दुई कम्पनीको ४० लाख कित्ता बोनस सेयर सूचिकृत
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ४० लाख ६७ हजार १५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब ओइल लिमिटेडको गरी सो मात्राको बोनस सूचिकृत भएको हो । निर्धान उत्थान लघुवित्तको ४० लाख १ हजार ६५० कित्ता र ल्यूब ओइलको ६५ हजार ५०३ कित्ता बोनस नेप्सेमा थपिएको छ ।
माछापुच्छ्रे बैंकको लेकसाइड शाखा स्थानान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ । बैंकले मंगलबारदेखि संचालनमा आउने गरी उक्त शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् । नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, बैंकले एटिएमको सुबिधा समेत हल्लन चोकमा स्थानान्तरण गरेका बताएको छ । यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नवलपरासीको बर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।
लागुऔषध पूर्ण निषेध गर्ने गृहमन्त्री थापाकाे घाेषणा
काठमाडौं । मुलुकमा लागुऔषध प्रयोग र यसको ओसार पसार निषेध गर्ने गृहमन्त्रालयले जनाएको छ । मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले विकासका लागि पाँच र दश वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्ण रुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको उनले खुलासा गरे । केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे । राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा उनको जोड छ । ‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन,’ उनले भने ‘उक्त आन्दोलनमा सम्पुर्ण जनताको साथ आवश्यक छ ।’ लागुऔषधी कारोबारीहरुलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होईन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ,’ गृहमन्त्री थापाले कायक्रमको अवसरमा भने । फेरी उनले थपे, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ ।’ विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन । यसलाई आन्दोलनकै रुपमा अघि बढाउने उनको भनाइ छ ।
सिटिजन्स बैंक र नर्भिक हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलबीच ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।
उद्याेग अध्यावधिक गर्न उद्योगीले सरकारलाई टेरेनन्, कारबाहीकाे तयारी
काठमाडौं । उद्योगको अध्यावधिक विवरण पेश गर्न उद्योगीले सरकारलाई अटेर गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले महिना दिन अघि सार्वजनिक सूचना नै प्रकाशित गरि उद्योग अध्यावधिक गर्न निर्देशन दिए पनि अहिलेसम्म नगन्य उद्योग मात्र अध्यावधिक गरेका छन् । मुलुकभर ७००० भन्दा बढी उद्योग दर्ता भइसकेको अवस्थामा हालसम्म १०० का हारहारीमा अध्यावधिकका लागि विभागमा आएका छन् । स्वदेशीरविदेशी लगानी भित्र्याउदै लगानीमैत्री वातावरण बनाउन तथा उद्योगधन्दाको विकास गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक दर्ता भएका सम्पूर्ण उद्योगको अवस्था के–कस्तो छ पत्ता लगाउन अध्यावधिक गर्न जुटेको विभागलाई उद्योगी नटेरेको प्रष्ट देखिन्छ । अध्यावधिक अन्तर्गत उद्योगहरुले आफ्नो उद्योग सञ्चालन भएको छ वा छैन, लगानी लगायतका विवरण विभागमा पेश गर्नुपर्छ । अहिलेसम्म बढी उत्पादनमुलक उद्योगले अध्यावधिकको लागि आएका छन् । विभागकोअनुसार त्यसपछि खनिज, पर्यटन लगायतका उद्योगहरु अध्यावधिकका लागि आएका छन्। शिवम् सिमेन्ट, जयश्री फुड्स, श्रीराम सुगर मिल, स्टर्न सुगर मिल, कमला रोलिङ मिल, घोराही सिमेन्ट लगायत उद्योगहरुले आफ्नो उद्योग अध्यावधिक गर्न आएका हुन् । त्यस्तै सेवामुलक उद्योगहरुमा ट्रान्स नेपाल फ्रेट फ्रेन्च कर्नर, खनिज क्षेत्रमा चेन्हुई मिनरल, सूचना प्रविधि क्षेत्रमा स्पाउट टेक्नोलोजी सर्भिस प्रालि लगायतका उद्योगहरुले आफ्नो उद्योग अध्यावधिक गर्न विवराण पेश गरेका छन् । विभागले चाल्यो नयाँ कदम अध्यावधिक गर्ने उद्योगहरु आशातित मात्रामा नआएपछि विभागले नयाँ कदम चालेको छ । उद्योग विभागको प्रवक्ता दुर्गा भुसालले अपेक्षा गरे अनुसार अध्यावधिकको लागि उद्योग नआएपछि अनिवार्य उद्योग अध्यावधिक गर्ने व्यवस्था मिलाएको बताए । उनले भने ‘अब विभागमा आउने उद्योगको सबै फाइलको काम कारबाही गर्न अघि तोकिए बामोजिमको ढाँचाको विवरण अनिवार्य बुझाउन पर्ने व्यवस्था गरिएको छ ।’ उद्योग विभागले असार ८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको उनले बताए । विभागमार्फत उद्योगको क्षमता वृद्धि, पूँजी वृृद्धि, नामसारी, ठाँउसारी, सेयर खरिद बिक्री वैदेशीक लगानीमा आधारित उद्योगहरुका लागि पनि पूँजी वृद्धि, क्षमता वृद्धि, विदेशीक लगानी स्वीकृती, भिसा सिफारिस लगायतका कामकारबाही हुदै आएको छ । उद्योगीले अझ अटेर गरे औद्योगीक ऐनले व्यवस्था गरे अनुसारको कारबाही गर्ने समेत तयारी भइरहेको प्रवक्ता भुसालले जानकारी दिए । विभागले वैशाख २९ गते सार्वजनिक सूचना प्रकाशन गरी दर्ता भएका सम्पूर्ण उद्योगलाई एक महिनाभित्र अध्यावधिक गर्न निर्देशन दिएको थियो । औद्योगिक व्यवसाय ऐन अनुसार प्रत्येक उद्योगले व्यवसायीक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिएको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र उद्योग दर्ता गर्ने निकाय समक्ष पेश गर्नु पर्ने हुन्छ ।
नेप्से परिसूचक १२०० अंक तल, एकैदिन १५१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौं । मंगलबारको सेयर बजार १२०० अंकबाट तल झरेको छ । सो दिनको नेप्से परिसूचक १५.२९ अंकले घटेर ११९४.८० अंकमा अडिएको छ । बजार खुलेदेखि ओरालो लागेको बजारमा कारोबार रकममा भने केही वृद्धि भएको छ । सोमबार १८ करोडको कारोबार भएको बजारमा आज भने २३ करोडको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ बढी हो । बजारमा कुल १६० कम्पनीको सेयर किनबेच भएको छ । सोमध्ये ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी १५१ कम्पनीकाले गुमाएका छन् । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ४.७९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ । मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७८ अंकले घटेको छ । साे दिन कमाउने ९ कम्पनीः मंगलबार काराेबारमा अाएका यी कम्पनीका बाहेक बाँकी १५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुमारी बैंकका जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै, बैंकका सीईओ श्रेष्ठले सबै ग्राहकहरुलाई बैकिङ् सेवा लिइरहेको शाखाहरु मार्फत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरेका छन् ।