विकासन्युज

बैंकहरुको नाफा र सम्पत्तिमा व्यापक फेरबदल हुँदै, फरक हिसाबले सिटिजन्स बैंकको संचित कोषमा २ अर्ब थपियो

काठमाडौं । पुरानो लेखा प्रणाली अनुसार सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ गरेको थियो । नयाँ लेखा प्रणाली अनुसार उसको नाफा १ अर्ब ७१ करोड भयो । बैंकले मंगलबार नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरणमा  गणना गर्दा गत वर्षको नाफामा ६३ करोड ७३ लाख ३८ हजार वृद्धि भयो । नयाँ विधि अनुसार हिसाव गर्दा नाफा ५८.९२ प्रतिशतले वृद्धि भयो । यस्तो उच्चदरको नाफा वृद्धि नयाँ व्यापार गरेर वा व्यापार बढाएर भएको होइन, ‘नयाँ तरिकाबाट गरेको पुरानो हिसाव’ मात्र हो । आर्थिक वर्ष २०७४/७५ को नाफामा फेरि ठिक उल्टो विवरण आयो । पुरानो लेखा प्रणाली अनुसार गत वर्ष बैंकको नाफा १ अर्ब ४० करोड ५५ लाख ५७ हजार रुपैयाँ छ । सोही वर्षको नाफा नयाँ लेखा प्रणाली अनुसार १ अर्ब २७ करोड ५ लाख ७६ हजार रुपैयाँ छ । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १३ करोड ४९ लाख ८१ हजार घटेको छ । पुरानो विधि अनुसार असार मसान्तमा बैंकको संचित कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ भने नयाँ विधिअनुसार बैंकको संचित कोषमा ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । संचित कोषमा १ अर्ब ८६ करोड रुपैयाँ (६७ प्रतिशतले वृद्धि) थपिएको छ । सिटिजन्स बैंकको तथ्याङ्क प्रष्ट रुपमा प्रकाशित भएकोले हामीले फरकपन उल्लेख गरेका हौं र एउटा उदाहरणका रुपमा प्रस्तुत गरेका हौ । सिटिजन्स बैंकको जस्तै अरु बैंकहरुको वित्तीय विवरणमा पनि व्यापक फेरबदल आउने जानकारहरु बताउँछन् । धेरै बैंकहरुले २०७५ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छैनन् । गणितको हिसावमा यति ठूलो अन्तर कसरी आउँछ ? यो मिलेको हिसाव हो कि बिग्रेको हिसाव ? पब्लिक कम्पनीहरुको हिसाब किताव तथ्यपरक र विश्वसनिय हुनुपर्छ कि नाटकीय र परिवर्तन योग्य ? गणितमा जहिले पनि २ मा २ जोड्दा ४ नै हुन्छ, ५ हुँदैन र तीन पनि हुँदैन । तर बैंकहरुको वित्तीय विवरणमा किन यस्तो भइरहेको छ ? गणितको हिसावमा यति ठूलो अन्तर कसरी आउँछ ? यो मिलेको हिसाव हो कि बिग्रेको हिसाव ? पब्लिक कम्पनीहरुको हिसाब किताव तथ्यपरक र विश्वसनिय हुनुपर्छ कि नाटकीय र परिवर्तन योग्य ? यहि प्रश्न हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेललाई सोध्यौ । उनले यो प्रश्न निकै जटिल र डकुमेन्ट हेरेर बताउन सकिने खालको भएको बताए । नारायण पौडेल उनका अनुसार पहिलाको लेखा प्रणाली र अहिलेको लेखाप्रणालीमा अद्योपान्त नै फरक छ । सम्पत्तिको मूल्यङ्कन गर्ने विधिमा फरक पर्छ । आय गणना गर्ने विधिमा फरक पर्छ । प्रोभिजन गर्ने विधिमा फरक पर्छ । त्यसले नाफा नै परिवर्तन गर्छ । कम्पनीको नेटवर्थ पनि फरक आउँछ । इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (आईएफआरएस) का आधारमा नेपाल सरकारले नेपाल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गरेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्न थालेका छन् । के फरक पर्छ ? नाफा र सम्पत्ति मात्र होइन, कर्जा लगानीको अंक पनि फरक परेको छ । पुरानो लेखा प्रणाली अनुसार सिटिजन्स बैंकले २०७५ असार मसान्तसम्ममा ५७ अर्ब ९५ करोड कर्जा सापटी दिएको छ । तर नयाँ लेखा प्रणालीअनुसार सोही बैंकको कर्जा सापटी प्रवाह ५८ अर्ब ५४ करोड रुपैयाँ छ । करिव ६० करोड रुपैयाँ लगानी बढी देखिएको छ । नयाँ प्रणाली अनुसार धितो पर्याप्त भएको कर्जामा व्याज असुल ढिला भएको अवस्थामा व्याज रकमलाई कर्जामा जोड्न पाइन्छ । त्यसैले करिव ६० करोड कर्जा लगानी बढी देखिएको बैंक सम्बद्ध स्रोतले बतायो । गत वर्षका नाफामा ६३ करोड बढी हुनुमा एक्वाएर गरेको प्रिमियर फाइनान्सको सम्पत्तिको मूल्याङकनले फरक पारेको हो । उक्त ६३ करोड रुपैयाँ सिटिजन्स बैंकको संचित कोषमा जोडिएको छ । नयाँ लेखा प्रणालीका आधारमा अधिकांश सूचिकृत कम्पनीहरुको नाफा ह्वातै बढ्ने भएको छ । खासगरी स्थीर सम्पत्ति धेरै भएका पुराना बैंकहरुको नाफामा उच्चदरले वृद्धि आउने छ । एनएफआरएस अनुसार कर्जाको धितो पर्याप्त भएमा ऋणीबाट नियमित रुपमा ब्याज भुक्तानी नभए पनि यसलाई कर्जामा गणना गर्न मिल्नेछ । यसले बैंकहरुको कर्जा वृद्धि हुनेछ । त्यस्तै व्याज आम्दानी नियमित नभएको कर्जामा ६ महिनापछि कर्जा नोक्सानी व्यवस्था(प्रोभिजिन) गर्नु नपर्ने भएको छ । नयाँ व्यवस्थाले प्रोभिजनमा धेरै रकम जम्मा गरेका बैंकहरुको नाफामा वृद्धि आउने छ । एनआरएफएस अनुसार कर्जाको धितो पर्याप्त छ भने ब्याज भुत्तानी नियमित नभए पनि सबै कर्जा नोक्सानीको व्यवस्था गर्न नपर्ने भएकाले नाफा बढी देखिने कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरी बताउँछन् । कुनै पनि कर्जाको धितो राम्रो अवस्थामा र पर्याप्त छ भने नियमित रुपमा ऋणीले ब्याज भुक्तानी नगरे पनि कर्जा सम्झौता अनुसारको व्याज रकमलाई आम्दानीमा गणना गर्न पाइने उनको भनाई छ । तर यस्तो रकमलाई कर्जा लगानीमा जोड्नु पर्नेछ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार एनआरएफएस लागू भएपछि पुराना बैंकहरुको नेटवर्थ बढ्ने छ । स्थीर सम्पत्तिको पुरानो मूल्यका आधारमा सम्पत्तिको मूल्याङ्कन गर्दै आएका बैंकहरुले फ्रेस मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन गर्नुपर्नेछ । यस्तो मूल्याङ्कन विधिले नेपाल बैंक, कृषि विकास बैंक, नागरिक लगानी कोष, राष्ट्रिय बीमा कम्पनी जस्ता स्थीर सम्पत्ति बढी भएका कम्पनीको नेटवर्थ वृद्धि हुनेछ ।

सस्तो ब्याजमा ऋण चाहियो ? जानुस् राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । महंगो ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन ? महंगो ब्याजदरले गर्दा नयाँ व्यवसाय सुरु गर्न गाह्रो भएको छ ? सस्तो ब्याजको खोजिमा हुनुहुन्छ ? त्यसो भए अब जानुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा । यो बैंकले तपाईलाई सबै भन्दा थोरै ब्याजदरमा ऋण दिनेछ । बैंकले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर २८ वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो देखिएको हो । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२० प्रतिशत मात्र छ । यसमा औसत ५ प्रतिशत प्रिमियम जोड्दा राष्ट्रिय वाणिज्यको ११.५ प्रतिशत ब्याजमा कर्जा पाउन सकिने सार्वजनिक नयाँ दरले देखाएको छ । आधार र ब्याजदर अन्तर (स्प्रेड) जोड्दा ११.१५ प्रतिशत हुने बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । राष्ट्रिय वाणिज्यको आधार दर सबैभन्दा कम रहेकाले कर्जाको ब्याजदर अन्यको भन्दा सस्तो हुन पुगेको हो । निक्षेपको लागत सस्तो हुनुका साथै पर्याप्त लगानीयोग्य पुँजी भएकाले अन्य बैंकको भन्दा सस्तो ब्याजदर रहेको राष्ट्रिय वाणिज्यका उपमहाप्रवन्धक उद्धवप्रसाद खनालले बताए । उनका अनुसार निक्षेप लागत २ प्रतिशत हारहारीमा छ । यस्तै प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ६९ प्रतिशत हारहारीमा रहेको छ । सस्तो ब्याजमा निक्षेप उठाउने भएकाले लागत कम हुन गई अन्य बैंकको भन्दा सस्तो ब्याजदर भएको खनालको भनाई छ । उनले पुरानो लेखा प्रणालीअनुसार औसत ब्याजदर १० प्रतिशत तल हुने भन्दै नयाँ लेखा प्रणालीअनुसार बैंकको ब्याजदर १०.५ प्रतिशतसम्म पुग्ने बताए । गत आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म सबैभन्दा सस्तो ब्याजदर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । स्ट्याण्डर्डलाई पछि पार्दै राष्ट्रिय वाणिज्य सस्तो दरमा कर्जा दिने भएको हो । कर्जाको सस्तो ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्यपछि नेपाल बैंक, स्ट्याण्डर्ड चाटर्ड, नविल र त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंक देखिएको छ । नेपाल बैंकको ७, स्ट्याण्डर्डको ७.२० र नविलको ७.३८ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत आधारदर रहेको छ । सार्वजनिक गर्ने मध्ये सबैभन्दा बढी आधारदर सेन्चुरी कमर्शियल बैंकको १२.०६ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा औसत कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.९२, सिटिजन्सको ११.७८, सिभिल बैंकको ११.८४, मेगा बैंकको ११.३८ प्रतिशत आधार दर रहेको छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत माथि रहेकाले कर्जाको ब्याजदर १५ प्रतिशत माथि रहेको देखिएको छ । बैंकले निक्षेपमा दिने ब्याज कम भएपछि कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुन गएको हो । बैंकले सामान्य वचतमा २ देखि ४ प्रतिशत ब्याज दिने गरेको छ ।  अधिकाँश बैंकले साधारण निक्षेपमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिएका छन् । राष्ट्रिय वाणिज्यको औद्योगिक तथा व्यापारिक, हाउजिङ तथा रियलस्टेट कर्जाको ब्याजदर औसत १० प्रतिशत हारहारीमा रहेको छ । यस्तै आवास कर्जा (होमलोन) वर्षअनुसार फरक छ । ५, १० र १५ वर्षको होमलोनको ब्याजदर भने फरक छ । होम लोनको ब्याजदर न्युनतम आधारदरमा न्युनतम ९.२ देखि अधिकतम ११.७ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ दरमा सवारीसाधन कर्जा (अटोलोन) न्युनतम ९.२ देखि अधिकतम् १०.२ प्रतिशतसम्म रहेको छ ।

चिनियाँमा समानमा १५० प्रतिशत भन्सार बढाउँदै अमेरिका

काठमाडौं । अमेरिकाले २०० बिलियन डलर मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १५० प्रतिशतले   बढाउने भएको छ । अमेरिकी अर्थतन्त्रको रक्षा र विकासका लागि भन्दै ट्रम्प प्रशासनले हाल १० प्रतिशत भन्सार असुलिँदै आएका चिनियाँ समानहरुमा २५ प्रतिशत भन्सार उठाउने तयारी थालेको हो । यस अघि ट्रम्प प्रशासनले ३४ बिलियन मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत असुलेको थियो । त्यसको एक महिनापछि नै थप २०० बिलियन अमेरिकी डलर बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाउने अन्तिम तयारी गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर प्रशासनका कर्मचारीहरुलाई त्यस्तो निर्देशन दिईसकेको सिएनएन तथा ब्ल्युमवर्ग लगायतका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । गत महिना चिनियाँ समानमा भन्सार दर बढाएपछि चीनले आपक्ति जनाएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनको रक्षाका लागि भन्दै ३४ बिलियन डलर मूल्य बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाई छाडेका थिए । चीनसँगको व्यापारमा अमेरिकाले बार्षिक ३७५ बिलियन डलर घाटा व्यहोर्दै आएको छ । बढ्दो व्यापार घाटा कम गर्न र अमेरिकी उद्योगीहरुको प्रतिष्पर्धी क्षमता बढाउन भन्सार दर बढाईएको तर्क ट्रम्प प्रशासनले गर्दै आएको छ ।ट्रम्पले आफ्ना चुनावी भाषणहरुमा पनि ‘अमेरिका फस्ट’को नीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अमेरिकी कर प्रशासनले आगामी सातादेखि १६ विलियन अमेरिकी डलर मूल्य बराबरका चिनियाँ समानहरुमा नयाँ नयाँ भन्सार दर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ र यतिबेला कुन कुन उत्पादनमा भन्सार दर बढाउने भन्ने तयारी गरिरहेको जनाएको छ । उता, चीनले पनि प्रतिक्रिया स्वरुप अमेरिकी समानहरुमा सोही मात्रामा भन्सार दर बढाउने तयारी थालेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

माथिल्लो तामाकोसीको आईपीओ आजदेखि खुला, डिम्याट नभए पनि हुने

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई खुला भएको हो । तामाकोसीको आईपीओ भदौ १४ गतेसम्म निष्कासन हुनेछ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता निष्कासन भएको हो । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ । सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुने छ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । काठमाडौंबाट साउन २५ गतेसम्म मात्र फारम लिने कोषले जानकारी दिएको छ । दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था हुने छ । विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ । डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ । ३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितोपत्र बोर्डको सुझाब दिएको छ ।

फोनिजद्धारा विभिन्न विधाका ४ जना पत्रकार पुरस्कृत हुँदै, जनही ४० हजारको पुरस्कार

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ । साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले पुरस्कार छनौट समितिको बैठकको निर्णयलाई अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।उक्त पुरस्कारबाट यस वर्ष अनलाईन विधामा उजिर मगर, टेलिभिजन विधामा भैरव आङला, छापा विधामा छेटु शेर्पा र रेडियो विधामा बिमला चौधरी पुरस्कृत हुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले बताए । जनही ४० हजार रुपैयाँ राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०७५’ कार्यक्रममा प्रदान गरिने सचिव लिम्बूले जानकारी दिए । पुरस्कृत पत्रकारको संक्षित विवरणः उजिर मगर २०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्ट दैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् । भैरव आङ्ला २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता शुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनको योगदान पुर्याएका छन् । छेटु शेर्पा २०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता शुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् । बिमला चौधरी २०६२ सालदेखि पत्रकारीता शुरु गरेका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छिन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएकी छिन् ।

एजुकेसन कन्सल्टेसीको दर्ता बन्द, प्रकियामा रहेका ७८६ ले अनुमति नपाउने

काठमाडौं । सरकारले शैक्षिक परामर्शदाता संस्था (कन्सल्टेन्सी) सेवाको दर्ता बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मंगलबारदेखि लागु हुने गरी कन्सल्टेन्सी दर्ता बन्द गराएका हुन् । अर्को नीतिगत व्यवस्था नभएसम्म कन्सल्टेन्सी दर्ता बन्द भएको शिक्षा मन्त्रालय छात्रवृछि शाखा प्रमुख रेवतप्रसाद पराजुलीले बताए । उनले सञ्चालनमा रहेका कन्सल्टेन्सीको नवीकरण यथावत रहने जानकारी दिए । स्वीकृति प्राप्त संस्थाहरूले आफ्ना कागजातहरू समयमै अद्यावधिक गरी राख्न समेत शिक्षा मन्त्रालयले भनेको छ । सेवा सञ्चालन स्वीकृतिका लागि आवेदन पेश गरी निर्णय प्रक्रियामा रहेका कन्सलटेन्सीले पनि सञ्चालन स्वीकृति नपाउने भएका छन् । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका कार्यान्वयनमा रहेको र सोही बमोजिम त्यस्ता संस्थाहरूको नियमन हुदै आएको थियो । ती संस्थाहरूको नियमनको सम्बन्धमा संघीय, प्रादेशिक वा स्थानीय तहको अधिकार क्षेत्र निर्धारण गरिने भएको छ । अधिकार क्षेत्र निर्धारण गरेपछि मात्र कन्सल्टेन्सीको दर्ता खुला हुने उनले स्पष्टपारे । ऐन वा नियम संशोधन एवं परिमार्जन गर्न आवश्यक देखिएकाले सोही प्रयोजनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सेवा सञ्चालन स्वीकृतिका लागि आवेदन लिदै आएको थियो । अब अर्को व्यवस्था नभए सम्मका लागि आवेदन लिने कार्य स्थगित गरेको छ । हाल २ हजार २५६ वटा संचालमा छन् । जसमा १ हजार ४७३ वटा मात्रै स्वीकृत पाएका छन । मन्त्रालयद्वारा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पुर्व तयारी कक्षाका सेवाप्रदायक संस्थाहरूको अनुगमन एवं नियमन गर्ने उद्देश्यले जारी पनि गर्ने भएको छ ।

ओपोले मिड-रेञ्जको स्मार्टफोन सार्वजनिक गर्दै, विभिन्न विशेषताका साथै ‘म्यूजिक पार्टी’ फङ्सनपनि

काठमाडौं । सेल्फी एक्स्पर्ट, ओपोले नेपाली बजारमा नयाँ मिड-रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सुपर फुल नोच स्क्रिन सहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो । कम्पनीको मिड-टायर स्मार्टफोन भएतापनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई-रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन् । साथै, दैनिक प्रयोगका दौरान ब्याट्रीका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले ओपो एथ्रीएस २ जीबी र्याम र १६ जीबी आन्तरिक (आवश्यकता अनुसार एसडी कार्ड मार्फत थप्न सकिने) सञ्चय क्षमताका साथ सार्वजनिक गरिने जानकारी दिएको छ । फोनमा कलरओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ । कम्पनीका अनुसार क्वालकम स्न्यापड्रायगन ४५०द्वारा शक्ति प्रदान गरिएको ओपो एथ्रीएसमा एआई ब्यूटी प्रविधि फिचरपनि उपलब्ध गरिएको छ । फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्सपनि उपलब्ध हुनेछ । ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहना अनुसार ओपो एथ्रीएस उपलब्ध गराउने तयारी गरिएको हो । यसमा रहेको शक्तिशाली ब्याट्रीले तिनलाई हरेक दिन स्मार्णिय पलहरु विना कुनै रुकावट तस्विरका रुपमा कैद गर्न सघाउने छ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फङ्सनपनि उपलब्ध गराएको छ । यो फङ्सनले प्रयोगकर्तालाई बहुसंख्यक स्मार्टफोन हटस्पटको माध्यमबाट कनेक्ट गरी विना स्पिकर एउटै ट्रयाकको मज्जा लिन सघाउँछ । तर, फञ्सनको उपयोगका लागि फोनमा कलरओए ५.१ वा सो भन्दा नयाँ भर्जनको हुनुपर्ने कम्पनीले जनाएको छ ।

१५ दिनमा २ अर्ब ५८ करोडको बोनस सेयर दर्ता, कसको कति (सुचिसहित)

काठमाडौं । आर्थिक वर्ष सुरु भएको १५ दिनमा २ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डमा हिमालयन बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको २ करोड ५८ लाख ६१ हजार कित्ता बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, हिमालयन बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । यस्तै सुर्योदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ११२ कम्पनीले ३३ अर्ब ८ करोड रुपैयाँ बराबरको ३३ करोड ८ लाख कित्ता बोनस सेयर वितरण गरेका थिए ।