रिकोभरिसँगै विजनेश ग्रोथमा कामना सेवा विकास बैंक
काठमाडौं । करिब तीन-चार वर्षअघि कामना सेवा विकास बैंकको झापास्थित दमक शाखामा कम धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चारजना पक्राउ परे । पछि उनीहरू हाजिरी जमानीमा रिहा भएका थिए । तत्कालीन शाखा प्रबन्धकले ऋणीसँगको मिलेमतोमा कर्जा अपचलन गरेको अनुसन्धानबाट देखिएपछि बैंकको नेतृत्वसमेत अनुसन्धानको दायरामा आएको थियो । ‘त्यहाँ रक्षक नै भक्षक जस्तो देखियो । शाखा प्रबन्धकलगायत प्रदेश प्रमुखको भरमा हेडअफिसबाट काम भयो । उनीहरूले बेइमानी गरेको पाइयो । त्यसले ठूलो समस्या निम्त्यायो । तर अहिले त्यो समस्या समाधानउन्मुख छ,’ बैंकका सञ्चालक चतुराखर अधिकारीले भने । उक्त घटना कोभिड-१९ महामारीकै समयमा भएको थियो । महामारीका कारण शाखाहरूमा नियमित स्थलगत अनुगमन गर्न सहज थिएन । शाखाबाट पठाइएका कागजात र विवरणकै आधारमा हेडअफिसबाट कर्जा प्रक्रिया अघि बढ्ने अवस्था थियो । कोभिडको प्रभाव कम भएपछि बैंकका जोखिम व्यवस्थापन, अडिटलगायतका कर्मचारी स्थलगत रूपमा पुगे । त्यसक्रममा कागजात र वास्तविक अवस्थाबीच फरक भेटियो । कतिपय कर्जा गलत तरिकाले प्रवाह भएको देखियो । यो घटनाले बैंकलाई एउटा कठोर पाठ सिकायो- कर्मचारीमाथि विश्वास गर्नुपर्छ, तर त्यो विश्वासलाई प्रणालीगत नियन्त्रणले पनि परीक्षण गर्नुपर्छ । ‘विश्वास पनि गर्नु र विश्वासलाई पूर्ण रूपमा नगरी शंकाको रूपमा हेर्नु भनेजस्तै हो । त्यतिबेला शंकाको हिसाबले हेर्न सकिएन । अब रक्षक नै भक्षक भएपछि के नै लाग्छ र ?’ अधिकारीले भने । कतिपय अवस्थामा पैसा आवश्यक नै नभएको व्यक्तिले आफ्नो जग्गा धितो राखेर कर्जा लिएको र त्यो पैसा आफन्तलाई दिएको भेटिएको उनले बताए । पछि बुझ्दा आफूले पैसा नलिएको, आफन्तले हस्ताक्षर गर्न लगाएपछि मात्रै कर्जा लिएको भन्ने अवस्थासमेत भेटिएको थियो । त्यस्तै, निश्चित ब्याज दिने प्रलोभनमा घरजग्गा धितो राखेर कर्जा लिन लगाउने अभ्याससमेत देखिएको उनको भनाइ छ । यस्ता घटनाले कर्जा स्वीकृत गर्दा कागजात मात्रै हेरेर नपुग्ने पाठ बैंकले सिक्यो । ऋणीको वास्तविक आवश्यकता, कर्जाको उद्देश्य, पैसाको प्रयोग र भविष्यको नगद प्रवाहसमेत हेर्नुपर्ने निष्कर्षमा बैंक पुग्यो । यिनै घटनापछि कामना सेवा विकास बैंकले आफ्नो क्रेडिट प्रणालीमा व्यापक सुधार गर्यो । कर्जा मूल्यांकनलाई स्वतन्त्र बनाइयो । कर्जा कहाँ प्रयोग भइरहेको छ भन्ने अनुगमनलाई कडा पारियो । असुली संयन्त्रलाई प्रभावकारी बनाइयो । जोखिम देखिएका कर्जामा सुरुदेखि नै निगरानी बढाइयो । तीन-चार वर्षसम्म बैंकको ध्यान मूलतः यही रह्यो- जोखिम घटाउने, खराब कर्जा उठाउने र आन्तरिक प्रणाली बलियो बनाउने । अब भने बैंक त्यो चरणबाट विस्तारै बाहिर निस्किन खोज्दैछ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहालका अनुसार बैंक अब रिकोभरीसँगै व्यवसाय विस्तारमा जाने तयारीमा छ । अर्थतन्त्र विस्तारै चलायमान हुने अपेक्षासँगै बैंकले साना तथा मझौला उद्यम (एसएमई), कृषि, उद्योग, रिटेल तथा होम लोनलाई प्राथमिकतामा राख्ने रणनीति बनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा ११ प्रतिशतको कर्जा विस्तारलाई लक्ष्य बनाएसँगै बैंकले पनि सोहीअनुसार व्यवसाय विस्तार गर्ने योजना बनाएको दाहाल बताउँछन् । ‘व्यापारिक वातावरण चलायमान हुन्छ भन्ने अपेक्षा छ । त्यो भयो भने एसएमई, कृषि र उद्योगमा फोकस गर्छौं । सँगसँगै कन्जुमर लोन, रिटेल प्रोडक्ट र होम लोनमा पनि केन्द्रित हुन्छौं,’ उनले भने । ‘विगत २-३ वर्ष हामीले रिकोभरीलाई प्राथमिकतामा राखेका थियौं । क्रेडिट प्रोसेस गर्ने, मोनिटर गर्ने र रिकोभरीलाई एकदमै स्ट्रङ्ग बनायौं । क्रेडिट पनि फिल्टर गरेर कन्जरभेटिभ हिसाबले काम गर्यौं । अहिले पनि रिकोभरीलाई प्राथमिकता दिन्छौं, तर अब बिजनेस एक्सपान्सनमा पनि जान्छौं,’ दाहालले भने । खराब कर्जाबाट सिकेको पाठ बैंकको अहिलेको रणनीति बुझ्न खराब कर्जाको अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा बैंकको कुल खराब कर्जा अनुपात ३.७७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ३.४९ प्रतिशत थियो । बैंकको कुल खराब कर्जामा २५ देखि ५० लाख रुपैयाँसम्म कर्जा लिएका ऋणीहरूको संख्या उल्लेख्य छ । यस्ता ऋणीमध्ये कतिपय व्यवसायमा आएको मन्दीका कारण ऋण तिर्न नसक्ने अवस्थामा छन् भने कतिपय जानाजान भुक्तानी नगर्ने प्रकृतिका छन् । त्यसैले बैंकले सबै ऋणीलाई एउटै दृष्टिकोणबाट हेरेको छैन । व्यवसाय नै नचलेर समस्या परेकालाई सहजीकरण गर्ने र जानाजान भुक्तानी नगर्नेलाई कडा असुली प्रक्रियामा लैजाने नीति बैंकको छ । ‘कतिपयको आम्दानी घटेर व्यवसाय नचलेका कारण ऋण तिर्न नसक्ने अवस्था छ । उहाँहरूलाई सहजीकरण र कन्भिन्स गराउँदै रिकोभरीमा जान्छौं,’ दाहालले भने । धितो बिक्री गर्नुपर्ने अवस्था आए पनि बैंक आफैंले हतारमा बिक्री गर्दा उचित मूल्य नआउन सक्ने भएकाले ऋणीलाई नै बिक्री प्रक्रियामा अग्रसर गराउने प्रयास भइरहेको उनले बताए । ‘बैंकले बेच्न खोज्यो भने उचित मूल्य नआउन सक्छ । उहाँहरू आफैंले इनिसियसन लिनुभयो भने राम्रो मूल्य पनि आउन सक्छ,’ उनले भने । आगामी रणनीतिको केन्द्रमा एसएमई भए पनि बैंकले एसएमई भन्नेबित्तिकै कर्जा दिने नीति लिएको छैन । बैंकमा छुट्टै इन्डिपेन्डेन्ट रिस्क डिपार्टमेन्ट छ । व्यवसायबाट आउन सक्ने जोखिमको स्वतन्त्र मूल्यांकन गरेपछि मात्रै कर्जा स्वीकृत हुने व्यवस्था गरिएको दाहाल बताउँछन् । ‘एसएमई भन्नेबित्तिकै सबैलाई दिइहाल्ने होइन । भायबल भएको र भविष्यमा क्यासफ्लो जेनेरेट गर्न सक्ने व्यवसायलाई प्राथमिकता दिन्छौं,’ उनले भने । अहिले एसएमई क्षेत्रमा देखिएको मुख्य समस्या मागमा आएको कमी भएको उनको बुझाइ छ । तर माग घटेको भन्दै पूरै क्षेत्रलाई जोखिमपूर्ण मान्न नहुने उनी बताउँछन् । आवश्यक जोखिम व्यवस्थापन, धितो र क्यासफ्लोको मूल्यांकनमार्फत जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । हाल बैंकको कुल कर्जामा करिब २५-३० प्रतिशत हिस्सा बिजनेस लोनको छ । करिब २० प्रतिशत माइक्रोफाइनान्सतर्फ छ भने बाँकी कर्जा रिटेल प्रकृतिको रहेको छ । एआईमा जोड व्यवसाय विस्तारसँगै कामना सेवा विकास बैंकले आफूलाई डिजिटल बैंकिङमा पनि फरक बनाउने प्रयास गरिरहेको छ । बैंकका अनुसार अहिले करिब ७०-८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । आन्तरिक प्रक्रियामा पनि एआई र अटोमेसन प्रयोग बढाइएको छ । नयाँ कर्मचारीलाई बैंकका प्रक्रिया र प्रणालीबारे जानकारी दिन आन्तरिक एआई च्याटबट प्रयोग भइरहेको छ । नियमित रिपोर्टिङ तथा दोहोरिरहने प्रक्रियामा रोबोटिक प्रोसेस अटोमेसन (आरपीए) प्रयोग भइरहेको दाहाल बताउँछन् । ‘डिजिटल बैंकिङ र एआईका इनोभेसन टुलहरू संस्थाभित्र र ग्राहकका लागि पनि इम्प्लिमेन्ट गर्ने हाम्रो मुख्य फोकस हो,’ उनले भने । यसलाई बैंकले एकपटकको परियोजनाका रूपमा नभई निरन्तर चल्ने प्रक्रियाका रूपमा लिएको छ । भविष्यमा आन्तरिक प्रणालीलाई अझ सक्षम र स्वचालित बनाउने योजना बैंकको छ । गभर्नेन्समा ‘नो कम्प्रोमाइज’ बैंकको रणनीतिको अर्को आधार भनेको कर्पोरेट गभर्नेन्स हो । एउटा ऋण तिर्न अर्को ऋण दिने, उच्च तहबाट दबाब आएपछि कर्जा स्वीकृत गर्ने वा व्यावसायिक निर्णयमा अनावश्यक हस्तक्षेप गर्ने अभ्यास बैंकमा नरहेको दाहालको दाबी छ । उनका अनुसार बैंकको अध्यक्षबाट निर्देशन आए पनि सीईओले त्यसलाई अस्वीकार गर्न सक्ने वातावरण छ । त्यस्तै, तल्लो तहका कर्मचारीले पनि कुनै प्रक्रिया वा निर्णयमा असहज महसुस गरेमा आफ्नो असहमति राख्न सक्ने व्यवस्था छ । ‘गभर्नेन्स हाम्रो मुख्य प्लेटफर्म हो । त्यसमा कुनै हिसाबले कम्प्रमाइज गर्न सकिँदैन,’ उनले भने । यही कारण बैंकले अवसर देखियो भन्दै हतारमा जोखिम लिने वा अवसर नदेखिँदा पूर्ण रूपमा पछि हट्नेभन्दा स्थिर र दीगो वृद्धिको अवधारणा अघि सारेको उनले बताए । बैंकले सञ्चालन खर्च नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ । युटिलिटी, जेनेरल खर्चलगायत नियमित खर्चको शाखागत रूपमा अनुगमन भइरहेको छ । खर्च घटाउन सफल शाखालाई आन्तरिक रूपमा प्रोत्साहन गर्ने अभ्याससमेत गरिएको छ । तर खर्च घटाउने नाममा शाखा सञ्जाल कटौती गर्ने योजना भने छैन । विद्यमान शाखाहरू यथावत सञ्चालन हुनेछन् । नयाँ शाखा खोल्ने तत्कालको योजना पनि बैंकको नरहेको उनले बताए । बरु दोहोरिने र डिजिटल माध्यमबाट समाधान गर्न सकिने कामलाई आरपीए तथा अन्य अटोमेसन प्रविधिमार्फत स्वचालित बनाउँदै कर्मचारी लागत घटाउने प्रयास भइरहेको उनको भनाइ छ । यस्तो छ वित्तीय अवस्था गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद नाफा ३३.५० प्रतिशत बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशत बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशत बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो । गत वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको थियो । बैंकले क्षमता अनुसारको लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । १५ प्रतिशत लाभांंश प्रस्ताव पारित गर्न बैंकले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बोलाएको छ ।
प्रभु बैंकका म्यानेजर नन्दराज जोशी धरौटीमा रिहा
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार उच्च अदालत, पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा प्रवाहमा कैफियत देखिएको प्रारम्भिक अनुसन्धानका आधारमा जोशीलाई प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको थियो । एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका थिए ।
'आउट सोर्सिङबाट आएका श्रमिकका हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैन'
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘आउट सोर्सिङ’मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले यस्तो बताएका हुन् । उनले आउट सोर्सिङबाट आएको श्रमिक भए पनि उसको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पारे । 'आउट सोर्सिङबाट काम लगायौँ भन्दैमा रोजगारदाता आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । श्रमिक ल्याउँदै गर्दा आउट सोर्सिङ कम्पनीले त्योअनुसारको पैसा दिएको छ कि छैन, त्यो बिल भर्पाइ हेर्ने जिम्मा त तपाईंको हो नि,' उनले भने । उनले अदक्ष श्रमिकका हकमा रोजगारदाताले सुरुका तीन महिना आवश्यक तालिम उपलब्ध गराउनुपर्ने बताए । त्यसपछि राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने व्यवस्था कार्यान्वयनमा समस्या देखिएको उनले उल्लेख गरे । महानिर्देशक पाण्डेले श्रम ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याको समाधानका निम्ति श्रमिक र रोजगारदाता दुवैलाई कानुनबारे जानकारी र सचेत गराउन आवश्यक रहेको बताए ।
प्रभु बैंककी बिजनेस अफिसर रश्मी पन्त धरौटीमा रिहा
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंककी 'चिफ बिजनेस अफिसर' रश्मी पन्तलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बैंकको उच्च व्यवस्थापकीय तहमा रही ‘प्री डिस्ब्रसमेन्ट’ को स्वीकृति तथा नीतिगत निर्णय प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेको देखिएको आदेशमा उल्लेख छ । आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बम्रोजिम उक्त रकम नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी दिए लिई तारेखमा राख्नु लेखिएको छ । दुई साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको थियो ।
नापीका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बिगो, श्रीमती पनि प्रतिवादी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडी विरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार साहले सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले २०४६ वैशाख १६ देखि २०८१ जेठ ३२ गतेसम्म को अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो । उक्त अवधिमा साह र उनको एकासगोल परिवारको वैधानिक आय तथा खर्चको विश्लेषण गर्दा आयभन्दा खर्च अत्यधिक रहेको पाइएको आयोगले जनाएको छ । अनुसन्धानका क्रममा साहले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, शेयर बिक्री, कृषि, छात्रवृत्ति, ब्याज, बीमा परिपक्व तथा समर्पण, ऋण–सापटीलगायत विभिन्न स्रोतबाट कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ । तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण–सापटी भुक्तानी, बैंक मौज्दात तथा लगानीलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको छ । यसरी वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च तथा लगानी गरेको देखिएको अख्तियारको भनाइ छ । आयोगका अनुसार उक्त रकमको स्रोत पुष्टि हुन नसकेको र सम्पत्ति विवरणसँग समेत मेल नखाने देखिएपछि साहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको हो । अख्तियारले साहलाई बिगोबमोजिम कैद तथा जरिवाना, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत र झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा समेत थप सजायको मागदाबी गरेको छ । साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत सम्पत्ति खरिद तथा लगानी गरिएको देखिएको आयोगले जनाएको छ । सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी कायम गरिएको छ ।
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा
काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ । साझेदारीअन्तर्गत योग्य एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् । सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले बहिरङ्ग सेवामा चिकित्सकसँग निःशुल्क परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यससम्बन्धी सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरेका छन् । एनसेलका दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत थप लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी गरिएको बताए । उनका अनुसार ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन् । यो सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपमा ग्राहकले पाउने सुविधाको विवरण स्वतः देखिनेछ । योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि यो सुविधाको लाभ लिन सक्नेछन् । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले साझेदारीले स्वास्थ्य सेवामा पहुँच मात्रै नभई गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए । एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको सहकार्यबाट ग्राहकलाई दैनिक जीवनमा उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ ।
भारत जाँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारत जाने भएका छन् । उनी सेप्टेम्बरमा नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनसक्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार तीनवटा स्रोतले चिनफिङ ठूलो प्रतिनिधिमण्डलसहित भारत आउन सक्ने जानकारी दिएका छन् । यो सात वर्षपछि जिनपिङको पहिलो भारत भ्रमण हुनेछ । यसलाई भारत र चीनबीचको सम्बन्ध सुधार हुँदै गएको अर्को संकेतका रूपमा हेरिएको छ । भारतले आगामी सेप्टेम्बर १२ र १३ मा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ । रोयटर्सका अनुसार सम्मेलनमा जिनपिङको सहभागितालाई ब्रिक्सको एजेन्डाभन्दा पनि सन् २०२० को घातक सीमा संघर्षपछि भारत र चीनबीचको सम्बन्ध सामान्य बनाउने प्रयासबारे दिने संकेतका रूपमा बढी चासोका साथ हेरिनेछ । एक भारतीय स्रोतले रोयटर्सलाई भनेका छन्, ‘चिनियाँ अधिकारीहरू होटल र सुरक्षा व्यवस्थासम्बन्धी तयारीलाई अन्तिम रूप दिन जुटिरहेका छन् ।’ अन्य दुई भारतीय स्रोतका अनुसार जिनपिङसँग करिब ४०० अधिकारीको प्रतिनिधिमण्डल भारत आउने सम्भावना छ । सन् २०१९ मा उनको पछिल्लो भारत भ्रमणका क्रममा भने २०० भन्दा कम अधिकारी उनीसँगै आएका थिए ।
३ लाख ९९ हजारमा रिभोल्ट आरभीएक्स, नाडा अटो शोमा सार्वजनिक
काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रिभोल्टको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त विद्युतीय बाइक भएको दाबी गरेको छ । कम्पनीका अनुसार नेपालमा विद्युतीय गतिशीलतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ ल्याइएको आरभीएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शोस्थित रिभोल्ट पेभिलियन र काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमबाट बाइकको बुकिङ र टेस्ट राइड सुरु भइसकेको छ । आरभीएक्समा ४ किलोवाट क्षमताको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ, जसले ५.३ किलोवाट पिक पावर र २३० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार बाइकले ३.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ भने ‘बुस्ट मोड’मा ९० किलोमिटर प्रतिघण्टासम्म दौडिन सक्षम छ । यसमा ३.२४ किलोवाट–आवर क्षमताको निकाल्न मिल्ने एनएमसी ब्याट्री जडान गरिएको छ । फास्ट चार्जरबाट ८० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो बाइकले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्मको आईडीसी रेन्ज दिने कम्पनीले जनाएको छ । आरभीएक्समा ३.५ इन्चको पीएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड र वाक असिस्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ । यो बाइक पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ । बाइक सार्वजनिकसँगै एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले ‘नेपाल गर्छ रिभोल्ट’ नामक नयाँ ब्रान्ड अभियान पनि सुरु गरेका छन् । कम्पनीका अनुसार यो अभियान नयाँ पुस्ताका नेपाली राइडरको आत्मविश्वास, पहिचान र दिगो यात्राको सन्देशसँग जोडिएको छ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बढ्दो इन्धन मूल्य र वातावरणीय चेतनाका बीच आरभीएक्सले शैली र कार्यक्षमतामा कुनै सम्झौता नगरी किफायती तथा दिगो विकल्प दिने बताए । रतनइन्डिया इन्टरप्राइजेजकी अध्यक्ष अञ्जली रतनले नेपाल रिभोल्टका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको उल्लेख गर्दै आरभीएक्सले पर्फर्मेन्स विद्युतीय बाइकको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरिन् । कम्पनीका अनुसार काठमाडौं, पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, जनकपुर, नेपालगन्ज र धनगढीलगायत प्रमुख सहरमा रहेका एमभी दुगड ग्रुपका शोरुमबाट बाइकको बिक्री, डेलिभरी र सर्भिस सुविधा उपलब्ध हुनेछ ।