विकासन्युज

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ७५ रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रुर्पैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

नुवाकोटको किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

प्रकाश सिलवाल किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् । मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसीको कोर्स पूरा गर्न रु एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको छ । किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसीमात्र भर्ना गरेको थियो । दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्णरुपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुने गरी भर्ना गरेको छ । सातै प्रदेश र ३१ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको छ । गृह जिल्ला नुवाकोटका ३० प्रतिशत र  बाँकी अन्य जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहँदा किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ बन्न पुगेको छ । यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन् । केहीले शिक्षालय वरपर डेरा लिएका छन् ।  प्राविधिक शिक्षालयमा स्वास्थ्य सहायक (एचए) मा अध्ययनरत सङ्खुवासभाकी सङ्गीता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियङ्का यादव, सर्लाहका अर्पितकुमार दास र रौतहटकी आकृति चौधरी विभिन्न जिल्लाबाट जोडिए पनि आफूहरु अब एकै शिक्षालयको शिक्षार्थी भएकामा खुसी देखिन्छन् । यस्तै बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी मात्र होइन डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ यसरी धेरै जिल्लाबाट आएका साथीहरुसँग आफूहरुको सांस्कृतिक सिकाइ पनि भएको बताउँछिन् । डिप्लोमा इन फार्मेसी अध्ययनरत अछामका नवीन बयक र एचए दोस्रो वर्षमा अध्ययनरत सुर्खेतका पवन बरालले प्राविधिक शिक्षा पढाइसँगै नयाँनयाँ साथीहरु बनेकामा फरक अनुभूति गरेको बताए । रोचक कुरा, यही शिक्षालयमा पिता डिल्ली ढकाल र छोरी सलिना ढकाल फार्मेसीको विद्यार्थीका रुपमा रहेका छन् । नुवाकोटको लिखु गाउँपालिका–२, ढिकुरे निवासी ढकाल पढाइ पूरा गरेर गाउँमै फार्मेसी खोल्ने योजनामा रहेका छन् ।  'ग्रामीण भेगमा पनि यस प्रकारको शिक्षा उपलब्ध हुनु हाम्रा लागि राम्रो कुरा हो', डिल्ली ढकालले भने । कैलालीको घोडाघोडी नगरपालिका–२ बाट किस्पाङमा प्राविधिक शिक्षा हासिल गर्न आएका शैलेश गिरी भौगोलिक दूरी टाढा भए पनि सुलभरुपमा पढ्न पाइने भएकाले यहाँ आएको बताउँछिन् । गिरीसँगै शिक्षालयमा १७ विद्यार्थी भक्तपुरको गठ्ठाघरस्थित लोमस फर्मास्युटिकल्समा प्रयोगात्मक अभ्यासका लागि खटिएका छन् । तीमध्ये गिरीसहित केहीले अहिले नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालमा प्रयोगात्मक काम गरिरहेका छन् ।  नुवाकोटकै सूर्यगढी–५ की विद्यार्थी अञ्जली गिरी शिक्षालयमा छात्राका लागि व्यवस्थित र सुरक्षित आवास रहेको बताउँछिन् । किस्पाङ–१, भाल्चेका रुवन तामाङ समग्रमा शिक्षालयको पढाइ राम्रो रहेको प्रतिक्रिया दिन्छिन् । उनीहरु दुवैले पढाइ सकेर मेडिकल खोल्ने तयारी गरेका छन् । शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार देशको समग्र झलक शिक्षालयमा पाइन्छ । शिक्षालयमा पहिलो वर्षमा सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी ४०/४० विद्यार्थी रहेकामा छात्रवृत्तिमा अध्ययनमा तीन विद्यार्थी छन् । प्रदेशअनुसार सामान्य चिकित्सातर्फ ६ प्रदेशका विद्यार्थी र डिप्लोमा इन फार्मेसीतर्फ सातै प्रदेशका विद्यार्थी छन् । विभिन्न विषय र वर्षमा गरेर बारा, रौटहट, पर्सा, सर्लाही, बझाङ, बाजुरा, धादिङ, दोलखा, हुम्ला, कालिकोट, नुवाकोट, रसुवा, रोल्पा, सङ्खुवासभा, बैतडी, बाजुरा, बर्दिया, धादिङ, हुम्ला, कालीकोट, कञ्चनपुर, नुवाकोट, ओखलढुङ्गा, रौतहट, सर्लाही, सिन्धुली र तनहुँका विद्यार्थी अध्ययनरत छन् ।  दोस्रो वर्षमा प्रदेशगतरुपमा बागमतीका २७, गण्डकीका एक, कर्णालीका १७, मधेसका २६ र  सुदूरपश्चिमका चार विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा विभिन्न प्रदेश र जिल्लाका गरी १७ विद्यार्थी छन् । 'होस्टेल सुविधाका साथै शिक्षालयमै उत्पादन गरिएको अर्गानिक तरकारी प्रयोग गरेर विद्यार्थीलाई गाउँघरको अनुभूति दिइएको छ ।' शिक्षालय प्रमुख न्यौपानेले भने, 'हामीले समय समयमा अतिथिलाई कक्षा दिलाउनाका साथै खेलकुद सप्ताह, हाजिरीजवाफ, वक्तृत्वकला, सरस्वती पूजा, वनभोज, नारी दिवस तथा होली उत्सवजस्ता कार्यक्रम गर्दै आएका छौँ । यसले विद्यार्थीमा उत्साह पैदा गरेको छ ।' गाउँपालिकाका अध्यक्ष एवं शिक्षालय सञ्चालक समितिका अध्यक्ष वीरवल तामाङ ३१ जिल्लाका विद्यार्थी आएर पढ्नु भनेको किस्पाडको पानीलाई ती विद्यार्थीहरुले प्रसादका रुपमा लिन पाएको अवसरमा रुपमा आफूहरुले लिएको बताउँछन् । गाउँपालिको आय विस्तार र राष्ट्रका लागि उद्यमशीलताको विकासको शिक्षालय एक कोसेढुङ्गा हुने उनले बताए । यसलाई आफूहरुले सेवाका रुपमा लिएको र पर्यटकीय विकासका लागि पनि आधार हुने तामाङले विश्वास व्यक्त गरे ।  गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने  दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु र विद्यार्थीहरुबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त हुनुले शिक्षालयको भविष्य उज्जल रहेकामा सन्देह नरहेको बताउँछिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि रु एक करोडको निर्माण कार्य भएको सो शिक्षालयमा आर्थिक वर्ष २०८२/८३ का लागि सोही मन्त्रालयले रु तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ । उनले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालालगात पूर्वाधार विकास गरी शिक्षालयलाई नमुना बनाइने बताए । दक्ष र अनुभवी प्रशिक्षबाट अध्ययन अध्ययापन भइरहेकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा पढेका डा आशिष दाहाललगायत पूर्णकालीन शिक्षक सात, कर्मचारी पाँच र अल्पकालीन १३ जना कार्यरत छन् । शिक्षालयमा पुस्तकालयमा पर्याप्त पुस्तकका साथै आधुनिक एवं सुविधा सम्पन्न कम्प्युटर, आवश्यक प्रयोगशाला उपकरण र रसायन सामग्री उपलब्ध छन् । रासस

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई यसअघि साबिक गुराँस लाइफ इन्स्योरेन्समा पूर्वसीईओका रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी नेतृत्वदायी भूमिकामा परिचित छन् । उनको नियुक्तिसँगै कम्पनीले संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा व्यवसायिक प्रतिस्पर्धामा थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ ।  

एआई मार्केटमा डीपसीक- भी फोरको इन्ट्री, फेरि दवाबमा अमेरिका

काठमाडौं । चिनियाँ कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप डीपसीकले शुक्रबार आफ्नो बहुप्रतीक्षित भी फोर ठूलो भाषा मोडेलको प्रिभ्यु संस्करण सार्वजनिक गरेको छ । यो संस्करणले प्रयोगकर्तालाई यसको नयाँ क्षमताहरू र विशेषताहरू परीक्षण गर्न अनुमति दिन्छ । यो सार्वजनिककरण डीपसीकले आफ्नो आरवान तर्क- आधारित मोडेल सार्वजनिक गरेको एक वर्षभन्दा बढी समयपछि आएको हो । उक्त मोडेलले अपेक्षाभन्दा राम्रो प्रदर्शन र दक्षताका कारण विश्वव्यापी प्रविधि बजारमा हलचल मच्चाएको थियो, जबकि यो अमेरिकी प्रतिस्पर्धीहरूभन्दा निकै कम लागतमा विकास गरिएको बताइएको थियो । डीपसीकको अघिल्लो भी थ्री मोडेल जस्तै नयाँ अपग्रेड पनि ओपन सोर्स छ, जसले विकासकर्ताहरूलाई कोड डाउनलोड गर्न, स्थानीय रूपमा चलाउन र आवश्यक अनुसार परिमार्जन गर्न अनुमति दिन्छ । हाङ्झोउमा आधारित कम्पनीले भी फोरले विशेषगरी एजेन्ट आधारित कार्य, ज्ञान प्रशोधन र निष्कर्ष निकाल्ने क्षमतामा घरेलु प्रतिस्पर्धीहरूसँग कडा प्रदर्शन गर्ने दाबी गरेको छ । कम्पनीले थपेअनुसार डीपसीक भी फोरलाई एन्थ्रोपिकको क्लाउड कोड र ओपनक्ल जस्ता लोकप्रिय एजेन्ट उपकरणहरूसँग प्रयोग गर्न अनुकूल बनाइएको छ । यो मोडेल आकारका आधारमा ‘प्रो’ र ‘फ्लास’ दुवै संस्करणमा उपलब्ध छ । सन् २०२३ मा स्थापना भएको डीपसीकले २०२४ को अन्त्यतिर आफ्नो निःशुल्क, ओपन-सोर्स भी थ्री मोडेलमार्फत ध्यान खिचेको थियो, जसलाई कम शक्तिशाली चिप प्रयोग गरेर र ओपनएआई तथा गुगलजस्ता कम्पनीहरूले बनाएका मोडेलहरूको लागतको सानो अंशमै तालिम दिइएको बताइएको थियो । केही हप्तापछि जनवरी २०२५ मा कम्पनीले आरवान नामक तर्क-आधारित मोडेल सार्वजनिक गर्‍यो, जसले विश्वका धेरै अग्रणी एलएलएमहरूलाई उछिनेको थियो । विश्वव्यापी रूपमा प्रतिस्पर्धी ओपन-सोर्स मोडेलको उदयले एआई पूर्वाधारमा हुने लगानीको स्तरमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा प्रविधि बजारमा प्रश्न उठाएको थियो । त्यसयता डीपसीकले मोडेल अपग्रेडहरूको श्रृंखला सार्वजनिक गरेको छ, तर तीमध्ये कुनै पनि आरवान जत्तिको प्रभाव पार्न सकेका छैनन् । हाल कम्पनीले चीनको तीव्र रूपमा विस्तार भइरहेको एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ, जहाँ अलिबाबा र बाइटडान्सजस्ता कम्पनीहरूले पनि यस वर्ष नयाँ मोडेलहरू सार्वजनिक गरेका छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवक्तासमेत रहनुभएका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए ।  'नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो', उनले भने, 'बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भए पनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।' हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा व्यवस्थापनलगायतका काम सकिएको छ । बालबच्चा, ज्येष्ठ नागरिकलाई टहलिन तथा घुम्न आउने पाहुनाहरूलाई भुलाउने उद्देश्यले २०६० साल चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्तिपार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माणस्थल छनोट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताए । वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरूको तर्फबाट कुनै समस्या नभए पनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उनले बताए । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको टुङ्गो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताए । उनका अनुसार शान्ति पार्क निर्माणस्थल टुङ्गो लगाउन बेनी बजार रहेको वडा नं ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ । रासस  

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस  मनाइँदै

काठमाडौं । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस शुक्रबार विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो ।  बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धतामा निहित रहेको मानिन्छ । राष्ट्रसङ्घका अनुसा। परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन् । यसले समान अधिकार र दायित्वका आधारमा दिगो तथा प्रभावकारी सहकार्य सुनिश्चित गर्छ । बहुपक्षीयता अन्तरराष्ट्रिय प्रणालीको सङ्गठन र सहकार्यको विधि दुवै भएकाले वर्तमान आजको परस्पर निर्भर विश्वमा यसको महत्व अझ बढेको छ ।  एक सय ९३ राष्ट्र सदस्य तथा एक हजारभन्दा बढी गैरसरकारी संस्था र अन्तरराष्ट्रिय सङ्गठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको प्रमुख मञ्चका रूपमा परिचित छ । सन् १९४५ मा स्थापना भएको यो विश्व संस्थाको मुख्य उद्देश्य अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो । यसको बडापत्रले विवादलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने र भावी पुस्तालाई युद्धको भयबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ । कूटनीतिक प्रयासमार्फत द्वन्द्व रोकथाम र समाधानमा जोड दिइँदै आएको छ । सन् २०२४ सेप्टेम्बरमा आयोजित ‘समिट अफ द फ्युचर’मा विश्व नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गर्दै शान्ति, दिगो विकास र मानवअधिकार संरक्षणप्रति पुनः प्रतिबद्धता व्यक्त गरेका थिए ।  

रातो आलु किलोको २२ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ कायम छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु २४, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० ताेकिएको छ । यस्तै, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ५०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु १२०, घिरौंला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४० निर्धारण गरिएको छ । रायोसाग प्रतिकिलो रु ३५, पालुंगाे प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ३५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० कायम छ । कुरिलो प्रतिकिलो रु ६००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ३०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १८०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु १८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, अनार प्रतिकिलो रु ३२०, अ‌गुर (हरियो) प्रतिकिलो रु २२०, अंगुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० कायम छ । 

लाभांश पारित गर्न सानिमा जिआईसीले डाक्यो आठौं साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले जेठ ६ गते नेपाल पुलिस क्लब काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।  सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा भएको खर्च, सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर बमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता सेयर समावेश गरि यस साधारण सभाबाट पारित हुने बोनस सेयर जारी गरे पश्चात हुने चुक्ता पुँजीमा हकप्रद सेयर सहितको विवरण पुनरावलोकन गर्नेछ ।  यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आव २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।