अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न चेम्बरले स्थापना गर्यो डेस्क
काठमाडौं । विपद्का कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा देखिएको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गसहित देशका विभिन्न महत्वपूर्ण सडक अवरुद्ध भएपछि उद्योगी तथा व्यवसायीलाई सामान ढुवानी गर्न समस्या भएको भन्दै चेम्बरले यस्तो व्यवस्था गरेको जनाएको छ । सहजीकरण डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा देखिने समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान र ढुवानी व्यवसायीसँग समन्वय गरिनेछ । त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउन आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ । विपद्को समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन डेस्कले सम्बन्धित निकायबीच समन्वय गर्ने चेम्बरको भनाइ छ ।
‘विस्थापित नागरिकलाई पुर्नस्थापना र घाइतेको उपचारको प्रबन्ध गर्नू’
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढीले विस्थापित नागरिकलाई पुर्नस्थापना र घाइतेको उपचारको प्रबन्ध गर्न सरकालाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले हालै रसुवा, भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्देशन दिएका हुन् । अर्यालले विपद् प्रभावितहरूको उद्धार, राहत र विस्थापितहरूको पुनःस्थापनाका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिएका हुन् । प्रतिनिधि सभाले राष्ट्रिय शोकको यस घडीमा सबै पक्षलाई ऐक्यवद्ध रहन र विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आह्वान गरेको छ । सभामुखद्वारा प्रस्तुत उक्त विशेष प्रश्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ । यस्तो छ सभामुखको सम्बोधनको पूर्णपाठ माननीय सदस्यहरु, नेपाल प्राकृतिक तथा मानवजन्य दुवै प्रकारका विपद्का दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो । नेपालको भौगोलिक विविधता, कमजोर भू–संरचना, अव्यवस्थित तथा जोखिमयुक्त विकास, कमजोर पूर्वाधार, सीमित स्रोतसाधन र जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका विपद् बारम्बार दोहोरिँदै आएका छन् । भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, खडेरी, हिमपहिरो, हिमताल विस्फोट लगायत प्राकृतिक विपद्का साथै औद्योगिक दुर्घटना, महामारी र अन्य मानवजन्य विपद्हरू पनि देशका विभिन्न क्षेत्रमा नियमित रूपमा घटिरहेका छन् । नेपालमा वर्षेनी पाँच सयभन्दा बढी विपद्का घटना घट्ने र त्यसबाट ठूलो जनधनको क्षति हुने गरेको तथ्यांक छ । यसै सन्दर्भमा, मिति २०८३ साल भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग, गोर्खा, तनहु र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घटनाले प्रतिनिधि सभालाई मर्माहत बनाएको छ । यस विपद्बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रतिनिधि सभा हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति गहिरो समवेदना व्यक्त गर्दै घाईते नागरिकहरुको शीघ्र स्वस्थ्यलाभको कामना गर्दछु । माननीय सदस्यहरु विपद्बाट प्रभावित नागरिकहरुको उद्धार तथा राहत कार्यका लागि सरकारले सुरक्षाकर्मी परिचालन गरेको छ । आफ्नो ज्यानको जोखिम मोलेर खोज, उद्धार, उपचार, राहत तथा मानवीय सेवामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खटिनुभएका नेपाल सरकारका सम्बन्धित निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी, रेडक्रस, स्वयंसेवक, सञ्चारकर्मी, स्थानीय समुदाय तथा सम्पूर्ण उद्धारकर्मीप्रति प्रतिनिधि सभाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्राविधिक जनशक्ति, राहत, सहयोग तथा सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दछु । विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । माननीय सदस्यहरु हामीले विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं । जलवायू परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिमपहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन् । रसुवा जिल्लामा गएका वर्षहरूमा समेत साना ठूला विपद्का घटना भइ नै रहेका थिए । जलवायू परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्र्तराष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउनु आवश्यक रहेको छ । त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ । यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु । माननीय सदस्यज्यूहरू, रसुवा विपद्ले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ । हामीले अब विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकता राख्नु पर्दछ । अन्त्यमा, प्रभावित परिवार र समुदायप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु । राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सवै संयन्त्र परिचालन गरि खोज उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।
भोटेकोशी बाढीपीडित बीमितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिने
काठमाडाैं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई बीमा कम्पनीहरूले अग्रिम दाबी भुक्तानी गर्ने भएका छन् । बाढीबाट प्रभावित बीमितलाइ राहत पुर्याउन क्षतिको पूर्ण मूल्याङ्कनअघि नै अग्रिम दाबी भुक्तानी दिने निर्णय गरेका हुन् । जलविद्युत् आयोजना तथा ठूला भौतिक पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न लामो समय लाग्ने भएकाले प्रभावितको नगद प्रवाह सहज बनाउन र पुनर्निर्माणको काम तत्काल अघि बढाउन अग्रिम भुक्तानी दिने सहमति भएको बीमा कम्पनीहरूले जनाएका छन् । अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलपछि बीमा दाबी प्रक्रियालाई सरल बनाउँदै अग्रिम भुक्तानी दिने निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, सर्भेयरहरूको परिचालनलाई पारदर्शी र निष्पक्ष बनाउन स्वचालित प्रणाली अपनाइने तथा आवश्यकताअनुसार विदेशी विज्ञ सर्भेयरहरूको समेत सेवा लिइनेछ । बीमा दाबीहरूको दैनिक अनुगमन, कम्पनीहरूको तरलता व्यवस्थापन र पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणभित्रै एक विशेष कार्यदलसमेत गठन गरिएको छ ।
प्रधानमन्त्री राहत कोषमा ग्लोबल आइएमई लघुवित्तको १६ लाख ३५ हजार सहयोग
काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ । संस्थाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सकुशल सम्पर्कमा आउने कामना गरेको छ । विपद्को कठिन परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता जनाउँदै ग्लोबल आइएमई लघुवित्त र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट रु १६ लाख ३५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ । साथै विपद्बाट प्रभावित सम्पूर्ण नागरिकको जनजीवन यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गरेको छ ।
दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौं । दया फाउन्डेसनले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले विपद्को कठिन समयमा प्रभावित समुदायको राहत र उद्धारमा सहयोग गर्न पाएकोमा आभार व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारले गरेको पहल र स्रोत परिचालनको प्रशंसा गरेको छ । नेपाल तथा विदेशबाट व्यक्ति र विभिन्न संस्थाले गरेको सहयोगप्रति पनि फाउन्डेसनले धन्यवाद दिएको छ । विपद्को समयमा देखिएको ऐक्यबद्धता र मानवीय भावनाको फाउन्डेसनले प्रशंसा गरेको छ । फाउन्डेसनका अनुसार यो सहयोग संस्थाका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य र जीवनदृष्टिबाट प्रेरित छ । संकटमा परेका समुदायसँग सहयोग बाँड्नु प्रत्येक संवेदनशील नागरिकको जिम्मेवारी भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले बाढीबाट प्रभावित सबै व्यक्ति तथा परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र प्रभावित समुदायको पीडा कम गर्न निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
त्रिवि अस्पतालमा शव राख्ने ठाउँ अभाव
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँमा अभाव भएको छ । अस्पतालको शव गृहमा क्षमताभन्दा बढी शव भएकाले राख्ने ठाउँ अभाव भएको हो । शवगृहमा हाल ७७ वटा बढी शव रहेको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार शव राख्ने ठाउँको अभाव भएको छ । ठाउँ अभाव भएकाले शव गृहको खोजी भइरहेको उनले बताए । दुवाकोटको केएमसी वा सैनिक अस्पतालमा राख्ने ठाउँ खोजी गरिने उनले जानकारी दिए । उनका अनुसार नुवाकोटबाट २५ वटा शव आइरहेकाले वैकल्पिक स्थानको खोजी भइरहेको छ । गत बुधबार रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।
यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले गरेका कामको जानकारी संसद्लाई गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनी ब्रिफिङ गरेका हुन् । सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । ‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :
सेयर बजारमा २ अर्ब ९४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस दिन ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर ३९ हजार ६७३ पटक कारोबार भएका छन् । बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लाग्यो । यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह हरियो बनेका छन् भने दुई उपसमूह मात्रै घटेका छन् । जलविद्युत उपसमूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूह सामान्य अंकले घटेका छन् ।