अवैध रुपमा बालुवाको कारोबार गरेपछि अक्सिजन उद्योग निर्माणमा रोक
नुवाकोट । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्राइभेट लिमिटेडको भौतिक संरचना निर्माणमा यहाँको प्रशासनले रोक लगाएको छ । उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक कारोबार गरेको भन्दै प्रशासनले प्रहरीको सहयोगमा निर्माण कार्य तत्कालका लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । विदुर नगरपालिकामा दर्ता भएको उक्त उद्योग २० करोड रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको हो । उद्योगको स्थापनाका लागि घडेरी खन्ने बाहनामा संरचना निर्माणको मापदण्ड मिचेर अवैधरुपमा बालुवा खानी सञ्चालन गरी बेलकोटगढी नगरपालिका–७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा लगेर बिक्री गरेको पाइएको भन्दै विदुर नगरपालिकाले काम बन्द गराउन प्रशासनलाई गत शुक्रबार पत्र पठाएर आग्रह गरेको थियो । उद्योग राख्न लागिएको स्थानमा यसअघि सञ्चालन गरिएको अवैध बालुवा खानीलाई गत चैतमा प्रशासनले बन्द गराएको थियो । उद्योग स्थापनाको समयमा लक्षित उद्देश्यअनुरुप काम नभएको भन्दै विदुर नपामा उजुरी परेपछि भौतिक संरचना निर्माण गर्दा उत्पन्न हुने निर्माण सामग्री नगरपालिकाभित्र मात्र सहुलियत शुल्कमा बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको थियो । तोकिएको मापदण्डको उल्लंघन गरी उद्योगको संरचना निर्माण नगरी अवैध बालुवा उत्खनन गर्नतर्फ केन्द्रित रहेको पाइएकाले निर्माणको काम बन्द गराउन प्रशासनको सहयोग लिएको प्रमुख सञ्जु पण्डितले जानकारी दिए। रासस
६ महानगरपालिकाको बजेट ३७ अर्ब : सबैभन्दा बढी काठमाडौं, कम भरतपुरको, कुन महानगरको कति ?
काठमाडौं । महानगरपालिका सबैभन्दा बढी बजेट बनाउने स्थानीय तह भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कामपाले आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ) ले उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालू आवको तुलनामा आगामी आवको बजेट १ अर्ब रुपैयाँ बढी हो । कामपाले चालू आव २०७४÷०७५ का लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको थियो । ७५३ स्थानीय तह रहेका छन् । स्थानीय तहले धमाधम बजेट सार्वजनिक गरिरहेका छन् । ६ वटा महानगरपालिकाले आगामी वर्षका लागि ३७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटको स्रोतमा काठमाडौंको आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान गरिएको छ । चालू आवको वैशाख मसान्तसम्ममा ३अर्ब २८ करोड ८४ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ । जुन अनुमानित खर्चको २५.५३ प्रतिशत हो । त्यसैगरी चालू आवमा १२ अर्व ८७ करोड ९४ लाख रुपैयँ राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ ५ अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट ७ अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो । चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ । काठमाडौं महानगरपछि दोस्रो ठुलो बजेट ल्याउनेमा पोखरा लेखनाथ महानगरपालिका रहेका छन् । पोखरा लेखनाथ आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आन्तरिक आयबाट २ अर्ब १९ करोड र बाह्य आम्दानीबाट ४ अर्ब २३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । वीरगञ्ज महानगरपालिकाले पनि आगामी वर्षका लागि ४ अर्ब ९४ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बजेटमा चालु तर्फ १ अर्ब १ अर्ब ४४ करोड र पुँजीगततर्फ ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । ललितपुर महानगरपालिकाले ४ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि ४ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ । विराटनगरले २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड रुपैयाँका बजेट प्रस्तुत गरेको हो । सबैभन्दा कम बजेट हुने महानगरमा भरतपुर रहेको छ । भरतपुुरको बजेट ३ अर्ब ३४ करोड रुपैयाँ मात्र छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्टको आईपीओ आजसम्म मात्र खुला
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बैंकिङ समयपछि बन्द हुने भएको छ । कम्पनीले आयाेजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको २ लाख ७१ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओको आवेदन फारम सोमबार बैंकिङ समयपछि लिन बन्द गरिने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित इलाम नगरपालिकाका १, ३ र ४ नम्बर वडाका स्थानीयबासिन्दालाई जेठ ८ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८७ रुपैयाँ २१ पैसा मात्र छ ।
एसर्इई परीक्षाफलमा गम्भिर त्रुटी, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर, अधिकारीहरू भागाभाग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो । परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ । प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ । नयाँ स्थितिमा आज सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ । यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन । कतिपयले विद्यार्थीले परीक्षाफल आएलगत्तै आफूले सोचेजति ग्रेड नभएको चिन्ता आइतबार गरेका थिए भने सोमबार नयाँ विवरण आएपछि प्रशन्नता व्यक्त गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नयाँ सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको पाइएको र विस्तृत के भएको बुझ्न बाँकी रहेको बताए । उनले यसबारे आवश्यक अध्ययन भइरहेको बताए । परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले पनि सफ्टवेयरले कमाण्ड नगरेकाले शुरुमा केही कम ग्रेड आएको र पछिल्लो नजिताले विद्यार्थीलाई न्याय भएको दाबी गरे । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीले नयाँ र सक्कलीस्तरसहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरुका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी हो भने । उनी भन्छन्, “बरु एक दिन ढिलो गरेको भए हुन्थ्यो, यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।” संवत् २०७४ को एसइईमा नियमिततर्फ चार लाख ५१ हजार ५३२० विद्यार्थी सहभागी भएका थिए । रासस
योग सेन्टरको गुरुयोजना बनाउन मात्रै १ अर्ब लाग्यो, निर्माणको लागि मन्त्रिपरिषदको निर्णय कुर्दै
काठमाडौँ । ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो । विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि निर्माण कार्य शुरु हुने बताए। गुरुयोजनामा आयुर्वेद विभागको बूढानीलकण्ठमा करीब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा मन्त्रिपरिषद्मार्फत भएको निर्माण भएको थियो । विभागका महानिर्देशक उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यक्तित्वका लागि ठूलो योग सेन्टर बनाउने बताए । उनले भने, ‘अहिले त्यहाँ प्रशासनिक भवन बनिसकेको छ, रु एक करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो ।’ सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ । सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिइ नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ ।रासस
वीरगन्ज महानगरले ल्यायाे ४ अर्ब ९४ करोडकाे बजेट, वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार
काठमाडौं । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । वीरगन्ज नगर सभागृहमा आज महानगरपालिकाले आयोजना गरेको दोस्रो नगर परिषद्मा आगामी आवका लागि उपप्रमुख शान्ति कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आगामी आवका लागि चालूतर्फ रु एक अर्ब ४४ करोड ७९ लाख ९ हजार, पूँजीगत खर्चतर्फ रु तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक करोड ५८ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ । चालू खर्चमा २९.१ प्रतिशत, पूँजीगत खर्चमा ७०.०६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३ प्रतिशत बजेट विनियोजित गरिएको छ । पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा व्यापारमैत्री नीति अवलम्बन गर्दै करका नयाँ दर लागू गरिएको महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिए । वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार महानगरको आव २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमको १२७ मध्ये १०१ वडा सदस्यले बहिष्कार गरेका छन् । वडाध्यक्षले पाउने सेवा सुविधा सरह आफूहरुले पनि पाउनु पर्ने माग राख्दै कार्यक्रमको विरोध गरेको वडा नं ५ का वडा सदस्य सुरज कुर्मीले बताए । मासिक तलब रु १० हजार हुनुपर्ने, मासिक १० वटा बैठक हुनुपर्ने, औषधोपचार भत्ता, बीमा, मोटरसाइकल सुविधा, मासिक १० लिटर पेट्रोल तथा वडाको बजेटमा ६० प्रतिशत वडा सदस्यले खर्च गर्न सकिने गरी कार्यक्रम ल्याउन वडा सदस्यले माग गरेका छन् । हाल वडा सदस्यले प्रतिमहिना पाँचवटा बैठकमा भाग लिनुका साथै रु सात हजार मासिक तलब पाउँदै आएका छन् । रासस
विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४७ करोड, प्राथमिकतामा भौतिक विकास
काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्ययसहितको बजेट आइतबार सार्वजनिक गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो नगरसभाको उद्घाटनका अवसरमा उक्त बजेट सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिको रु दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको रु एक अर्ब ९४ करोड २५ लाख गरी जम्मा रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्तुत गरेका हुन् । महानगरपालिकाको आन्तरिक स्रोतबाट रु ५४ करोड तीन लाख, राजश्व बाँडफाटबाट रु ३७ करोड पाँच लाख, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु ५३ करोड ८७ लाख, विषयगत कार्यालय रु ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदानबाट रु १० करोड, संघीय सरकार सर्त अनुदान रु ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसस्था अनुदान रु चार करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट रु तीन करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग रु एक करोड ८० लाख, मौज्दात रु सात करोडसहित जम्मा रु दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको छ । त्यस्तै चालु खर्चका लागि रु ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्ता रु २० करोड, भौतिक पूर्वाधारका लागि रु तीन अर्ब २५ करोड तीन लाख ३३ हजार, वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि रु पाँच करोड ९३ लाख ३० हजार र सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपक्षी कार्यक्रमका लागि नेपाल सरकारको सर्त अनुदान समेत रु ६२ करोड ४३ लाख ३४ हजार विनियोजन गरिएको छ । प्रमुख पराजुलीले प्रदेशको राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको बताउँदै अब विराटनगर ‘सफा सुन्दर, सुरक्षित र सक्षम हुने दावी गरे । शहरी, बाढीपीडित जनताको व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधि तथा पर्यटनको विकासमा बजेटले विशेष जोड दिएको छ । रासस
चीनले चालकबिहीन वातावरणमैत्री रेलसेवाको तीव्र विस्तार गर्ने
छेन्दु । काठमाडौंमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ । झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो । चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख एवं प्रमुख इञ्जिनियरिङ वार्डका वाङ काईले पहिलो चरणमा तीन हजार किलोमिटर रेलवे विस्तार गर्न सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए । प्रतिकिलोमिटर लागत १५ करोड आरएमबी (चिनियाँ मुद्रा) रहेको उक्त रेल सेवा नियो इनर्जी ब्याट्रीबाट चल्ने विश्वकै पहिलो रेल सेवा भएको उनले जानकारी दिएका छन् । सडकमाथि केबुलकार जस्तै झुन्डिएर चल्ने उक्त रेल सेवा जमिनमा कुद्नेभन्दा निकै सस्तो लागतमा तयार हुनेछ । उक्त रेल निकै सुरक्षित, सुविधाजनक र सस्तो हुने इञ्जिनियर काईले बताए । रासस