विकासन्युज

अब कुकुरलार्इ बाहिर दिसा गराए कारबाही हुने

काठमाडौँ । तपार्इले कुकुर पाल्नु भएकाे छ र दिसाबाहिर गराउदै अाउनु भएकाेछ भने कारबाहीमा पर्न सक्नुहुनेछ अब साेच्ने बेला अाएकाे छ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाे भन्दै काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले  दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने बताए  । उनका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो । अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् । यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको शुरुवात गरेको हो । एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन् । यस्तो विकराल स्थिति रोक्न घरपालुवा कुकुरलाई घरमै दिसापिसाब गराउन कामपाले अनुरोध गरेको हाे । घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने महाशाखा प्रमुख श्रेष्ठकाे भनाइ छ । रासस

नेकपाका वरिष्ठ नेता माधव नेपाललाई ‘शान्ति प्रक्रियाका नायक’ सम्मान

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई गोपाल थपलिया प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले चीतवनमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा हाम्रो भूमिका’ विषयक विचार गोष्ठी तथा प्रतिष्ठानका आजीवन सदस्य सम्मान कार्यक्रममा नेता नेपाललाइई शान्ति प्रक्रियाका नायक र कम्युनिष्ट एकताका हस्तीका रुपमा सम्मान गरेको हो । संस्थाका अध्यक्ष वसन्तराज कार्की, कार्यक्रमका संयोजक बालकृष्ण शर्मा र प्रतिष्ठानका जिल्ला संयोजक कृष्ण भुर्तेलले दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेका थिए । सो अवसरमा नेता नेपालले मुलुकको विकासका बाधकलाई अन्त्य गरी जनताको चाहनाअनुसारको विकास गर्नु आजको आवश्यक रहेको धारणा राखेका थिए । अहिलेको सरकार विकास र समृद्धिका लागि कार्य गरिरहेको उल्लेख गर्दै उनले शुरुका वर्षमा विकासका विकारको खोजी गर्ने र अन्य चार वर्षमा विकासका लागि अठोट लिएर सरकार अघि बढ्ने बताए । नेता नेपालले भने, “कुराले चिउरा भिज्दैन दही, दूध वा पानी आवश्यक पर्छ, अब जनताले देशको प्रगति चाहेको छ, त्यसैले जनताको त्यो चाहना सरकारको इच्छा शक्ति र अठोटका कारण सम्भव छ ।” यसका लागि नयाँ विधि र प्रक्रियाबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेकपाका केन्द्रीय सदस्य देवी ज्ञावली र केशवलाल श्रेष्ठले देशमा देखिएका समस्यालाई समाधान गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रतिष्ठानका ५१ जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण, कहाँका जग्गा धनीले कति पाउँदैछन ?

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ । प्रतिआना दुई लाख २५ हजारदेखि रु तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा निर्धारण समितिको बैठकले प्रारम्भिक मुआब्जा निर्धारणको लागि गठन गरेको उपसमितिले पेश गरेको प्रतिवेदन, जग्गाको वर्गीकरण, नेपाल सरकार तथा अन्य निकाय समेतबाट दृष्टिगत गरी जग्गा प्राप्ती ऐन, २०३४ अनुसार सडकमा पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरेको प्रजिअ थापाले बताए । निर्धारण गरिएको जगाको मूल्य धादिङको सीमाक्षेत्र दुईपिपलको कोल्पुखोलादेखि कोल्पुटार डिलसम्म प्रतिआना दुई लाख २५ हजार, कोल्पुटार डिलदेखि वेलबास खोल्चीसम्म तीन लाख २५ हजार, बेलबास खोल्चीदेखि केउरिनी पुल रातमाटेको सीमासम्म दुई लाख ५० हजार निर्धारण गरिएको छ । रातमाटेतर्फ केउरिनीदेखि कालोढुङ्गासम्म प्रतिआना तीन लाख २५ हजार, कालो ढुङ्गादेखि कपडा उद्योगसम्म दुई लाख ५० हजार, कपडा उद्योगदेखि धन्सारसम्म तीन लाख २५ हजार, धनसार दोबाटोदेखि रातमाटेको वडा कार्यालयसम्मको चन्द्रेखोला सीमासम्म दुई लाख ५० हजार मुआब्जा निर्धारण गरिएको छ । यस्तै, चन्द्रेखोलादेखि गडौलीखोलासम्म प्रतिआना तीन लाख २५ हजार, गडौलीखोलादेखि टुँडाखोलासम्म दुई लाख ५० हजार, टुँडाखोलादेखि जिलिङको सीमास्थित ठूलोखोलासम्म तीन लाख २५ हजार निर्धारण गरिएको छ । जिलिङको ठूलोखोलादेखि कोल्डस्टोरस्थित चौतारोसम्म प्रतिआना तीन लाख २५ हजार र चौतारोदेखि देवीघाटपुलसम्म दुई लाख २५ हजार निर्धारण गरिएको प्रजिअ थापाले जानकारी दिए । उनका अनुसार ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत यसअघि नै सडकले ओगट्ने जग्गा धनीको सूची प्रकाशन भइसकेकाले आयोजनाले रकम उपलब्ध गराउने वित्तिकै धनीलाई प्रदान गरिनेछ । मुआब्जा निर्धारण समितिले दोस्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि वेत्रावती हुँदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मूल्य निर्धारण गर्ने तयारी थालेको छ । सडक क्षेत्रमा पर्ने साविक विदुर नगरपालिकाको देवीघाटदेखि बान्द्रेसम्म सडकले ओगट्ने जग्गाको क्षेत्रफल र जग्गाधनीको सूची प्रकाशन गर्न बाँकी छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न सडक ८२ किलोमिटर दूरीको निर्माणको काम जारी रहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमी सडक नेपाली सेनामार्फत निर्माण भएर गत चैत ३० गतेदेखि ट्र्याक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ । रासस

भदौं ४ पछि मोहियानी हक नलाग्ने, सरकारले माग्यो मोहि दावी

काठमाडौं । यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् । मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश गर्न आग्रह गरेको छ । २०७६ भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदनको छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो । २०७५ भदौ ४ गतेभित्र मोहियानी हक कायम रहेका मोहि तथा जग्गा धनीहरुले आवेदन दिन सक्नेछन् । र २०७६ भदौ ४ गतेभित्र जग्गामा कायम रहेको द्धैध स्वामित्वको अन्त्य गरिनेछ । मन्त्रालयले बैशाख २३ गते सार्वजनिक गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र २०७५ मा एक बर्षभित्र मोहि सम्बन्धी समस्या पूर्णतः समाधान गर्ने उल्लेख थियो । सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान ईकाई गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।

माथिल्लो तामाकोसीको आईपीओ असार २४ मा, न्युनतम ३० देखि १००० कित्तासम्म भर्न पाइने

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ । स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

‘सन प्ले न्याचुरल’ सन क्रिम नेपाली बजारमा, सृष्टि श्रेष्ठ बनिन् ब्राण्डएम्बेस्डर

रोथो मेन्थोलथुम जापानी कम्पनीबाट उत्पादित सन प्ले न्याचुरल सनक्रिम नेपाली बजारमा सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घामबाट आउने विकिरणहरुको असरलाई जोगाउने क्रिम कम्पनीले सार्वजनिक गरेको हो। पूर्व सिम नेपाल सृष्टि श्रेष्ठले उक्त क्रिम सर्वाजनिक गरेकी थिइन् । कम्पनीले उक्त क्रिमको लागि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर बनाएकाे छ । कम्पनीको अनुसार उक्त क्रिम पूर्ण हर्वलमा उपलब्ध छ । क्रिमले सूर्यबाट आउने विकिरणहरुबाट अनुहार लगायतका छालाको भागलार्इ जोगाउनुका साथै छालामा हुने रातोपनालाई समेत हटाउले कम्पनीले जानकारी गराएको छ। छालालाई गोरोपना प्रदान गर्न पनि क्रिमले सहयोग गर्ने कम्पनीको भनाइ छ । क्रिमको दैनिक प्रयोगले चाउरीपना तथा बुढ्यौलीपनालाई हटाउने दावी गरिएकाे छ । क्रिमसँगै कम्पनीले रोथोको सन प्ले जेलकाे पनि नेपाली बजारमा विक्री शुरू गरेको छ ।

एसईई नतिजा प्रकाशनमा सरकारको चरम लापरबाही, १४ हजार विद्यार्थीको रिजल्ट आएन

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको माग छ । ‘भर्खरै मात्र प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्,’ उनले भने ‘यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ ।’ प्राविधिक तथा अन्य जुनसुकै पक्षको गल्ति भएको पनि त्यसलाई छानविनको दायरामा ल्याउनु पर्ने उनकोे धारणा छ । त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रत्येकदिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिन फरक रिजल्ट देखिएको छ ।’ नतिजा प्रकाशनमा यतिका विघ्मान समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? सहजै अनुमान लगाउन सकिने उनले बताए । उनका अनुसार विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग र परीक्षा बोर्ड गम्भिर छैनन् । ग्रेड सिस्टमका पनि आफ्नै प्रकारका नियमहरु हुन्छन् । देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टममा ल्याइएको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । ‘कक्षा ९ र १० को परीक्षाकोबीच कुनै भिन्नता छैन । परिणाममा मात्रै फरक देखाएर हुन्छ ?’, उनको प्रश्न छ । ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो क्रममा छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ,’ उनले भने ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएनका छैनन् ।’ यस सम्बन्धमा शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ । र दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’ कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

उद्योगमन्त्री र यूएर्इको उच्च अधिकारीबीच भेट, नेपालमा लगानी गर्न तथा उत्पादन लैजान युएर्इ तयार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र यूएईका उपसचिव अब्दुल्ला अहमेद अल सालेहसँग सोमबार भेट भएकाे छ । आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले देशलाई आर्थिक सम्वृद्धितर्फत अघि बढाउन सरकार निरन्तर रुपमा लागि रहने र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लागि पर्ने जनाए । यूएईसँग नेपालको ४१ बर्ष देखिको सम्वन्ध रहेको स्मरण गर्दै साे सम्वन्ध हार्दिकतापूर्ण रहेको  उनकाे भनाइ छ। उनले विदेशिएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र सीप विकासका अवसरहरु उपलब्ध गराउनु पर्ने खाँचो औल्याएका थिए । यसका लागि सीप विकास केन्द्रहरु स्थापनाकाे लािगि लगानी गर्न यूएई सरकारसँग उनकाे आग्रह छ । साथै नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि उनकाे अाग्रह छ । वैदेशिक लगानीका लागि देश भित्र उपयुक्त वातावरण निर्माण भैरहेकोले नेपालभित्र जलविद्युत, पर्यटन, उत्पादन लगाएतका क्षेत्रहरुमा लगानी गर्न समेत युएईको लगानीकर्ताहरुलाई उनले अाग्रह गरेका छन् । उक्त भेटमा उद्योग सचिब यामकुमारी खतिवडा, वाणिज्य सचिब चन्द्रकुमार घिमिरे समेतको उपस्थिति रहेको थियो । सो छलफलमा यूएईको उपसचिवले नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा यूएई सरकारले सहयोग गर्न तयार रहेको बताए । उनकाे अनुसार यूएई सानो देश भए पनि अरवमा दोस्रो ठूलो आर्थिक शक्ति भएको देश हो ।  यूएईले बाहिरी लगानीको अबसर खोजिरहेकाे भन्दै रणनीतिक साझेदारीको रुपमा अगाडी बढ्नु पर्ने उनकाे धारणा छ । उनले यसका लागि दोहोरो कर र लगानी संरक्षण सम्झौता अगाडी बढाउन उनले सुझाए । प्रत्येकबर्ष हुने लगानी मञ्चको सम्मेलनमा अर्को बर्षको लागि निमन्त्रणा पठाउने समेत उनले जानकारी दिए । ‘हामी नेपालसँग सबैभन्दा राम्रो रणनैतिक साझेदार हुन चाहन्छौं,’ उनले भने ‘यूएर्इका लगानीकर्ताको भारतमा बलियोे उपस्थिति रहेकोले नेपालमा पनि लगानी गर्न सजिलो हुनेछ ।’