विकासन्युज

महेन्द्र राजमार्ग अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं । सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले महेन्द्र राजमार्गअन्तर्गत चिसापानी-अत्तरिया-गड्डाचौकी सडक खण्डको सडक क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ । सडक डिभिजन महेन्द्रनगरले सडक केन्द्रबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने जनाएको छ । कार्यालयले सडक विभागको स्वीकृति बिना स्थायी तथा अस्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने, मालवस्तु बिक्रीका लागि राख्ने, नालो पुरेर प्रवेश मार्ग बनाउने, सडक संरचना भत्काउने तथा ढल वा पानी सडक किनारको नालामा मिसाउने जस्ता कार्य सार्वजनिक सडक ऐन, २०३१ अनुसार निषेध गरिएको उल्लेख गरेको छ । सडक सीमाभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । कार्यालयले तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा (३) बमोजिम सडक डिभिजन कार्यालय आफैंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८३÷८४ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । छात्रवृत्तिका लागि आवेदन फाराम जेठ १ गतेदेखि भर्न सकिनेछ भने आवेदन दिने अन्तिम समय जेठ १० गतेसम्म तोकिएको छ । महानगरपालिकाका अनुसार विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ । महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

काठमाडौं । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा-लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माणसमेत जारी छ । लुम्बिनी आउने पर्यटकका साथै काठमाडौं, पोखरा, चितवन र बर्दिया जाने पर्यटक पनि भैरहवा हुँदै आवतजावत गर्दा जिल्लामा बसोबास गर्ने क्रम बढेको व्यवसायी बताउँछन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रुपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताए । उनले जिल्लामा सञ्चालनमा रहेका ठूला होटलसँगै थप नयाँ परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।  हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज सञ्चालनमा छन् । भैरहवा-लुम्बिनी सडक खण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल अन्तिम चरणमा पुगेको बताइएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताए । उनले सीमावर्ती भारतबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई विश्राम तथा गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी किशोर जोशीले जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटन प्याकेज आवश्यक रहेको बताए । उनका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने भएकाले बसाइ लम्ब्याउन सकिए आर्थिक गतिविधि अझै बढ्नेछ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका  पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रुपन्देहीमा प्रवेश गर्न थालेपछि जिल्लाको पर्यटन छवि थप बलियो बनेको बताए । उनले हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा उत्साह थपिएको उल्लेख गरे । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी बढेको छ । भैरहवा र बुटवल क्षेत्रमा तारेहोटल, रिसोर्ट तथा क्यासिनोसमेत सञ्चालनमा आएसँगै रुपन्देही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाको भनाइ छ ।

प्रतिनिधि र राष्ट्रिय सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । आजको बैठकमा पनि सांसदहरूले नीति तथा कार्यक्रममाथि छलफल जारी राख्नेछन् । छलफलपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । चालु अधिवेशनमै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो १२:१५ बजे बस्ने तय भएको छ । राष्ट्रिय सभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

बागमती र गण्डकीमा हल्का वर्षा हुँदै, यी प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लामा हुरीबतास, असिना, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बक्यौता नतिर्ने ठेकेदार सरकारी सेवाबाट बञ्चित, जनप्रतिनिधि पनि परे

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो काठमाडौं । कैलाली स्थित भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया  छन् ।  नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । उनका अनुसार व्यक्तिका हकमा स्वास्थ्य सेवालाई भने रोकिएको छैन । ठेक्का लिने व्यक्तिले बक्यौता नतिर्दा उसको तीन पुस्ते विवरण अनुसारको सेवासुविधा रोकिएको छ । वि.सं २०७२ देखि नगरपालिकाले तालतलैया माछा पालनका लागि ठेक्का दिँदै आएको थियो । ठेक्का लिने व्यक्ति तथा फार्मले समयमा सम्झौता अनुसारको रकम नतिर्दा नगरपालिकाको राजस्व खुम्चिएको छ । नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत तालतलैया हुन् । यस नगरपालिकामा दर्जनौं तालतलैया छन् । जहाँ माछा पालनका लागि निकै उपयुक्त मानिन्छन् । अहिलेसम्म तालको बक्यौता ५ करोड ६९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । २७ फार्म वा व्यक्तिले नगरपालिकालाई तालतलैयाको बक्यौता बुझाउन बाँकी छ । सबैभन्दा बढी तालको बक्यौता तिर्न बाँकी कैलाली मत्स्‍य तथा कृषि कम्पनी प्रालिका प्रेमबहादुर भुलको देखिएको छ । उनले १ करोड ९२ लाख ४ हजार ३६० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । २ करोड २९ लाख ६६ हजार १५९ रुपैयाँमा ठेक्का भएको घोरताल र गिदिनियातालको ३७ लाख ७१ हजार ७९९ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका राजस्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिए । तालको बक्यौता नतिर्ने जनप्रतिनिधि पनि छन् । वडा नं ४ का वडा सदस्य ताल बहादुर चौधरीले श्रीमतीका नाममा वडा नं ४ मै रहेको लोटिहुवा सोरहवाताल ठेक्कामा लिएका थिए । २ कार्यकाल वडा सदस्य निर्वाचित भएका तालबहादुरले तालको ठेक्का सम्झौता श्रीमतीका नाममा गराए पनि त्यसको सञ्चालन आफैंले गर्दै आएका थिए ।  २७ लाख ४७ हजार २९५ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त तालको अझै २२ लाख ९७ हजार २९५ रुपैयाँ बक्यौता छ भने ४ लाख ५० हजार रुपैयाँ मात्रै भुक्तानी भएको राजस्व शाखा प्रमुख उपाध्यायले बताए । अहिले नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधाबाट वडा सदस्य चौधरी पनि वञ्चित भएका छन् ।  ‘मेरो बक्यौता नतिर्ने मनस्थिति चाहिँ होइन । कहिले सामुदायिक वनको मुद्दा, कहिले नगरपालिकाको मुद्दाले ताल सञ्चालन गर्न नसकेका कारण केही छुट पाउने आशाले ढिला भएको हो,’ तालबहादुरले भने, ‘अब त झन नतिरेर सुखै छैन । सरकारबाट प्राप्त हुने सबै सेवासुविधा रोकिएका छन् । जेठभित्र जसरी पनि तिर्छु ।’ नगरपालिका र सामुदायिक वनको विवादले काम गर्न नपाउँदा तालबाट लिनुपर्ने आम्दानी लिन नसकेपछि समयमा बक्यौता तिर्न नसकिएको उनको भनाइ छ । नगर प्रमुख केवल चौधरीले बक्यौताका लागि पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि सुविधा रोक्नुपरेको बताए । उनका अनुसार आफ्नो नाममा रहेको बक्यौता तिरेपछि भने उसको सेवासुविधा फुकुवा हुनेछ ।  ‘कुनै सीप नलागेपछि अन्ततः बक्यौता उठाउनैपर्ने हुँदा सेवासुविधा रोकेका हौँ ।  उनले भने, ‘यति गर्दा पनि भएन भने फेरि यसपछिका प्रक्रिया चरणबद्ध अगाडि बढाइने छन् ।’

ऊर्जा आयोगलाई थप शक्तिशाली बनाइँदै, जलश्रोतसम्बन्धी छाता कानुन आउँदै

काठमाडौं । जलश्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलश्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिनेछ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् । मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलश्रोतको संरक्षण, बहु आयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो । यससँगै जल उत्पन्न विपद् न्यूनीकरण, जलश्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई  विधेयकले प्राथमिकतामा राखेको छ । विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलश्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । आयोगको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिइएको छ । मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम समानान्तर रूपमा अघि बढाएको छ, ताकि कानुन पारित भएसँगै कार्यान्वयनमा लैजान सहज होस् । सरकारले संसदको चालु अधिवेशनबाटै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मस्यौदालाई जेठ पहिलो साताभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषदमा स्वीकृतिका लागि पेस गर्ने तयारी भइरहेको छ । सङ्घीय संरचनाअनुसार जलस्रोत व्यवस्थापनको स्पष्ट कानुनी आधारको अभाव हुँदा विभिन्न तहका सरकारबीच अधिकार क्षेत्र, आयोजना स्वीकृति तथा स्रोत उपयोगमा अन्योल देखिँदै आएको थियो । नयाँ विधेयकले त्यस्ता अस्पष्टता हटाउँदै जलश्रोतको विकासलाई संस्थागत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

सडक बन्द गरेर न्युयोर्कमा नेपाल डे परेड हुँदै, ५ हजार सहभागी हुने

काठमाडौं । अमेरिकास्थित न्युयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्युयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिए । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ । एनआरएनए न्युयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ-संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको हो । न्युयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ । पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, सङ्गीत तथा वेषभूषा प्रदर्शनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्नु परेको उद्देश्य हो । विदेशीलाई नेपालको कला-संस्कृति देखाएर नेपाल घुम्न जान आकर्षित गर्न सकिने विश्वास आयोजकको छ । न्युयोर्क विश्वका सबैभन्दा धेरै डलर अर्बपति (बिलेनियर) बसोबास गर्ने सहर हो । यस वर्षको कार्यक्रममा करिब ५० सङ्घ-संस्थाको सहभागिता रहने छ । हरेक सङ्घसंस्थाबाट ५ जनाका दरले स्वयंसेवक परिचालन गरिनेछ । यस वर्ष करिब ५ हजार नेपालीहरूको सहभागिता रहने अपेक्षा रहेको फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताए । उनले भने, ‘परेडमा सहभागी झाँकीहरू २५ स्ट्रिटमा पुगेर सकिने छन्, समापन स्थलमा तयार पारिएको स्टेजमा सांस्कृतिक कार्यक्रममा सीमित व्यक्ति मात्रै सहभागी हुनेछन् ।’ नेपाल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ । आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिप्थ एभेन्यूसम्म पूरै सडक बन्द गरिने छ । सहभागीलाई ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ । त्यहाँबाट दिउँसो एक बजे परेड निस्कनेछ । आयोजक समितिका आर्थिक संयोजक कृष्ण लामिछानेले परेड आयोजनामा ३८ देखि ४० हजार अमेरिकी डलर खर्च हुने अनुमान रहेको बताए । अहिलेसम्म विभिन्न व्यवसायी, सङ्घसंस्था र व्यक्तिबाट करिब ३३ हजार डलरको प्रतिबद्धता आइसकेको उनको भनाइ छ । परेडमा सहभागी हुने २ हजारभन्दा बढीको बीमा गरिएको छ ।