ज्योति विकास बैंक धादिङ्गको गल्छीमा, साना लघुकर्जादेखि ठुला औधोगिक कर्जा प्रदान गरिने
काठमाडौं । ज्योति विकास बैंकले धादिङ्गको गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो अवसरमा बैंकका अध्यक्ष खड्काले यस बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघुकर्जा देखि ठुला औधोगिक कर्जा प्रवाह गरिने बताएका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको शाखा माछापोखरीमा, थप ५ स्थानमा खोल्ने तयारी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले माछापोखरीमा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा सभाध्यक्ष तथा संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले विभिन्न वित्तिय तथा गैरवित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस विकास बैंकको हालसम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् । काठमाडौं उपत्यकाभित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै, जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।
पाँच बर्षपछि विकासको ग्राफ देखाएर भोट माग्छौंः योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले पाँच बर्षपछिको चुनावमा विकासको ग्राफ देखाएर भोट भाग्ने घोषणा गरेका छन् । संसदमा आगामी आर्थिक बर्षको बजेटमाथीको छलफलमा भाग लिँदै सांसद भट्टराईले भने–‘पाँच बर्षपछि अर्काे घोषणा पत्रमा सडक र विद्युत उत्पादनका कुरा गर्दैनौं । हामी कति बाटो बनाउँछौं, कति बिजुली निकाल्छौ भनेर जाँदैनौं । हामी तथ्यांकमा के गर्यौं भनेर देखाउँछौं । विकासको ग्राफ देखाएर जनतासँग भोट माग्छौं ।’ उनले पाँच बर्षपछिको निर्वाचन प्रतिपक्षीसँग लिखतमा संवाद नगरेर आफुहरुले गरेका कामको फेहरिस्ता देखाएर संवाद गर्ने दावी पनि गरे । ‘पाँच बर्षपछि हामी ग्राफमा विकासको तथ्यांक देखाएर भोट माग्न जान्छौं । त्यसकारण माननिय मन्त्रीज्यूहरुलाई भन्न चाहान्छु की पाँच बर्षपछि त्यस्तो दिन ल्याउनका लागि लाग्नुस् ।’, सांसद भट्टराईले भने । उनले बजेट मार्फत तराई मधेशको तुलनामा हिमाल र पहाडलाई कम प्राथमिकता दिइएको आरोप लगाए । उनले प्रश्न गरे–‘मा सिमा जोडिएका स्थानीय गाउँपालिकाका लागि बजेट छ, हिमालमा किन छैन ? उत्तरमा पनि सिमा जोडिएका क्षेत्र छन, त्यहाँ बजेट खोई ?’ तराईबाट मध्यपहाडी पुष्पलाल मार्ग जोडिने सडकले प्राथमिकता पाएको तर हिमाल र पहाडले नपाएको गुनासो पनि भट्टराईको थियो । त्यस्तै, तराई मधेशका जिल्ला सदर मुकामहरुको भौतिक पुर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको तर हिमाल र पहाडले नपाएकोमा पनि दुःख व्यक्त गरे । बजेटले हिमाली क्षेत्रलाई न्याय नसकेको गुनासो सांसद भट्टराईको थियो ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु सिटि अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले अब पुल्चोकको सुमेरु सिटि अस्पतालको उपचार सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक र सिटि अस्पतालबीच साेमबार अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंककातर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र अस्पतालकोतर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात यस विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । साथै, औषधी खरिदमा ८ प्रतिशत छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१७ सय सरकारी कर्मचारी कारवाहीमा पर्दै
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए । उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र २८० जना पोशाक नलाउने परेका छन् । समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको बताए । रासस
सेयर बजारमा गिरावट कायमै, उत्पादन र होटल बाहेक सबै समूह राताम्मे
काठमाडौं । सेयर बजारमा गिरावट कायम रहेको छ । सोमबारको बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार सामान्य अंकले घटेको बजार सोमबार करिब दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक ९.७२ अंकले झरेर १२१० अंकमा पुगेको छ । त्यस्तै, आइतबार २० करोडको कारोबार भएको बजारमा सोमबार जम्मा १८ करोडको सेयर किनबेच भएको छ । कुल १५८ कम्पनीको सेयर किनबेच भएको बजारमा सबैभन्दा बढी समाता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बजारमा दुई समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक १.६६ र होटल समूह २.२६ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७९ अंकले राताम्मे भएको छ । त्यस्तै, अन्य र बैंकिङ् समूह सामान्य अंकले घटेका छन् भने बाँकी दोहोरो अंकले घटेका छन् । सोमबार खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.४५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी जेबिल्स फाइनान्सका लगानीकर्ताले ७.४ प्रतिशत गुमाएका छन् ।
यस्तो बिरालो जसले दैनिक १० लाख पंक्षीको शिकार गर्छ
सिड्नी । जङ्गली बिरालो अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली बिरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप नै भएको बताउने गरिन्छ । यद्यपि पछिल्लो समयमा जङ्गली बिरालोको जनसङ्ख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने उक्त विकराल स्थितिमा केही सुधार देखिएको छ । सरीसृप प्रजातिको नासको कारक मानिने १० हजार जङ्गली बिरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरीसृप प्रजातीका कैयौँ दुर्लभ प्राणी बिरालोको शिकारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् । अध्ययन प्रतिवेदनमा जङ्गली बिरालोका कारण वार्षिक जम्मा ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ । “प्रत्येक जङ्गली बिरालोले औसतमा प्रतिवर्ष २२५ सरीसृपको शिकार गर्ने गरेका छन्,” चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनास्र्कीले भने । अष्ट्रेलियामा बन बिरालो संयुक्त राज्य अमेरिका वा यूरोपमाभन्दा बढी सरीसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा थाहा भएको उनले बताए । उनले भने, “केही जङगली बिरालो त सरीसृपको ठूलो सङ्ख्यालाई शिकार गर्दछन् । अध्ययनका क्रममा हामीले केही बिरालोको एकै दिनमा झण्डै ४० वटासम्म छेपारा प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाएको पायौँ ।” ‘वाइल्डलाइफ रिसर्च जोर्नल’मा प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियामा बिरालोले २५० विभिन्न प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाउने गर्छन् । जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन, तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरीसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन् । अष्ट्रेलियामा जङ्गली बिरालाको सङ्ख्या दशौँ लाखको सङ्ख्यामा रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् । सोही समूहले गत वर्ष गरेको अनुसन्धानमा जङ्गली बिरालोले प्रतिदिन दश लाख पंक्षीको शिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अष्ट्रेलियाको सरकारले जङ्गली बिरालोको बिगबिगीलाई कमी गर्न विभिन्न योजनामार्फत वार्षिक दुई करोड ३० लाख अमेरिकी डलर खर्चिँदै आएको छ । अष्ट्रेलियाली वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना नौ हजार ४०० हेक्टर मरुभूमि क्षेत्रलाई जङ्गली बिरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय वार निर्माण गरेको थियो । सरकारले उक्त अभियान अन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन, जहाँ बिरालोको बिगबिगी छ, लाई विद्युतीय तारबार गर्ने योजना छ । (रासस/एएफपी)
पोखरा विमानस्थलको निर्माण नरोकिने- मन्त्री अधिकारी
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्धारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पारेका छन्। एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिएका छन् । मन्त्रालयमा आफूले नेतृत्व सम्भालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनःनिर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी दिँदै उनले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताए । सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको छ भन्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको बताएका छन् । सम्पदा पुनःनिर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको बताउँदै उनले कृष्ण मन्दिरको पुनःनिर्माण भइरहेको र धरहराको पुनःनिर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष माधव बराललगायतका पत्रकारले समसामयिक विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । रासस