विकासन्युज

पाकिस्तानमा अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना

काठमाडौं । मध्यपूर्वमा जारी तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले हाल संयुक्त राज्य अमेरिकासँगको वार्तामा भाग लिने कुनै योजना नभएको स्पष्ट पारेको छ । यो घोषणा यस्तो समयमा आएको छ जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई सोमबार पाकिस्तान जान निर्देशन दिएको छ र कूटनीतिक प्रयास तीव्र पारिएको छ ।      इरानी राज्य सञ्चारमाध्यमका अनुसार वर्तमान परिस्थितिमा अमेरिका–इरान वार्ताको अर्को चरणमा सहभागी हुने कुनै तयारी छैन । इरानका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दी र हालैका घटनाहरूले वार्ताको वातावरणलाई नकारात्मक बनाएको छ ।      तनाव थप चर्किने क्रममा आइतबार एक अमेरिकी नौसेनाको युद्धपोतले इरानी झण्डा बोकेको एक मालवाहक जहाजमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको अमेरिकी पक्षले जनाएको छ । राष्ट्रपति ट्रम्पले उक्त जहाजले अमेरिकी नौसैनिक अवरोध पार गर्न खोजेको आरोप लगाउँदै जहाज कब्जा गरिएको बताए । उनका अनुसार अहिले अमेरिकी मरीनहरूले उक्त जहाज नियन्त्रणमा लिएका छन् ।      यस घटनापछि इरानले अमेरिकी सैन्य जहाजहरूतर्फ ड्रोन पठाएको दाबी गरिएको छ । इरानी समाचार एजेन्सी तस्नीमका अनुसार यो कदम अमेरिकी कारबाहीको प्रतिवादस्वरूप गरिएको हो । साथै, इरानले बदला लिने चेतावनीसमेत दिएको छ ।      इरानी राज्य प्रसारणकर्ता आइआरआइबीले सरकारी स्रोत उद्धृत गर्दै हालका अवस्थामा वार्तामा सहभागी हुने कुनै योजना नभएको जनाएको छ । फार्स र तस्नीम समाचार एजेन्सीहरूले समेत अमेरिकी नाकाबन्दी हटाउनु नै वार्ताका लागि पूर्वशर्त भएको उल्लेख गरेका छन् । उनीहरूका अनुसार वर्तमान वातावरण ‘वार्ताका लागि अनुकूल छैन’ ।      इरानको आधिकारिक समाचार संस्था आइआरएनएले पनि अमेरिकी नाकाबन्दी र ‘अनुचित तथा अवास्तविक मागहरू’ का कारण फलदायी वार्ताको सम्भावना कमजोर रहेको जनाएको छ ।      यो तनाव फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणपछि सुरु भएको द्वन्द्वसँग जोडिएको छ, जसले मध्यपूर्वमा ठूलो स्तरको युद्ध रोकिएको भए पनि अस्थिरता कायम राखेको छ । हाल लागू दुई हप्ते युद्धविरामको समयसीमा समाप्त हुन केही दिन मात्र बाँकी छ ।      यसबीच, इरान र अमेरिका बीचको पछिल्लो वार्ता अप्रिल ११ मा इस्लामाबादमा भएको थियो, जुन २१ घण्टा लामो भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि, त्यसपछि नयाँ संवादका लागि आधार तयार पार्ने प्रयासहरू जारी रहेका छन् ।      राष्ट्रपति ट्रम्पले वार्ताबारे आशावादी देखिँदै इरानलाई ‘न्यायसङ्गत सम्झौता’ स्वीकार गर्न आग्रह गरेका छन् । उनले सम्झौता नभए इरानको पूर्वाधारमाथि थप दबाब दिने चेतावनी दोहोर्‍याएका छन् ।      तनाव थप गहिरिँदै जाँदा महत्त्वपूर्ण जलमार्ग होर्मुजको स्ट्रेट पनि विवादको केन्द्र बनेको छ । इरानले युद्धको सुरुमा यस मार्ग आंशिक रूपमा बन्द गरेको थियो भने पछि केही समयका लागि खोलिएको भए पनि अमेरिकी नाकाबन्दी जारी रहेपछि पुनः बन्द गरिएको थियो ।      यो जलमार्ग विश्वको करिब पाँचौँ हिस्सा तेल र प्राकृतिक ग्यास ढुवानी हुने प्रमुख मार्ग हो । यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ ।      अमेरिकी पक्षले इरानी तेल राजस्व घटाउने उद्देश्यले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लागू गरेको छ । आइतबार भएको घटनामा राष्ट्रपति ट्रम्पले अमेरिकी नौसेनाले चेतावनीपछि इरानी जहाजलाई नियन्त्रणमा लिएको दाबी गरे ।      इरानले भने यसलाई ‘समुद्री डकैती’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । इस्लामिक रिभोलुसनरी गार्ड्सले बिना अनुमति जलमार्ग पार गर्ने कुनै पनि जहाजलाई लक्षित गरिने चेतावनी दिएको छ ।      यसैबीच, पाकिस्तानमा हुने भनिएको वार्तालाई लिएर इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । सडक बन्द, ट्राफिक नियन्त्रण र सुरक्षा निगरानी कडा पारिएको छ ।      वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने बताइएको छ भने मध्यपूर्वका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि सहभागी हुने अपेक्षा गरिएको छ ।      वार्ताको प्रमुख मुद्दामध्ये एक इरानको उच्च समृद्ध युरेनियम भण्डार रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले केही युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गरेका छन्, तर इरानी विदेश मन्त्रालयले भने यस्तो कुनै सहमति नभएको स्पष्ट पारेको छ । रासस   

‘एलबिबिबी माइनस’ मा उक्लियो एमएडब्लू हायर पर्चेज

काठमाडौं । इक्रा नेपाललेले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल) को क्रेडिट रेटिङ अपग्रेड गरेको छ । कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई आधार मान्दै रेटिङ वृद्धि गरिएको हो । कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘एलबिबी प्लस’ बाट बढाएर ‘एलबिबिबी माइनस’ गरिएको छ भने अल्पकालीन रेटिङ ‘ए–४ प्लस’ बाट सुधार भई ‘ए–३’ पुगेको छ । यस रेटिङ अपग्रेडले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बन्दै गएको संकेत गरेको छ । विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा प्रभावकारी असुली संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाउँदा कम्पनीको सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार आएको जनाइएको छ । कम्पनीले नाफा आर्जनको स्तर सन्तुलित रूपमा कायम राख्दै नेट इन्ट्रेस्ट मार्जिन स्थिर राखेको छ भने सञ्चालन खर्च नियन्त्रणले निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुर्‍याएको छ । कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको छ । कर्जा पोर्टफोलियो विविध र स–साना खण्डमा विभाजित रहेको र मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकाले जोखिम न्यूनीकरणमा मद्दत पुगेको बताइएको छ । सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज एमएडब्लू गुप्रअन्तर्गतको कम्पनी हो। समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको जनाइएको छ।

कांग्रेसले भन्यो : गृहमन्त्री गुरुङमाथि छानबिन हुनुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको व्यापारीहरुसँगको सम्बन्ध र लघुबीमामा रहेको सेयर स्वामित्वको विषयमा छानबिन हुनुपर्ने माग राखेको छ । कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेको हो।  ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वार जारी  विज्ञप्तिमा भनिएको छ ।  यस्तो छ विज्ञप्ति  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ । पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो ।  यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ । नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ । यस सन्दर्भमा, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।  अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ- गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पु¥याउनेछ। नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहनेछ।

त्रिदेवी मन्दिरमा महानगरको डोजर, सम्पदा प्रेमीले गरे स्वागत

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन शुरु गरेको छ । ठमेलको मुख्य केन्द्रमा रहेको प्रसिद्ध त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको हो ।  सोमबार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पुर्यारइरहेका संरचनाहरू हटाएको हो । त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो । यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ । सम्पदा प्रेमीहरूले भने महानगरको यो कदमको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन् ।    

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि सोमबार यहाँ आएका छन् ।      उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । 

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।      उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान तथा पहिचान उच्च र अक्षुण्ण राख्न योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए ।       विसं १९९७ मा बैतडीमा जन्मिएका वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र ‘नेताका साथी’लगायत कृति प्रकाशित छन् ।      यसैगरी, प्रज्ञाप्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार बोधिसव स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्वपूर्ण योगदान दिएर विश्वसमुदायमा नेपाली अध्यात्म, दर्शन र सभ्यताको विशिष्ट स्थान, पहिचान तथा सम्मान अभिवृद्धिमा योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठान सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए ।   विसं २००१ मा जनकपुरमा जन्मिएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन् । आनन्द अरुणका कृतिहरु अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन् । दुवै पुरस्कारको राशि जनही रु ७५ हजारसहित सम्मानपत्र रहेको छ । रासस 

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।      रास्वपाका प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ ।       आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।     

नेपाल लाइफको २५औँ वर्षमा ‘पुनर्जागरण योजना’, विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरिएको हो । यसअन्तर्गत २०८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो छुट योजना ल्याएको जनाएको छ । ३० दिनको अवधिमा लागू हुने यस योजनाबाट व्यतीत बीमालेख भएका बीमितहरूले उल्लेख्य लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नेपाल लाइफले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले योजना ल्याइएको बताए । उनले बीमितहरूलाई यस अवसरको उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गरे ।