विकासन्युज

बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित भएका छन् । बागमती प्रदेशका मुख्य राजमार्गमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड र नुवाकोटका मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् । विपी राजमार्ग (काभ्रे) र कान्ति लोकपथ (मकवानपुर) मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न निषेध गरिएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थान ज्वाङखोला, गल्छी र बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ। त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट-डोल्पा सडकखण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशमार्ग नागढुङ्गा-मुग्लिन सडक भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको छ। यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । वर्षाको समयमा यात्रा गर्दा थप जोखिम हुन सक्ने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

रसुवा बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड निकासा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो । प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो । अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका रूपमा वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान वितरण गरिनेछ । प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको प्राधिकरणले जनाएको छ ।

दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्‍टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित देशभर सुरु हुँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने तथा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि मृत्यु भएका व्यक्तिहरूले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्ना घरमा मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्य पाइन्छ । गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत आयोजना गर्न आदेश दिइएको र त्यसै अनुरूप हास्य व्यङ्ग्यको प्रचलन सुरु भएको जनश्रुति छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रामा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म कायम छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिन्छ । भाद्र कृष्ण अष्‍टमीसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीत गाउने गरिन्छ । विकृतिविरुद्ध हास्यव्यङ्ग्यको पर्व पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि.सं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा समेत प्रतिबन्ध लगाइएको थियो । वि.सं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा पुनः मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने तथा अनर्थकतामा सार्थकता झल्काउने काम गर्छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना तथा काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गतिलाई उजागर गर्ने गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विभिन्न कार्यक्रम आयोजना गरिन्छ । पत्रपत्रिकाले समेत सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशन गर्ने गरेका छन् । गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् । सरकारले गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न थालिएको छ । बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी धुन्चेमा रहेका यात्रुलाई काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो ।  मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणका लागि त्यहीँ खाना खुवाउने व्यवस्था गरिएको छ । खाना खुवाएपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्याउने र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्याइनेछ । चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था गरिएको उनले बताए । ‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने काम गरेका छौँ,’ मुख्यमन्त्री थापाले भने । उद्धारको पर्खाइमा रहेका यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरी काठमाडौं ल्याउने प्रबन्ध मिलाएको पनि उनले बताए । धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि प्रदेश सरकारले खानाको व्यवस्था गरेको छ। त्यस्तै, बागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक मार्गका रूपमा सोही सडक प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि एपीएफको टोलीले गर्‍यो उद्धार, अचेत अवस्थामा फेला

काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ । शुक्रबार साँझ टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो ।  सीमा सुरक्षा चौकी टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो । उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ ।  चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ । माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनु ले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ । बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । 

बाढी प्रभावितका लागि एडीबीले ७६ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड ५९ लाख रुपैयाँ) अनुदान दिने भएको छ । यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ । अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ । औषधि, खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ । त्यस्तै, अस्थायी आश्रय, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ । भग्नावशेष हटाउन र आपत्कालीन पूर्वाधार स्थिरीकरणमा पनि रकम खर्च हुनेछ । एडिबीले थप १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब २ करोड ३० लाख रुपैयाँसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । यो रकम विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि प्रयोग हुने बताइएको छ । एडिबीका अनुसार मूल्यांकनबाट बाढीबाट भएको क्षति र नोक्सानी पहिचान गरिनेछ । प्रभावित क्षेत्रका आवश्यकता र पुनःस्थापनाका प्राथमिकता पनि तय गरिने उल्लेख छ । एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारसँग समन्वय गरिरहेको जनाएको छ । एडिबी अध्यक्ष मासातो कान्डाले विपद्पीडितलाई तत्काल सहयोग आवश्यक रहेको बताएका छन् । उनले खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधिजस्ता आधारभूत सहयोगमा अनुदान उपयोग हुने बताएका छन् । अगस्ट २६ (भदौ १० गते) भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको बाढी र गेग्रान बहावले ठूलो क्षति गरेको छ ।

नारायणी नदीमा फेला परे २३३ शव, चार जनाको मात्रै सनाखत

काठमाडौं । चितवनस्थित नारायणी नदीमा फेला परेका २३३ वटा शवमध्ये हालसम्म चार जनाको मात्रै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सनाखत भएकामध्ये तीनवटा शव आफन्तले बुझिसकेका छन् भने एक जनाको आफन्त विदेशमा रहेकाले शव बुझ्न बाँकी छ । सनाखत हुनेहरूमा बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल, बाँकेका कविराज चौधरी, मकवानपुरका रमेश मगर र रसुवाका भुवन थापा मगर रहेका छन् । बेत्रावती चौकीका १० जनामध्ये बाढीबाट बचेका ९ जनाबाहेक बेपत्ता रहेका असई पौडेल र रमेश मगरको शव परिवारले बुझेर देवघाटमा दाहसंस्कार गरिसकेका छन् ।  कविराज चौधरीको शव पनि आफन्तले शुक्रबार बुझेका छन् भने विदेशमा रहेका भुवन थापा मगरका आफन्त शनिबार फर्किएपछि शव बुझाइनेछ । नारायणी नदी किनारमा भेटिएका शवको संख्या अत्यधिक भएपछि भरतपुर अस्पतालमा स्थान अभाव भएको छ । जसका कारण २३० मध्ये १५८ वटा शव भरतपुर अस्पतालमा र बाँकी नारायणी, नेसनल सिटी तथा सामुदायिक अस्पतालमा राखिएको छ ।  अस्पतालमा अटेका ७७ वटा शव र ६२ वटा हात, खुट्टा तथा पन्जा (अंगहरू) भने चितवन उद्योग वाणिज्य संघको परिसरमा हिउँ (आइस) को व्यवस्था गरी सुरक्षित राखिएको छ । गत बुधबार बिहान रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुनेको संख्या ५७९ पुगेको छ भने सयौँ नागरिक अझै बेपत्ता छन् ।  बेपत्ताहरूको खोजी तथा नारायणी नदीमा फेला परेका अन्य शवहरूको सनाखत गर्ने कार्य निरन्तर जारी छ ।

बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग र ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको छ ।  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकमको चेक तथा राहत सामग्री हस्तान्तरण गरेका हुन् ।  बाढीप्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको जनाएको छ ।  देशमा पर्ने यस्ता प्राकृतिक विपद्का समयमा सधैं सरकार र प्रभावित समुदायको साथमा उभिने प्रतिबद्धता जनाउँदै प्राइम कमर्सियल बैंकले आगामी दिनमा पनि यस्ता राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।