नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
काठमाडौं। लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ। पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन। ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन । पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि पुल निर्माणको लागि टेण्डर भएको थियो । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ । पहिलो वर्ष भारत सरकारको स्थानीय प्रशासनले समयमै अनुमति दिन नसक्दा काम भएन, निर्माण व्यवसायी दीपक साउदले भन्नुभयो, गत वर्ष भारतबाट पुल निर्माणका लागि निर्माण सामाग्री ल्याउन सकिएन । अहिले निर्माणस्थलमा सामग्री ढुवानी गरिएको भए पनि नदीमा पानीको सतह नघटेका कारण काम गर्न सकिएको छैन । चाडपर्व नजिकिएसँगै स्थानीयवासीलाई सामान ओसारपसार गर्ने चटारो चलेको छ, लेकम गाउँपालिका–३ का तारा भण्डारीले भन्नुभयो । उस्तै पनि वारीपारी (नेपाल–भारत) रोटीबेटीको सम्बन्ध छ, वारिका चेली पारि अनि पारिका चेली वारि छन् । तिहारमा झनै माइत आवतजावत गर्नेदेखि लिएर चाडपर्वका सामग्री ल्याउन यही ट्युवको प्रयोग हुन्छ ।
मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित
काठमाडौं। राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको “पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो । सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ। रासस
दिगम्बर झालाई काम गर्न बाटो खुल्यो, सरकारले लगाएको ४ प्रतिबन्ध फुकुवा
दिगम्बर झा-अध्यक्ष नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणमा लागाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणलाई फुकुवाको पत्राचार गर्ने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता रामप्रसाद ढकालले बताए । यसअघि सरकारले प्राधिकरणलाई ४ प्रतिबन्ध लगाएको थियो । फुकुवापछि फ्रिकोइन्सी, इजाजत अनुमति, ग्रामिण दूरसञ्चार कोषको रकम सञ्चालन र दुरगामी महत्वको निर्णय गन झालाई बाटो खुलेकाे छ । यसअघि सरकारले प्राधिकरणलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न पत्राचार गरेको थियो । प्राधिकरणलाई सल्लाह सुझाव दिन सरकारले गत असारमा ३ सदस्यीय सुझाव समिती समेत गठन गरेको थियो । समितिले सुझाव समेत दिइकेको प्राधिकरणले जनाएको छ ।
बर्दियाबाट फुस्किएका बामदेव बाँके ३ मा चुनाव लड्दै, के गर्छन रोकाय ?
काठमाडौं । नेकपाका प्रभावशाली नेता बामदेव गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएका छन् । नेकपाले सो क्षेत्रका प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागेको हो । नेकपाका महासचिव बिष्णु पौडेलले रोकायलाई भेटेर राजीनामा गरेर सहयोग गर्न आग्रह गरिसकेको श्रोतले बतायो । ‘महासचिवले रोकायलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गर्नु भएको छ, तर रोकायले मान्नु भएको छैन्’, नेकपा उच्च श्रोतले भन्यो । बर्दियामा काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतम सोही क्षेत्रको सिमामा पर्ने बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्ने तयारीमा जुटेका हुन् । गौतमले सो क्षेत्रको जनआधार बुझ्नका लागि सुत्रहरु परिचालन समेत गरिसकेको बताइएको छ । प्रतिनिधी सभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार रोकायले काँग्रेसका बादशाह कुर्मीलार्ई ५३ सय मत अन्तरले पराजित गरेका थिए । नेपालगञ्ज उप महानगरपालिकाको २ वटा वडा, खजुरा, जानकी र बैजनाथ गाउँपालिका मिलेर क्षेत्र नम्बर ३ बनेको छ । यी तीन वटै स्थानीय तहमा तत्कालिन एमालेले जितेको छ । बर्दियामा बामदेव गौतमलाई निर्वाचन हराउन भूमिका खेलेको भनिएका सुर्खेतबाट झरेकाहरुको संख्या यहाँ पनि निर्णायक तहमा रहेको छ । हालका सांसद रोकाय पनि सुर्खेतबाटै झरेका हुन् । आधा दर्जन वडामा थारुहरुको बाहुल्यता छ भने केहि वडामा मुस्लिम समुदायको राम्रो पकड छ । निर्णायक मत भने सुर्खेतबाट झरेका पहाडियाहरुको रहेको बताइन्छ ।
यातायात व्यवसायीको बैंक खाताको भुमरीमा परेका मन्त्री रघुवीरकाे गृहसँग गुहार, दशैंकाे टिकट बुकिङ खुलाउन आनाकानी
काठमाडौं । व्यवसायीको बैंक खाता बन्द भएपछि यातायात क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । यातायात व्यवस्था विभागले भदौ ३१ गते नै अग्रिम टिकट खुल्ला गर्ने व्यवसायीसँग सहमति गरेपनि व्यवसायीहरुले इन्धनको मूल्य बृद्धि भएको भन्दै खुलाउन असहमति जनाए । शनिबार यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको नेतृत्वमा बसेको बैठकले ४ बुँदामा सहमति गर्यो । सहमतिमा तत्कालै १० प्रतिशत भाडा बृद्धि गर्ने लगायतको सहमति भएको छ । सहमतिको बुँदा नम्बर ३ मा तत्कालिन यातायात व्यवसायीको बन्द रहेको बैंक खाताबाट समितीको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुको भुक्तानी छिटो छरितो गर्न व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग अनुरोध गर्ने उल्लेख गरिएको छ । भौतिक,पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यसअघि नै मन्त्रालयमा पत्रकार सम्मेलन गरि कुनैपनि हालतमा बैंक खाता खुल्ला गर्न नसकेको व्यवसायीहरुलाई स्पष्टिकरण दिइसकेका छन् । साथै व्यवसायीलाई बैंकबाट रकम झिक्न जिल्ला प्रशासन मार्फत मिलाइएको थियो । तर व्यवसायी अनुकुल नभएपछि सो बाटो मार्फत रकम झिक्न व्यवसायीहरुले चासो दिएनन । काठमाडौं जिल्लामा ३ व्यवसायीले मात्र रकम निकासा गर्न निवेदन दिएको सहायक जिल्ला प्रमुख अधिकारी वासुदेव घिमिरेले बताए । यसबाट नै स्पस्ट हुन्छ कि व्यवसायीहरु बैंक खाता खुल्ला गर्नुे पक्षमा छन् । के गर्नुपर्छ बैंक खाता खुलाउन ? विभागका कानून अधिकृत दिपक घिमिरेका अनुसार बैंक खाता खोल्न यातायात मन्त्रालय र गृहमन्त्रालयले सामूहिक निर्णय गरि अर्थ मन्त्रालयमा पत्र काट्नु पर्नेछ । पुनः अर्थले राष्ट्र बैंकलाई पत्र काट्नु पर्नेछ । राष्ट्र बैंकले निर्देशन दिएपछि मात्र बैंक खाता खुल्नेछ । सिन्डिकेटको अन्त्य भएपछि व्यवसायीहरु कम्पनी मार्फत सञ्चालनमा आउनु पर्नेछ । यसरी आउँदा संस्था दर्ता ऐन अनुसार संस्थामा रहेको सम्पती सिधैं सरकारमा जानेछ । बैंक खाताकै कारण मन्त्रालयले यातायात समितिको मंसिरसम्म म्याद थपेको यातायात मन्त्रालयको एक कर्मचारीले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च श्रोतका अनुसार प्रत्येक व्यवसायीहरुसँग १ करोड रूपैयाँ भन्दा बढी रकम रहेको छ । यस हिसाबले २४५ वटा व्यवसायी समितिसँग साढे २ अर्ब रूपैयाँभन्दा बढी रकम रहेको छ । मन्त्रालयले अधिकार दिएपछि हौसिए व्यवसायी सहमतिको बुँदा नम्बर ४ मा अग्रिम बुकिङ लगायत पुर्व निर्णय बमोजिमको सम्र्पुण कार्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गर्ने उल्लेख गरिएको छ । मन्त्रालयले अग्रिम टिकट बुकिङको सम्पुर्ण जिम्मा महासंघलाई दिएपछि व्यवसायीहरु हौसिएका छन् । महासंघका सचिव सरोज सिटौलाले सोमबार आकस्मिक बैठक बोलाएर मात्रै खुल्ने नखुल्ने निर्णय गर्ने बताए । मन्त्रालयले हाम्रो मागको बारेमा औपचारिक जानकारी दिएको छैन, मन्त्रालयको पत्र आएपछि हामी बैठक बस्छौ र टिकट बुकिङ खोल्ने नखोल्ने निर्णय गर्छौ, सिटौलाले विकासन्युजसँग भने । सरकारले यातायात व्यावसायीसँग भाँडा बढाउने सहमति गरेपनि टिकट बुकिङ खुलाउन आनाकानी गरेका हुन् । सिहंदरबारमा भएको बैठकमा यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो । यो पनि हेर्नुहोस् २४५ यातायात व्यवसायीको साढे २ अर्ब रुपैंया जफत हुँदै, यसरी आउँदैछ राज्य कोषमा
संकटग्रस्त क्यापिटल मर्चेन्टमा प्रवलजंग पाण्डे समूहको प्रवेश, नयाँ लगानीकर्ताले २२ रुपैयाँमा संस्थापक सेयर किने
काठमाडौं । संकटग्रस्त घोषित भइ कारोबार नै बन्द भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । बन्द अवस्थामा रहेको फाइनान्समा युवा उद्यमी प्रवलजंग पाण्डेलगायत अन्य नयाँ लगानीकर्ताको प्रवेश भएको हाे । नयाँ लगानीकर्ताको प्रवेशका लागि नेपाल राष्ट्र बैंकले संस्थापक सेयर कारोबारको बाटो खुला गरेको थियो । बन्द रहेकाे क्यापिटल पुनः सञ्चालनमा अाउने भएकाे छ । आइतबार पाण्डे समूहले क्यापिटलकाे संस्थापक सेयर प्रतिकित्ता २२ रुपैयाँमा खरिद गरेका छन् । प्रतिकित्ता २२ रुपैयाँमा ६ करोड ४ लाख २२ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ । क्यापिटलको सेयर म्यानुअल किनबेच भएको थियाे ।क्यापिटलको साधारण सेयर पनि प्रतिकित्ता २२ रुपैयाँमा बिक्री भएको छ । आइतबार फाइनान्सको ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बन्द रहेकाे क्यापिटल मर्चेन्टमा लगानी गरेको उद्यमी पाण्डेले बताए । उनले कम्पनीको मूल्याँकन सकेर ६ महिनाभित्र समस्याग्रस्त मुत्त बनाउने याेजना रहेकाे जानकारी दिए । कुल ९६ लाख कित्ता सेयर रहेकोमा पाण्डे समूहले ६० लाख कित्ता स्वामित्व किनेको छ । ७० प्रतिशत स्वामित्व नयाँ लगानीकर्ताको हुने छ । बाँकी ३० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । कर्जाको दुरुपयोग भएपछि संस्था वित्तीय अवस्थामा धरासायी भएपछि राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ छ । क्यापिटलसंग ८३ करोड ४० लाख रुपैयाँ निक्षेप छ ।
घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको हो । प्रस्तावित अपर घारखोला जलविद्युत् आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमा प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै शिखका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलन घोषणा गरेका छन् । आयोजनाले विगतमा पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले बाध्य भएर अवरोधमा उत्रनुपरेको सङ्घर्ष समितिका संयोजकसमेत रहका शिखका वडाध्यक्ष दिनेश पुनले बताउनुभयो । विसं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण शुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमाक्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ । घारको बिरौटादेखि बाँधस्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवासस्थलका लागि पूर्वाधार तयार गरेको छ । तीन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युत्गृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ । रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कूल लागत अनुमान गरिएको आयोजनाको क्षमता ८।३ मेगावाटबाट बढाएर १४ मेगावाट पु¥याएको छ । प्रभावित क्षेत्रका बासिन्दा र आयोजना प्रर्वद्धकबीच छलफल गरी निर्माणमा भएको अवरोध हटाएर काम अघि बढाउन पहल जारी राखिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। –––
मञ्जुश्री फाइनान्सको ९ प्रतिशत लाभांशको प्रस्ताव
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ७ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुने फाइनान्सले जनाएको छ ।