटै छानामुनि प्रदर्शन गर्ने यो एउटा भव्य मञ्च हुनेछ,’ अध्यक्ष उप्रेतीले भने । उनले यस मेलाले वर्तमान समयमा केही शिथिल बनेको बजारलाई चलायमान बनाउन र उपभोक्ताहरूमा नयाँ उत्साह भर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे । अध्यक्ष उप्रेतीले अब नेपाल अटोमोबाइलमा आयातमा मात्र निर्भर नरहेको सन्देश दिन खोजिएको बताए । यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादित यात्री इलेक्ट्रिक्सका साथै स्वदेशमै एसेम्बल गरिएका स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पाट्र्सहरूलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए । उनले भने, ‘नेपाल अब गाडी आयात गर्ने मात्र होइन, भोलिका दिनमा उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ भन्ने स्पष्ट सन्देश हामी दिन चाहन्छौं । स्वदेशी उद्योगतर्फको यो ठोस कदमलाई हामीले गर्वका साथ प्रदर्शनीमा राख्नेछौं ।’ सवारी साधनलाई केवल विलासिताको वस्तुका रूपमा मात्र नहेरी यसलाई आर्थिक समृद्धिको अनिवार्य साधनका रूपमा बुझ्न र बुझाउन जरुरी रहेको अध्यक्ष उप्रेतीको भनाइ छ । भदौमा आयोजना हुने यस मेलाले देशको अर्थतन्त्रलाई गति दिन र अटोमोबाइल क्षेत्रको भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने नाडाले अपेक्षा गरेको छ ।
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा सञ्चालनमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला, तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ । उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।
गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छु : डा. शशांक कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए । कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ । उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । कांग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके कांग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सोही परम्पराको निरन्तरता स्वरूप सेनाध्यक्ष सेठलाई यो मानपदवी प्रदान गरिएको हो । तीन दिने औपचारिक भ्रमणका लागि आइतबार अपराह्न नेपाल आइपुग्नुभएका सेनाध्यक्ष सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपाली सेनाका वरिष्ठ अधिकृतहरूका साथै नेपालका लागि भारतीय राजदूतको समेत उपस्थिति रहेको थियो ।
किमसँगको सम्बन्ध देखाउँदै ट्रम्पले घटाए सैन्य अभ्यास
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ‘ठूलो कटौती’ गर्ने बताएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनको साथमा आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेकाले यस्तो निर्णय गरेको बताएका हुन् । ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत यस्तो बताएका हुन् । उनले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निःशस्त्रीकरण’ अभियानमा अमेरिकासँग सहभागी हुन अस्वीकार गरेको पनि बताएका छन् । ट्रम्पले लेखेका छन्, ‘यी सैन्य अभ्यासहरू महँगा मात्र छैनन्, जसको ठूलो हिस्सा सधैं झैं अमेरिकाले नै बेहोर्छ । यसले पूर्ण रूपमा अनुचित र शत्रुतापूर्ण सन्देश पनि दिन्छ ।’ दक्षिण कोरियाले भने अमेरिकासँग हुने सैन्य अभ्यासहरू ‘निर्धारित कार्यक्रमअनुसार’ नै सञ्चालन हुने जनाएको छ । उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यो घटनाक्रम उत्तर कोरियाले यही महिना संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेकै समयमा आएको हो । ट्रम्पले आइतबारको सामाजिक सञ्जाल पोस्टमा सैन्य अभ्यास रद्द गर्न अब ‘धेरै ढिलो भइसकेको’बताएका छन् । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि आफ्नो वार्षिक सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका छन् । ट्रम्पले थप लेखेका छन्, ‘मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक रिपब्लिक अफ इरानको परमाणु निःशस्त्रीकरणमा अमेरिकासँग सहभागी हुन चाहनुहुन्छ कि भनेर सोधेको थिएँ । उहाँले भन्नुभयो, ‘होइन, धन्यवाद । ’ ट्रम्पको यस्तो भनाइ उनले किम जोङ उनसँगको सन् २०१९ को पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको २४ घण्टा नबित्दै आएको हो । तस्बिरसँगै ट्रम्पले आफू र किम ‘धेरै राम्रा साथी’ भएको बताएका थिए । यद्यपि उक्त तस्बिरमा दुवै नेताको अनुहारको भाव भने खासै मित्रवत् देखिँदैन ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा २० प्रतिशतसम्म छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न स्वास्थ्य, होटल तथा रेस्टुरेन्टका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले विभिन्न संस्थासँग सम्झौता गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउन लागेको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवा तथा सामग्रीमा छुट प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना हिलक्रेस्ट होटल, कुरिनटार, चितवनमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, एलोफ्ट काठमाडौं, छायादेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । एल्लो हात्ती, लाजिम्पाट, काठमाडौंमा उपहार सामग्री बिक्री सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ । स्वास्थ्य सेवातर्फ अल्फा केयर डायग्नोस्टिक सेन्टर, बुढानीलकण्ठ, काठमाडौंमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, दृष्टि आई केयर, कलंकी, काठमाडौंमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यसैगरी ओरियन्ट क्याफे, दरबारमार्ग, काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ । होटल स्मारक, हेटौंडा, मकवानपुरमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । नेपालका विभिन्न स्थानमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।
३५० रुपैयाँको बिलले जितायो १० लाख रुपैयाँ
काठमाडौं । साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जितेका छन् । आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारको विजेता घोषणा गरेको हो । विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उपहार योजनाअन्तर्गत बम्पर पुरस्कार विजेता छनोट गरेको हो । बम्पर उपहार विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उक्त पुरस्कार रकममा प्रचलित व्यवस्थाअनुसार २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले ७ लाख ५० हजार रुपैयाँमात्र प्राप्त गर्नेछन् । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जनाले एक–एक लाख रुपैयाँ जितेका छन् ।