किमसँगको सम्बन्ध देखाउँदै ट्रम्पले घटाए सैन्य अभ्यास

फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ‘ठूलो कटौती’ गर्ने बताएका छन् । 

उनले उत्तर कोरियाली नेता किम जोङ उनको साथमा आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेकाले यस्तो निर्णय गरेको बताएका हुन् ।

ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत यस्तो बताएका हुन् । 

उनले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निःशस्त्रीकरण’ अभियानमा अमेरिकासँग सहभागी हुन अस्वीकार गरेको पनि बताएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘यी सैन्य अभ्यासहरू महँगा मात्र छैनन्, जसको ठूलो हिस्सा सधैं झैं अमेरिकाले नै बेहोर्छ । यसले पूर्ण रूपमा अनुचित र शत्रुतापूर्ण सन्देश पनि दिन्छ ।’

दक्षिण कोरियाले भने अमेरिकासँग हुने सैन्य अभ्यासहरू ‘निर्धारित कार्यक्रमअनुसार’ नै सञ्चालन हुने जनाएको छ । 

उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो घटनाक्रम उत्तर कोरियाले यही महिना संयुक्त राष्ट्रसंघबाट प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेकै समयमा आएको हो ।

ट्रम्पले आइतबारको सामाजिक सञ्जाल पोस्टमा सैन्य अभ्यास रद्द गर्न अब ‘धेरै ढिलो भइसकेको’बताएका छन् । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि आफ्नो वार्षिक सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका छन् ।

ट्रम्पले थप लेखेका छन्, ‘मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक रिपब्लिक अफ इरानको परमाणु निःशस्त्रीकरणमा अमेरिकासँग सहभागी हुन चाहनुहुन्छ कि भनेर सोधेको थिएँ । उहाँले भन्नुभयो, ‘होइन, धन्यवाद । ’

ट्रम्पको यस्तो भनाइ उनले किम जोङ उनसँगको सन् २०१९ को पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको २४ घण्टा नबित्दै आएको हो । 

तस्बिरसँगै ट्रम्पले आफू र किम ‘धेरै राम्रा साथी’ भएको बताएका थिए । यद्यपि उक्त तस्बिरमा दुवै नेताको अनुहारको भाव भने खासै मित्रवत् देखिँदैन ।

Share News