काठमाडौं । अमेरिकाले २०० बिलियन डलर मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १५० प्रतिशतले बढाउने भएको छ । अमेरिकी अर्थतन्त्रको रक्षा र विकासका लागि भन्दै ट्रम्प प्रशासनले हाल १० प्रतिशत भन्सार असुलिँदै आएका चिनियाँ समानहरुमा २५ प्रतिशत भन्सार उठाउने तयारी थालेको हो ।

यस अघि ट्रम्प प्रशासनले ३४ बिलियन मूल्य बराबरका चिनियाँ समानको भन्सार दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत असुलेको थियो । त्यसको एक महिनापछि नै थप २०० बिलियन अमेरिकी डलर बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाउने अन्तिम तयारी गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर प्रशासनका कर्मचारीहरुलाई त्यस्तो निर्देशन दिईसकेको सिएनएन तथा ब्ल्युमवर्ग लगायतका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
गत महिना चिनियाँ समानमा भन्सार दर बढाएपछि चीनले आपक्ति जनाएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनको रक्षाका लागि भन्दै ३४ बिलियन डलर मूल्य बराबरका चिनियाँ समानमा २५ प्रतिशत भन्सार लगाई छाडेका थिए ।
चीनसँगको व्यापारमा अमेरिकाले बार्षिक ३७५ बिलियन डलर घाटा व्यहोर्दै आएको छ । बढ्दो व्यापार घाटा कम गर्न र अमेरिकी उद्योगीहरुको प्रतिष्पर्धी क्षमता बढाउन भन्सार दर बढाईएको तर्क ट्रम्प प्रशासनले गर्दै आएको छ ।ट्रम्पले आफ्ना चुनावी भाषणहरुमा पनि ‘अमेरिका फस्ट’को नीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अमेरिकी कर प्रशासनले आगामी सातादेखि १६ विलियन अमेरिकी डलर मूल्य बराबरका चिनियाँ समानहरुमा नयाँ नयाँ भन्सार दर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ र यतिबेला कुन कुन उत्पादनमा भन्सार दर बढाउने भन्ने तयारी गरिरहेको जनाएको छ । उता, चीनले पनि प्रतिक्रिया स्वरुप अमेरिकी समानहरुमा सोही मात्रामा भन्सार दर बढाउने तयारी थालेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।