७० करोडमा मदिरा उद्योग खोल्दै ओली, बैंकबाट ५६ करोड ऋण लिँदै

काठमाडौं । हिमालयन लिक्विर्स प्राइभेट लिमिटेडले बर्दियाको राजापुरमा मदिरा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले राजापुरमा वार्षिक १ करोड लिटर मिश्रित मदिरा तथा १० हजार किलोलिटर स्पिरिट उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागेको हो ।

कुल ७० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीबाट लगानी गर्ने प्रस्ताव गरिएको छ । सन् २०२६ को जुलाईसम्म प्रवद्र्धकले प्रतिबद्ध स्वपुँजीको करिब २५ प्रतिशत रकम लगानी गरिसकेको छ । परियोजनाका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड रुपैयाँ ऋण लिने तयारी गरेको छ ।

कम्पनीका अनुसार परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेको छ । जुलाई २०२६ सम्म जग्गा प्राप्तिको काम मात्र अघि बढेको छ भने परियोजनाको वित्तीय प्रगति करिब ६ प्रतिशत रहेको छ । हिमालयन लिक्विर्सका प्रवर्द्धक तथा अध्यक्ष यज्ञबहादुर ओली हुन् । उत्पादन तथा बजार व्यवस्थापन क्षेत्रमा लामो समयदेखि आवद्ध ओली ओलीसँग सम्बन्धित प्रमुख व्यवसायमध्ये देउती गुट्खा उद्योग पनि एक हो । करिब दुई दशकदेखि नेपालको पश्चिमी क्षेत्रमा गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो ।

ओलीसँग सम्बन्धित अन्य व्यवसायमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स प्राइभेट लिमिटेड, राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड तथा देउती रियल इस्टेट प्राइभेट लिमिटेड रहेका छन् । कम्पनीको व्यवस्थापनमा समेत उत्पादन तथा व्यवसायिक क्षेत्रमा अनुभवी व्यक्तिहरू रहेको जनाइएको छ ।

हिमालयन लिक्विर्स उद्योग सञ्चालनमा आएपछि मिश्रित मदिरा तथा स्पिरिट उत्पादन गरिनेछ । बर्दियामा स्थापना हुने उद्योगले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै जिल्लाको औद्योगिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । उद्योगको स्थानलाई कच्चा पदार्थको उपलब्धता तथा ढुवानीका दृष्टिले रणनीतिक मानिएको छ । बर्दिया र कैलाली जिल्लाको नजिक रहेकाले आवश्यक कच्चा पदार्थको आपूर्ति तथा खरिद प्रक्रिया सहज हुने कम्पनीले अपेक्षा गरेको छ । साथै, नजिकै रहेका भारतीय बजारसम्मको पहुँचले कच्चा पदार्थको आपूर्ति व्यवस्थापनमा समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

प्रवद्र्धक समूहअन्तर्गतका अन्य कम्पनीसँगको सहकार्यबाट समेत हिमालयन लिक्विर्सले लाभ लिन सक्ने अपेक्षा गरिएको छ । विशेषगरी, समूहसँग सम्बन्धित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडले मदिरा तथा रेक्टिफाइड स्पिरिट उत्पादनका लागि आवश्यक मोलासेसको प्रमुख आपूर्तिकर्ताका रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित कम्पनीबाट मोलासेस उपलब्ध हुने भएकाले कच्चा पदार्थको आपूर्ति शृङ्खलालाई भरपर्दो बनाउन तथा बाह्य आपूर्तिमा निर्भरता र खरिदसम्बन्धी अनिश्चितता घटाउन सहयोग पुग्ने देखिन्छ । यसले उद्योगको सञ्चालनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, प्रवद्र्धक समूहअन्तर्गतका अन्य व्यवसायको स्थापित बजार उपस्थिति तथा वितरण सञ्जालले हिमालयन लिक्विर्सलाई व्यावसायिक उत्पादन सुरु गरेपछि बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समूहको विद्यमान बजार पहुँच र वितरण संरचनाको उपयोगबाट कम्पनीले प्रारम्भिक चरणमै उत्पादन बिक्री तथा बजार प्रवेशलाई गति दिन सक्ने देखिन्छ ।

तर, परियोजनाको प्रस्तावित लगानी संरचनामा ऋणको हिस्सा उच्च रहेकाले उद्योग सञ्चालनमा आएपछि कम्पनीको पुँजी संरचना ऋणमुखी हुने देखिन्छ । यसले विशेषगरी सञ्चालनको प्रारम्भिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढाउनेछ । उद्योग सञ्चालनमा आएपछि अनुमानित उत्पादन तथा कारोबारको स्तर हासिल गर्दै पर्याप्त नगद प्रवाह सिर्जना गर्न सक्नु कम्पनीका लागि महत्वपूर्ण हुनेछ । अपेक्षित उत्पादन तथा नगद प्रवाह हासिल गर्न नसकेमा ऋण भुक्तानी क्षमतामा दबाब पर्न सक्ने जोखिम रहेको छ ।

कम्पनीले उत्पादन प्रक्रियामा मुख्य रूपमा उखुको मोलासेस, स्पिरिट तथा चामल, मकै र गहुँजस्ता अन्नलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्नेछ । यी कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले कच्चा पदार्थको मूल्यवृद्धिले कम्पनीको नाफा तथा सञ्चालन आम्दानीमा दबाब पार्न सक्नेछ ।

यसैगरी, मदिरा उद्योग उच्च नियामकीय जोखिममा रहने भएकाले कम्पनीले उत्पादन, वितरण तथा बिक्रीसँग सम्बन्धित कडा कानुनी तथा नियामकीय व्यवस्था पालना गर्नुपर्नेछ । सरकारले अवैध मदिराको कारोबार नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि मदिरा उद्योगमा कडा निगरानी र नियन्त्रण गर्दै आएको छ ।

मदिरा उद्योग सञ्चालनका लागि इजाजतपत्रसम्बन्धी कडा व्यवस्था, अन्तःशुल्कमा हुने परिवर्तन तथा उत्पादनको गुणस्तर र कानुनी अनुपालनसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने हुन्छ । यस्ता व्यवस्थामा हुने परिवर्तनले कम्पनीको उत्पादन लागत, मूल्य निर्धारण तथा समग्र सञ्चालनमा प्रभाव पार्न सक्छ ।

कम्पनीले नियामकीय तथा कानुनी मापदण्ड पालना गर्न नसके आर्थिक जरिवाना, कानुनी कारबाही वा सञ्चालन अनुमति रद्द हुन सक्ने जोखिम रहन्छ । त्यसैले नियामकीय अनुपालन, परियोजना समयमै सम्पन्न गर्नु तथा उद्योग सञ्चालनपछि अपेक्षित उत्पादन र नगद प्रवाह हासिल गर्नु हिमालयन लिक्विर्सका लागि महत्वपूर्ण विषय हुने देखिन्छ ।

Share News