३६ विद्यालयमा प्रधानाध्यापक रिक्त, महानगरले माग्यो आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाको शिक्षा विभागका अनुसार २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा पदावधि समाप्त हुन एक महिनाभन्दा कम समय बाँकी रहेका विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरिएको हो । शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार आवश्यक योग्यता पुगेका स्थायी शिक्षकहरूले सम्बन्धित विद्यालयमा आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित भदौ १६ गतेभित्र सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ । प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, आवेदन फारामको ढाँचा तथा विज्ञापन गरिएका विद्यालयहरूको विस्तृत विवरण काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ७ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार ‘७ वर्षे विकास ऋणपत्र-२०९०’ भदौ ३ गते बोलकबोल मार्फत बिक्री गरिनेछ भने भदौ ४ गते ऋणपत्र निष्कासन हुनेछ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्ने कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने भएको छ । सरकारले वर्षभरि ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
कर्णाली र सुदूरपश्चिममा 'न्यानो नानी' बाँड्दै आइएमई लाइफ इन्स्योरेन्स
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको कम्पनीले यस वर्ष विविध सामाजिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने देशभरका शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका छन् । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलका अनुसार यी सामाजिक कार्यक्रमहरूको उद्देश्य समाजका विभिन्न वर्गलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु रहेको छ । यसै सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) सँग एक सम्झौता (एमओयू) गरेको छ । सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै निर्माण गरेको न्यानो नानी (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिनेछ । न्यानो नानी समय नपुगी वा कम तौल भई जन्मेका नवजात शिशुहरूको ज्यान जोगाउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो । पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई १० थान न्यानो नानी उपकरण हस्तान्तरण गरिनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत थालिएको यो पहलले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य प्रदेशहरूमा पनि विस्तार गर्दै लगिने जानकारी दिए ।
नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा चान्दना चयन, गभर्नरबाट लिए शपथ
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना सर्वसम्मतिबाट चयन भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधित्व गर्दै आएका सञ्चालक चान्दनालाई बैंकको ५४८औँ बैठकले सोमबार अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चान्दना हाल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह-२ मा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको पूर्वी तथा दक्षिण एसिया, सिङ्गापुर, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरूको रणनीतिक नेतृत्व सम्हाल्दै आएका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू राम पौडेल र दीर्घ बहादुर रावल, निर्देशक शरण कुमार अधिकारीका साथै एसबीआई भारतका उप-प्रबन्ध निर्देशक किशोर कुमार पोलदासको उपस्थिति रहेको थियो । त्यसैगरी बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य र कम्पनी सचिव खगेश्वर भट्टलगायतका पदाधिकारीहरूको सहभागिता थियो ।
अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा
काठमाडौं । अदालतको आदेशलगत्तै पत्रकार किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन् । उनलाई सोमबार अदालतले रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले हिरासतमा रहँदा आफूलाई कानुन व्यवसायीहरूसँग समेत भेट्न नदिइएको गुनासो गरे । उनले राज्यका यस्ता कदमको सुरुवात मात्र भएको र भविष्यमा अन्य व्यक्तिहरूमाथि पनि यस्तै व्यवहार हुन सक्ने आशंका व्यक्त गरे । आफूले देखेको र सत्य तथ्य समाचार लेखेकै कारण विगतमा पनि सत्ताको ज्यादती बेहोर्नुपरेको स्मरण गराउँदै उनले आफू कहिल्यै नहार्ने बताए । ‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन्, तर मैले हारेको छैन र हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ उनले भने । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गरेदेखि नै केही पक्षहरू आफूसँग असन्तुष्ट बनेको उनको दाबी थियो । पत्रकार श्रेष्ठले कानुन हातमा लिएर राज्यका संयन्त्रहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी समेत दिए ।
एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी
काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ’कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच यी दुई कम्पनीले साझेदारी गरेका हुन् । यस सहकार्यसँगै अब नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स सिम जडान गरिनेछ । यस आईओटी प्रविधिको प्रयोगले चालक तथा यात्रुहरूलाई कुनै बाह्य उपकरण, वाई-फाई हटस्पट वा मोबाइल डेटामा निर्भर नभई गाडीकै सिस्टमबाट सीधा इन-भेइकल इन्टरनेट कनेक्टिभिटी प्राप्त हुनेछ । यसबाट बीवाईडी एप इकोसिस्टम, युट्युब, स्पोटिफाइ, काराओके जस्ता इन्फोटेनमेन्ट सेवा र भरपर्दो नेभिगेसन सहजै प्रयोग गर्न सकिनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटी थप्दै ग्राहकलाई डिजिटल अनुभव प्रदान गर्ने बताए । त्यसैगरी, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भरपर्दो इन–भेइकल कनेक्टिभिटीले ग्राहकहरूलाई बीवाईडीका आधुनिक सुविधाहरूको पूर्ण उपभोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यो सुविधा नयाँ गाडी खरिदकर्ताका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध हुनेछ । पुराना ग्राहकहरूले देशभरका १३ आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी यो सेवा लिन सक्नेछन् । यद्यपि, उपलब्ध सुविधाहरू, डेटा प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधनको मोडल र सेवा प्याकेज अनुसार फरक पर्न सक्नेछ ।
मुख सुक्ने समस्या छ ? थाइराइडसँग हुनसक्छ यस्तो सम्बन्ध
काठमाडौं । मुख सुक्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन् । तर, पटक–पटक मुख सुक्ने र र्याल कम बन्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या थाइराइडसँग पनि सम्बन्धित हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । थाइराइड हर्मोनको स्तर कम वा बढी हुँदा मुखमा र्याल उत्पादन कम हुन सक्ने बताइएको छ । यसका कारण मुखमा सुख्खापन महसुस हुने अवस्थालाई चिकित्सकीय भाषामा जेरोस्टोमिया (ड्राई माउथ) भनिन्छ । र्यालले मुखलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खाना चपाउन र निल्न सहज बनाउनुका साथै खानामा रहेको स्टार्च पचाउन पनि सहयोग गर्छ । र्यालमा पाइने क्याल्सियम र फस्फेटले दाँतलाई बलियो बनाउन तथा दाँतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्ने जनाइन्छ । थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । थाइराइडबाट उत्पादन हुने टी–३ र टी–४ हर्मोनले र्यालग्रन्थीको कार्यमा पनि प्रभाव पार्न सक्छ । त्यसैले थाइराइड हर्मोनको स्तरमा असन्तुलन हुँदा र्यालको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ । थाइराइड ग्रन्थीले शरीरलाई आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न नसक्ने अवस्थालाई हाइपोथाइरायडिज्म भनिन्छ । यस्तो अवस्थामा शरीरका कोषिकामा ऊर्जा उत्पादन कम हुने र त्यसको प्रभाव र्यालग्रन्थीमा पनि पर्न सक्ने बताइएको छ । यसले र्यालको मात्रा घटाएर मुख सुक्ने समस्या निम्त्याउन सक्छ । हाइपोथाइरायडिज्मको सामान्य कारणमध्ये हाशिमोटो थाइरायडाइटिस पनि एक हो । यो एक प्रकारको अटोइम्युन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले थाइराइड ग्रन्थिमाथि नै असर गर्छ । यस्तो अवस्थामा पनि मुख सुक्ने समस्या देखिन सक्ने बताइएको छ । थाइराइड अत्यधिक सक्रिय हुँदा अर्थात् हाइपरथाइरायडिज्मको अवस्थामा पनि र्यालको उत्पादन घट्न सक्छ । मेटाबोलिक दर बढ्दा शरीरमा तरल पदार्थ छिटो कम हुन सक्ने भएकाले मुख सुक्ने समस्या देखिन सक्छ । यसका साथै हाइपरथाइरायडिज्ममा हुने तनाव र चिन्ताले सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय गराउन सक्छ । यसले पनि र्याल उत्पादनमा कमी ल्याउन सक्ने बताइएको छ । थाइराइड क्यान्सरको उपचारमा रेडियोएक्टिभ आयोडिन प्रयोग गरिने अवस्थामा र्यालग्रन्थीमा असर पर्न सक्छ । यसका कारण मुख सुक्ने तथा खानाको स्वादमा परिवर्तन हुने समस्या देखिन सक्ने बताइएको छ । थाइराइडसँग सम्बन्धित ड्राई माउथको समस्या कम गर्न केही उपाय अपनाउन सकिन्छ । धेरै नुनिलो खाना तथा ड्राइ मिटबाट बच्ने । तम्बाकु, मदिरा, क्याफिन तथा कार्बोनेटेड पेय पदार्थ कम गर्ने । पालुंगो, हरियो सागसब्जी, माछालगायत पोषक तथा आइरनयुक्त खानेकुरा समावेश गर्ने । नियमित रूपमा पानी पिउने । मुख तथा दाँतको नियमित सरसफाइ गर्ने । र्याल उत्पादन बढाउन सुगर–फ्री क्यान्डी प्रयोग गर्न सकिने । राति सुत्दा कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिने । ड्राई माउथको कारण थाइराइडसँग सम्बन्धित भएमा चिकित्सकको सल्लाहअनुसार थाइराइडको औषधि नियमित सेवन गर्नु महत्त्वपूर्ण हुन्छ । आवश्यकताअनुसार चिकित्सकले र्याल उत्पादन बढाउने औषधि वा सुगर–फ्री क्यान्डी प्रयोग गर्न सुझाव दिन सक्छन् । केही अवस्थामा र्याल उत्पादन बढाउन विद्युतीय स्टिमुलेसन वा अन्य उपचार विधि प्रयोग गर्न सकिने स्रोतमा उल्लेख छ । साथै दाँत तथा मुखको स्वास्थ्यमा समस्या आउन नदिन समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक हुन्छ । मुख लामो समयसम्म सुकिरहने, र्याल निकै कम बन्ने वा समस्या निरन्तर बढ्दै गएमा आफै उपचार नगरी चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।
कर्मचारीको तलबभत्तामा जीवन बीमा कम्पनीले गरे ७ अर्ब खर्च
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा ७ अर्बभन्दा बढी रकम खर्चिएका छन् । बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले १ वर्षमा ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका हुन् । अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खर्च गरेका थिए । अघिल्लो आवको तुलनामा तलबभत्तामा गर्ने खर्च ५.०५ प्रतिशतले बढेको हो । एक वर्षको अवधिमा कर्मचारीको तलबभत्तामा हिमालयन लाइफले सबैभन्दा धेरै खर्च गरेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले ८५ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ । कर्मचारीको तलबभत्तामा धेरै खर्च गर्ने दोस्रो कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले एक वर्षमा ८३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा जाने खर्च ५.३६ प्रतिशतले घटेको छ । त्यसैगरी, तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले कर्मचारीको तलबभत्तामा ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कर्मचारीको तलबभत्तामा जाने खर्च ४.३३ प्रतिशतले बढेको हो । एक वर्षमा कर्मचारीको तलबभत्तामा नेशनल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४९ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपालले ४७ अर्ब १३ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४७ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी, समीक्षा वर्षमा आईएमई लाइफले ४५ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ४४ करोड ५ लाख रुपैयाँ, सन नेपाल लाइफले ३९ करोड ४६ लाख रुपैयाँ, मेट लाइफले ३८ करोड ४२ लाख रुपैयाँ, एशिएन लाइफले ३७ करोड ८९ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३६ करोड ९८ लाख रुपैयाँ र राष्टिय जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेका छन् । समीक्षा वर्षमा पाँच कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम कटौती गरेको देखिएको छ ।