यी हुन् आइतबार दिनभर ऊर्जा मन्त्रालयले गरेका काम

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात र विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धार, अन्तरनिकाय समन्वय तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार (भदौ १४ गते) विशेष प्रेस विज्ञप्ति जारी गर्दै बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी र उद्धार कार्यलाई नेपाल सरकारले सर्वोच्च प्राथमिकतामा राखेर राज्यका सम्पूर्ण उपलब्ध जनशक्ति, स्रोतसाधन र प्रविधिको परिचालन गरिरहेको जनाएको छ । 

प्रतिकूल मौसम, उच्च जोखिमयुक्त भौगोलिक बनावट तथा जटिल प्राविधिक चुनौतीका बाबजुद पनि उद्धार टोलीहरू निरन्तर खटिरहेका छन् । यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी उद्धार कार्यको हालसम्मको प्रगति, देखिएका चुनौती र सरकारको तर्फबाट भइरहेका प्रयासबारे विस्तृत जानकारी गराएका थिए । 

संकटको यो घडीमा उद्धारको यथार्थ अवस्था सम्बन्धित परिवारसम्म नियमित, विश्वसनीय र समयमै पुर्याउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै मन्त्रीले परिवारजनको पीडाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको र नागरिकको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे । 

यता माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीका परिवारजनले पनि अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा समयमै उद्धार कार्य प्रारम्भ गरी निरन्तरता दिएको भन्दै मन्त्री तथा उद्धारमा संलग्न सम्पूर्ण सुरक्षा र प्राविधिक निकायहरूप्रति आभार व्यक्त गरेका छन् । 

स्थलगत उद्धार कार्यतर्फ, माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासहित आयोजना प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि, साइट इन्जिनियर तथा प्राविधिक टोली परिचालित भई घटनास्थलको विस्तृत निरीक्षण, जोखिम मूल्याङ्कन र सुरक्षित उद्धार कार्यलाई अगाडि बढाएका छन् । 

उद्धारमा संलग्न सबै निकायहरूबीच आवश्यक समन्वय र कार्यविभाजनलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको छ । अर्कोतर्फ माथिल्लो त्रिशूली–३ ए आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य थप तीव्र पारिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङ प्रवेशमा अवरोध बनेका संरचना हटाउने, टनेल पोर्टल सफा गर्ने र सुरुङको माथिल्लो भाग (क्राउन) सुरक्षित रूपमा खोल्ने कार्य सम्पन्न गरिसकेका छन् । 

हाल सुरुङभित्र जमेको पानी हटाउने कार्य भइरहेको छ भने अक्सिजन, मेडिकल सामग्री, सञ्चार उपकरण र क्यामरासहित उद्धारकर्मीहरूलाई सुरुङभित्र पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । 

टोलीले पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित वर्किङ स्पेससम्म पुगेर त्यहाँको वास्तविक अवस्था, फसेका व्यक्तिको स्थान र सुरक्षाको मूल्याङ्कन गर्ने योजना बनाएको छ ।

उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोलीको सहयोगसमेत जुटाइएको छ । चिनियाँ टोलीले अपर त्रिशूली–१ आयोजनाको टनेलभित्र खोजी कार्य सम्पन्न गरिसकेको छ भने उद्धार सहायताका लागि आइपुगेको भारतीय टोली त्रिशूली पुगी हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी थप उद्धार योजना बनाउन खटिएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माननीय मन्त्रीज्यूले उद्धार कार्यसँगै प्रभावकारी सूचना प्रवाह, अन्तरनिकाय समन्वय र पीडित परिवारसँगको नियमित सम्पर्कलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

राहत तथा उद्धार सामग्रीको व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा निर्माण गरी वास्तविक आवश्यकता र उपलब्ध स्रोतसाधनबीच प्रभावकारी समन्वय कायम गर्न मन्त्रीज्यूले मातहतका निकायलाई कडा निर्देशन दिए ।

खोजी तथा उद्धारसँगै मन्त्रालयले बाढीबाट प्रभावित विद्युत् प्रणाली, प्रसारण तथा वितरण संरचना र अन्य ऊर्जा पूर्वाधारको शीघ्र पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरण तथा सुरक्षा निकायहरूसँग समन्वय गरी तीव्र गतिमा काम गरिरहेको छ ।

रसुवामा बाढीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न नुवाकोटबाट रसुवामा विद्युत् जोड्ने गरी खोलापारिबाट तार तान्ने कार्य निरन्तर जारी छ । चुनौतीपूर्ण परिस्थितिमा पनि प्रभावित क्षेत्रमा शीघ्र विद्युत् आपूर्ति सुचारु गर्न प्राविधिक टोलीहरू निरन्तर खटिएका छन् । 

मन्त्रालयले उद्धार कार्य पूर्ण रूपमा सम्पन्न नहुँदासम्म र प्रभावित क्षेत्रको अवस्था सामान्य नबन्दासम्म आवश्यक समन्वय, सहजीकरण तथा अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
 

Share News