नाडा अटो शो नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुन्छ : अध्यक्ष उप्रेती

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेती ।

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वर्ष को अवसरमा १८ औं संस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ ।

सोमबार (आज) पत्रकार सम्मेलन गर्दै नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस पटकको अटो शो केवल विदेशी ब्रान्डको प्रदर्शनीमा मात्र सीमित नभई नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुने बताएका छन् ।

अध्यक्ष उप्रेतीले ५ दशक लामो नाडाको यात्रा नेपालको समग्र आर्थिक र औद्योगिक विकाससँग जोडिएको उल्लेख गर्दै यस वर्षको संस्करण अटोमोबाइल क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

विद्युतीय सवारी र आधुनिक प्रविधिमा जोड यस वर्षको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) लाई विशेष प्राथमिकता दिइएको छ ।

‘नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी ईभीको आधुनिक प्रविधि र दिगो गतिशीलतालाई एउटै छानामुनि प्रदर्शन गर्ने यो एउटा भव्य मञ्च हुनेछ,’ अध्यक्ष उप्रेतीले भने । 

उनले यस मेलाले वर्तमान समयमा केही शिथिल बनेको बजारलाई चलायमान बनाउन र उपभोक्ताहरूमा नयाँ उत्साह भर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

अध्यक्ष उप्रेतीले अब नेपाल अटोमोबाइलमा आयातमा मात्र निर्भर नरहेको सन्देश दिन खोजिएको बताए । 

यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादित यात्री इलेक्ट्रिक्सका साथै स्वदेशमै एसेम्बल गरिएका स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पाट्र्सहरूलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए ।

उनले भने, ‘नेपाल अब गाडी आयात गर्ने मात्र होइन, भोलिका दिनमा उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ भन्ने स्पष्ट सन्देश हामी दिन चाहन्छौं । स्वदेशी उद्योगतर्फको यो ठोस कदमलाई हामीले गर्वका साथ प्रदर्शनीमा राख्नेछौं ।’

सवारी साधनलाई केवल विलासिताको वस्तुका रूपमा मात्र नहेरी यसलाई आर्थिक समृद्धिको अनिवार्य साधनका रूपमा बुझ्न र बुझाउन जरुरी रहेको अध्यक्ष उप्रेतीको भनाइ छ । 

भदौमा आयोजना हुने यस मेलाले देशको अर्थतन्त्रलाई गति दिन र अटोमोबाइल क्षेत्रको भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने नाडाले अपेक्षा गरेको छ ।

Share News