४७ वर्षपछि अमेरिकाको ‘आतंकवादी सूची’बाट हट्यो सिरिया

काठमाडौं । अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवादी सूची’बाट हटाएको छ ।

अमेरिकी प्रशासनका अनुसार सिरियालाई सूचीबाट हटाउने निर्णयको उद्देश्य त्यहाँ विदेशी लगानीको बाटो सहज बनाउनु र सिरियालाई पुनः विश्व अर्थतन्त्रमा जोड्नु हो ।

सिरिया सूचीबाट हटेपछि अमेरिकाको ‘आतंकवादलाई बढावा दिने देश’को सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने बाटो खोल्ने बताएका छन् । 

यससम्बन्धी प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा अघि सारिएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै यस कदमले सिरियामा थप लगानी भित्र्याउन सहयोग गर्ने र राजनीतिक तथा आर्थिक स्थायित्व बलियो बनाउने बताएका छन् ।

यसअघि ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग पनि सम्बन्ध विस्तार गरेको छ । 

अल–शरा यसअघि एक उग्रवादी संगठनका नेता थिए र कुनै समय अमेरिकाले उनको पक्राउका लागि पुरस्कारसमेत घोषणा गरेको थियो । 

उनले अल–कायदासँग सम्बन्धित एउटा संगठनको नेतृत्व गरिसकेका छन् ।

गत वर्ष अमेरिकाले अहमद अल–शराको नेतृत्वमा रहेको इस्लामिक संगठन हयात तहरीर अल–शाम (एचटीएस) लाई आफ्नो ‘आतंकवादी संगठन’को सूचीबाट हटाएको थियो ।

Share News