काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले चीनबाट आएको भीषण बाढीका कारण त्रिशूली करिडोरमा रहेका १५ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको जानकारी दिएका छन् । बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट गरी करिब ४३० मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको उनले बताए ।
यति ठूलो परिमाणमा विद्युत् उत्पादन बन्द भए पनि प्राधिकरणले आन्तरिक व्यवस्थापन गरी हालसम्म देशभर लोड व्यवस्थापन गर्न र विद्युत् कटौती हुन नदिन सफल भएको श्रेष्ठले स्पष्ट पारे ।
बाढी र पहिरोले पुर्याएको भौतिक क्षतिसँगै मानवीय संकट पनि उत्तिकै गहिरो रहेको श्रेष्ठले उल्लेख गरे। उनकाअनुसार त्रिशूली ३-ए, रसुवागढी, चिलिमे र त्रिशूली-३बी लगायतका आयोजनाका टनेल तथा पावर हाउसभित्र २०० भन्दा बढी कर्मचारी र श्रमिक थुनिएका छन् ।
बाढीले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको र आयोजना स्थलहरू बन्जर भूमिमा परिणत भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
विशेषगरी त्रिशूली-३ए मा थुनिएका कर्मचारीहरूको अवस्था अझै अज्ञात रहेकाले उनीहरूको जीवनरक्षाका लागि प्राधिकरणको टोली युद्धस्तरमा खटिएको उनले जानकारी दिए ।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठले उद्धार कार्यका लागि नेपाली सेना, गृह मन्त्रालय र विपद् व्यवस्थापन सेलसँग निरन्तर समन्वय भइरहेको बताए ।
टनेलभित्र रहेकाहरूलाई अक्सिजनको कमी हुन नदिन केबल डक्टबाट प्वाल पारेर हावा पठाउने प्रयास भइरहेको र हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए ।
उद्धारमा सहयोग पुर्याउन पर्वतारोहीहरूलाई समेत परिचालन गरिएको र पुरानो नक्सा तथा गुगल म्यापको सहायताले थुनिएका स्थानहरूको पहिचान गर्ने काम भइरहेको उनले उल्लेख गरे ।
विद्युत् आपूर्ति पुनःस्थापनाको सन्दर्भमा बोल्दै श्रेष्ठले बाढी प्रभावित नुवाकोट र रसुवामा वैकल्पिक व्यवस्था गरिएको बताए ।
हिजो दिनभरको प्रयासपछि सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको प्रसारण लाइनमार्फत नुवाकोट र बट्टार क्षेत्रमा बिजुली सुचारु गरिएको र आज धुन्चे क्षेत्रमा विद्युत् पुनः सञ्चालन गर्ने काम भइरहेको उनले जानकारी दिए ।
प्राकृतिक विपत्तिका कारण उत्पन्न यस कठिन घडीमा मानवीय क्षति कम गर्ने र विद्युत् सेवालाई यथाशक्य छिटो पूर्ववत् अवस्थामा फर्काउन प्राधिकरण प्रतिबद्ध रहेको उनले विश्वास दिलाए ।