काठमाडौं । महंगो ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन ? महंगो ब्याजदरले गर्दा नयाँ व्यवसाय सुरु गर्न गाह्रो भएको छ ? सस्तो ब्याजको खोजिमा हुनुहुन्छ ? त्यसो भए अब जानुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा । यो बैंकले तपाईलाई सबै भन्दा थोरै ब्याजदरमा ऋण दिनेछ ।

बैंकले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर २८ वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो देखिएको हो । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२० प्रतिशत मात्र छ । यसमा औसत ५ प्रतिशत प्रिमियम जोड्दा राष्ट्रिय वाणिज्यको ११.५ प्रतिशत ब्याजमा कर्जा पाउन सकिने सार्वजनिक नयाँ दरले देखाएको छ । आधार र ब्याजदर अन्तर (स्प्रेड) जोड्दा ११.१५ प्रतिशत हुने बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । राष्ट्रिय वाणिज्यको आधार दर सबैभन्दा कम रहेकाले कर्जाको ब्याजदर अन्यको भन्दा सस्तो हुन पुगेको हो ।
निक्षेपको लागत सस्तो हुनुका साथै पर्याप्त लगानीयोग्य पुँजी भएकाले अन्य बैंकको भन्दा सस्तो ब्याजदर रहेको राष्ट्रिय वाणिज्यका उपमहाप्रवन्धक उद्धवप्रसाद खनालले बताए । उनका अनुसार निक्षेप लागत २ प्रतिशत हारहारीमा छ । यस्तै प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ६९ प्रतिशत हारहारीमा रहेको छ । सस्तो ब्याजमा निक्षेप उठाउने भएकाले लागत कम हुन गई अन्य बैंकको भन्दा सस्तो ब्याजदर भएको खनालको भनाई छ ।
उनले पुरानो लेखा प्रणालीअनुसार औसत ब्याजदर १० प्रतिशत तल हुने भन्दै नयाँ लेखा प्रणालीअनुसार बैंकको ब्याजदर १०.५ प्रतिशतसम्म पुग्ने बताए । गत आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म सबैभन्दा सस्तो ब्याजदर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । स्ट्याण्डर्डलाई पछि पार्दै राष्ट्रिय वाणिज्य सस्तो दरमा कर्जा दिने भएको हो । कर्जाको सस्तो ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्यपछि नेपाल बैंक, स्ट्याण्डर्ड चाटर्ड, नविल र त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंक देखिएको छ ।
नेपाल बैंकको ७, स्ट्याण्डर्डको ७.२० र नविलको ७.३८ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत आधारदर रहेको छ । सार्वजनिक गर्ने मध्ये सबैभन्दा बढी आधारदर सेन्चुरी कमर्शियल बैंकको १२.०६ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा औसत कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.९२, सिटिजन्सको ११.७८, सिभिल बैंकको ११.८४, मेगा बैंकको ११.३८ प्रतिशत आधार दर रहेको छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत माथि रहेकाले कर्जाको ब्याजदर १५ प्रतिशत माथि रहेको देखिएको छ ।
बैंकले निक्षेपमा दिने ब्याज कम भएपछि कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुन गएको हो । बैंकले सामान्य वचतमा २ देखि ४ प्रतिशत ब्याज दिने गरेको छ । अधिकाँश बैंकले साधारण निक्षेपमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिएका छन् ।
राष्ट्रिय वाणिज्यको औद्योगिक तथा व्यापारिक, हाउजिङ तथा रियलस्टेट कर्जाको ब्याजदर औसत १० प्रतिशत हारहारीमा रहेको छ । यस्तै आवास कर्जा (होमलोन) वर्षअनुसार फरक छ । ५, १० र १५ वर्षको होमलोनको ब्याजदर भने फरक छ । होम लोनको ब्याजदर न्युनतम आधारदरमा न्युनतम ९.२ देखि अधिकतम ११.७ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ दरमा सवारीसाधन कर्जा (अटोलोन) न्युनतम ९.२ देखि अधिकतम् १०.२ प्रतिशतसम्म रहेको छ ।