बैंकको केवाईसी अपडेट गर्ने भन्दै ओटीपी लिएर ठगी गर्ने ४ पक्राउ

काठमाडौं । बैंकबाट फोन आएको भन्दै केवाईसी अपडेट गर्न लगाएर ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

बैंकबाट केवाईसी अपडेट गर्नुपर्ने भन्दै बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले पीडितलाई फोन तथा ह्वाट्सएपमा सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने गरेका थिए । त्यसपछि ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड मागेर कर्मचारीहरूको खातामा पहुँच पुर्याउने र खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

साइबर ब्युरोबाट गरिएको प्राविधिक विश्लेषणका आधारमा गिरोहमा संलग्न व्यक्तिहरूको पहिचान भएको थियो । त्यसपछि सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा, डेताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही ठाउँका २२ वर्षीय विद्यासागर केवट र पर्सा, वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन् ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा आउने शंकास्पद फोन, सन्देश तथा ह्वाट्सएप सम्पर्कबाट सावधान रहन आग्रह गरेको छ । केवाईसी अपडेटका नाममा कसैले स्क्रिन सेयर गर्न वा ओटीपी कोड मागेमा उपलब्ध नगराउन पनि प्रहरीले सचेत गराएको छ ।

Share News